1 Samuel 1
शमूएलको जन्म
1एफ्राइमको पहाडी मुलुक रामातैमका एक जना सूपी ▼ मानिस थिए; जसको नाम एल्काना थियो। तिनी यरोहामका छोरा, एलीहूका नाति, तोहूका पनाति र एफ्राएमी सूपका खनाति थिए। 2तिनका दुई पत्नीहरू थिए; एउटीलाई हन्ना र अर्कीलाई पनिन्नाह भनिन्थ्यो। पनिन्नाहका छोराछोरीहरू थिए, तर हन्नाचाहिँ निःसन्तान थिइन्। 3एल्काना वर्षैपिच्छे आफ्नो सहरबाट सेनाहरूका याहवेहकहाँ आराधना गर्न र बलिदान चढाउन शीलोमा उक्लेर जान्थे। त्यहाँ एलीका दुई छोराहरू होप्नी र पीनहास याहवेहका पुजारीहरू थिए। 4जब एल्कानाको बलिदान चढाउने दिन आउँथ्यो, तब तिनले आफ्नी पत्नी पनिन्नाह र तिनका सबै छोराहरू र छोरीहरूलाई मासुको भाग दिन्थे। 5तर हन्नालाई चाहिँ तिनले दोबर भाग दिन्थे; किनकि तिनले उनलाई धेरै माया गर्थे। तर याहवेहले हन्नाको कोख बन्द गरिदिनुभएको थियो। 6अनि याहवेहले तिनको कोख बन्द गरिदिनुभएको कारण तिनकी सौताले तिनलाई रिस उठाउन उक्साइरहन्थिन्। 7हरेक वर्ष यस्तो व्यवहार भइरहन्थ्यो। हन्ना जहिले पनि याहवेहको भवनमा जाँदा तिनकी सौताले तिनलाई रुवाएर खाना नखाने अवस्थासम्म पुर्याउँथिन्। 8तिनका पति एल्कानाले तिनलाई यसो भन्थे, “हन्ना तिमी किन रोइरहन्छौ? तिमी किन खाँदिनौ? तिमी किन उदास हुन्छ्यौ? के म तिम्रा निम्ति दश छोराहरूभन्दा पनि बढी छैनँ र?” 9एक दिन तिनीहरूले शीलोमा खानपिन गरिसकेपछि हन्ना उठिन्। अनि पुजारी एलीचाहिँ याहवेहको मन्दिरको ढोकाको छेउमा आफ्नो आसनमाथि बसिरहेका थिए। 10हन्ना मनमा गहिरो पीडासहित व्याकुल भएर रुँदै याहवेहलाई प्रार्थना गर्दैथिइन्। 11अनि तिनले यसो भन्दै भाकल गरिन्, “हे सेनाहरूका याहवेह, यदि तपाईंले आफ्नी सेविकाको वेदना देखेर मलाई सम्झनुभयो; र तपाईंकी सेविकालाई नबिर्सी एउटा छोरा दिनुभयो भने म त्यसलाई त्यसको जीवनभरि याहवेहकहाँ अर्पण गर्नेछु, र त्यसको शिरमा कहिल्यै छुरा लाग्नेछैन।” 12तिनले याहवेहसँग प्रार्थना गरिरहेको बेला एलीले तिनको ओठ चलिरहेका देखे। 13हन्नाले आफ्नो मनमा प्रार्थना गरिरहेकी थिइन्; अनि तिनका ओठहरूचाहिँ चलिरहेका थिए। तर तिनको आवाज भने सुनिँदैनथ्यो। यसकारण एलीले तिनलाई मातेकी हो भनी ठाने। 14अनि तिनलाई भने, “तिमी कतिबेर सम्म मातिरहन्छ्यौ? मद्यपानबाट होशमा आऊ।” 15तब हन्नाले जवाफ दिइन्, “त्यसो होइन, मेरा मालिक। म अति गहिरो पीडामा परेकी स्त्री हुँ। मैले मद्य अथवा कुनै पनि मात लाग्ने कुरा पिएकी छैनँ। म त याहवेहको सामु आफ्नो हृदयको व्यथा पोखाइरहेकी छु। 