Revelation of John 8
1जब थुमाले सातौँ मोहोर खोल्नुभयो, स्वर्गमा लगभग आधा घण्टा जति सन्नाटा छायो । 2त्यसपछि मैले परमेश्वरको अगाडि उभिरहेका सात जना स्वर्गदूतलाई देखेँ, र तिनीहरूलाई सातवटा तुरही दिइयो । 3अर्को स्वर्गदूत आए र सुनको धुपौरो लिएर वेदीको छेउमा उभिए । सिंहासन अगाडि सबै विश्वासीका प्रार्थनासँग चढाउनका लागि ती स्वर्गदूतलाई धेरै धूप दिइयो । 4विश्वासीहरूका प्रार्थनासँगै धूपको धुवाँ स्वर्गदूतको हातबाट परमेश्वरको अगाडि पुग्यो । 5स्वर्गदूतले धुपौरो लिए र वेदीबाट आगो भरे । तब तिनले त्यसलाई पृथ्वीमा फ्याँकिदिए, अनि चट्याङ, गडगडाहट, बिजुलीका चमकहरू उत्पन भए र भूकम्प गयो । 6तब सातवटा तुरही भएका सात स्वर्गदूतहरू ती फुक्नलाई तयार भए । 7पहिलो स्वर्गदूतले आफ्नो तुरही फुके र त्यहाँ असिना र रगत मिसिएको आगो आयो । यसलाई तल पृथ्वीमा फालियो । यसले पृथ्वीको तिन भागको एक-तिहाइ भागलाई डढायो; तिन भागको एक-तिहाइ रुखहरूलाई डढायो र सबै हरिया घाँसलाई पनि डढायो । [टिपोटः केही पुराना संस्करणहरूमा यसलाई छोडिएको छ] । त्यसैले, यसको तिन भागको एक-तिहाइ डढेको थियो । 8दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, अनि आगोले जलिरहेको एउटा ठुलो पहाडजस्तो केही समुद्रमा फालियो । समुद्रको एक-तिहाइ भाग रगत बन्यो । 9त्यसपछि समुद्रमा भएका जीवित प्राणीहरूमध्ये एक-तिहाइ भाग मरे, र जहाजहरूका एक-तिहाइ भाग नष्ट भए । 10तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, अनि आकाशबाट बलिरहेको राँकोजस्तो एउटा ठुलो तारा नदीहरूका एक-तिहाइ भाग र पानीको मुहानमा खस्यो । 11त्यो ताराको नाउँ “ऐरेलु” हो । एक-तिहाइ भागको पानी तितो भयो, र त्यो तितो भएको पानीबाट धेरै मानिस मरे । 12चौथो स्वर्गदूतले आफ्नो तुरही फुके, त्यसैले, सूर्यको एक-तिहाइ भाग साथसाथै चन्द्रमाको एक-तिहाइ र ताराहरूको एक-तिहाइ भागमा प्रहार गरियो । एक-तिहाइ भाग अन्धकारमा परिणत भयो, अनि दिनको एक-तिहाइ र रातको एक-तिहाइ भागमा ज्योति भएन । अनि मैले हेरेँ, र आकाशको बिचमा उडिरहेको एउटा गरुड ठुलो सोरमा यसो भन्दै कराइरहेको सुनेँ, “बाँकी रहेका तिन स्वर्गदूतले फुक्नै आँटेका तुरहीको आवाजको कारण पृथ्वीमा बस्ने मानिसहरूलाई धिक्कार, धिक्कार, धिक्कार ।” 13
Copyright information for
NepULB