16तपाईंकी सेविकालाई एउटी खराब स्त्री नठान्नुहोस्। मेरो गहिरो पीडा र सन्तापको कारण म प्रार्थना गरिरहेकी छु।” 17तब एलीले तिनलाई जवाफ दिए, “शान्तिसित जाऊ, र इस्राएलका परमेश्वरले तिमीले उहाँसित मागेको कुरा तिमीलाई देऊन्।” 18तिनले भनिन्, “तपाईंकी सेविकाले तपाईंको दृष्टिमा निगाह पाओस्।” त्यसपछि तिनी आफ्नो बाटो लागिन्, र केही खानेकुरा खाइन्। अनि तिनी फेरि उदास भइनन्। 19भोलिपल्ट बिहानै तिनीहरू उठे, र तिनीहरूले याहवेहको सामु आराधना गरे। अनि आफ्नो घर रामामा गए। एल्कानाले आफ्नी पत्नी हन्नासित सहबास गरे। अनि याहवेहले तिनलाई सम्झनुभयो। 20यसरी हन्ना गर्भवती भईन्, र समय पुगेपछि उनले एउटा छोरा जन्माइन्। तिनले छोराको नाम शमूएल ▼▼शमूएल अथवा याहवेहले सुन्नुभएको
राखिन् र भनिन्, “किनकि मैले यसलाई याहवेहसँग मागेकी हुँ।” हन्नाले शमूएललाई अर्पण गरेकी
21वार्षिक बलिदान चढाउन र आफूले गरेको भाकल पूरा गर्नलाई एल्काना आफ्ना सबै परिवारसँग माथि गए, 22तर हन्नाचाहिँ गइनन्। तिनले आफ्नो पतिलाई भनिन्, “बालकले दूध खान छाडेपछि म त्यसलाई याहवेहको सामु लैजानेछु, र त्यो सधैँभरि ▼▼सधैँभरि केही प्राचीन पा.लि.हरूमा उनको जीवनभरिको लागि नाजिरी हुने भनिएको छ।
त्यहीँ रहनेछ।” 23तिनको पति एल्कानाले भने, “तिमीलाई जस्तो असल लाग्छ त्यही गर। तिमीले उसलाई दूध नछुटाएसम्म यहीँ बस। केवल याहवेहले आफ्नो वचन पूरा गरून्।” यसकारण हन्नाले आफ्नो बालकलाई दूध नछुटाएसम्म घरमै बसेर त्यसलाई स्याहारिन्। 24बालकले दूध छोडेपछि तिनले आफ्नो बालक र त्यसको साथसाथै एउटा तीन बर्से साँढे ▼▼केही प्राचीन पा.लि.हरूमा तीन वटा साँढेहरू
अनि एक एपा ▼▼लगभग 16 किलो
पिठो र एक मसक दाखमद्य साथमा लिएर याहवेहको भवन शीलोमा ल्याइन्। 25तिनीहरूले साँढेलाई बलि चढाए, र बालकलाई एलीकहाँ ल्याए। 26तब हन्नाले एलीलाई भनिन्, “मेरा मालिक, तपाईं जीवित हुनुभएझैँ, म त्यही स्त्री हुँ, जो याहवेहकहाँ प्रार्थना गर्दै तपाईंको छेउमा उभिएकी थिएँ। 27मैले यही बालकका निम्ति प्रार्थना गरेकी थिएँ। अनि याहवेहले मैले उहाँसित मागेको कुरा मलाई दिनुभयो। 28यसकारण अब म यस बालकलाई याहवेहका निम्ति अर्पण गर्दैछु। किनकि यसको जीवनकालभरि यसलाई याहवेहको निम्ति अर्पण गरिएको हुनेछ।” अनि त्यहाँ तिनीहरूले याहवेहको आराधना गरे।
Copyright information for
NpiNCV