‏ 2 Chronicles 13

यहूदाका राजा अबीयाह

1यारोबामको शासनकालको अठारौँ वर्षमा अबीयाह यहूदाका राजा भए। 2तिनले यरूशलेममा तीन वर्ष राज्य गरे। तिनकी आमाको नाम माका थियो, जो गेबाको ऊरीएलकी छोरी थिइन्।

अबीयाहह र यारोबामको बीचमा लडाइँ भयो।
3अबीयाह चार लाख योग्य योद्धाहरूको दल लिएर लडाइँमा उत्रे। यारोबामले पनि तिनको विरुद्धमा आठ लाख योग्य सैनिकहरू चुने।

4अबीयाहले एफ्राइमको पहाडी मुलुकमा भएको समारैम डाँडामा उभिएर भने, “हे यारोबाम र सारा इस्राएल हो, मेरो कुरा सुन! 5याहवेह इस्राएलका परमेश्‍वरले इस्राएल राज्य नुनको करारद्वारा दावीदलाई र तिनका सन्तानलाई सदासर्वदाका निम्ति दिनुभएको छ भनी के तिमीहरूले थाहा पाउनुपर्ने होइन र? 6तरै पनि दावीदका छोरा सोलोमनका अधिकृत नबातका छोरा यारोबामले आफ्ना मालिकको विरुद्धमा विद्रोह गरे। 7केही बेकम्मा बदमासहरू तिनको पछि लागेर सोलोमनका छोरा रहबामलाई विरोध गरे। त्यस समय रहबाम उमेरमा कलिलो र निर्णय लिन नसक्ने भएकोले तिनीहरूको प्रतिकार गर्न सक्दैनथिए।

8“अब तिमीहरू दावीदका सन्तानको हातमा रहेको याहवेहको राज्यको विरुद्ध खडा हुने योजना गर्दछौ। अब तिमीहरूसित एउटा विशाल फौज र तिमीहरूका निम्ति देवताहरू हुनलाई यारोबामले बनाएका सुनका बाछाहरू छन्। 9तर के तिमीहरूले याहवेहका पुजारीहरू, हारूनका छोराहरू र लेवीहरूलाई निकालेर अरू देशका मानिसहरूले गरेझैँ आफ्नै पुजारीहरू बनाएका छैनौ र? एउटा बाछा र सात वटा भेडा लिएर आफूलाई पवित्र तुल्याउन आउने जोसुकै पनि त्यसको पुजारी भइहाल्छ, जो ईश्‍वर हुँदै होइन।

10“हाम्रो विषयमा चाहिँ याहवेह नै हाम्रा परमेश्‍वर हुनुहुन्छ र हामीले उहाँलाई त्यागेका छैनौँ। याहवेहको सेवा गर्ने पुजारीहरू हारूनका छोराहरू हुन्, र लेवीहरूले तिनीहरूलाई सघाउँछन्। 11हरेक बिहान र साँझ तिनीहरूले याहवेहकहाँ होमबलि र सुगन्धित धूप चढाउँछन्। तिनीहरूले विधिपूर्वक शुद्ध गरिएको टेबुलमा रोटी मिलाएर राख्छन्, र हरेक साँझ सुनको सामदानमा बत्ती बाल्छन्। यसरी हामी साँच्‍चै याहवेहका नियमहरू पालन गर्छौँ। तर तिमीहरूले उहाँलाई त्यागेका छौ। 12परमेश्‍वर हामीसित हुनुहुन्छ; उहाँ नै हाम्रा अगुवा हुनुहुन्छ। उहाँका पुजारीहरूले आफ्ना तुरहीहरूले तिमीहरूको विरुद्धमा युद्ध-ध्वनि निकाल्नेछन्। हे इस्राएलका मानिसहरू हो, याहवेह तिमीहरूका पुर्खाहरूका परमेश्‍वरको विरुद्धमा लडाइँ नगर; किनकि तिमीहरू सफल हुनेछेनौँ।”

13त्यही बेला यारोबामले आफ्ना केही दललाई सुटुक्‍क पठाएका थिए, र तिनी यहूदाको सामु हुँदा ढुक्नेहरूचाहिँ तिनीहरूका पछि थिए। 14यहूदाका मानिसहरूले फर्केर हेर्दा आफूलाई अगि र पछिबाट आक्रमण गरिरहेका देखे। तब तिनीहरूले याहवेहको पुकार गरे। पुजारीले आफ्ना तुरहीहरू फुके। 15यहूदाका मानिसहरूले युद्ध घोषणाका आवाज निकाले। अनि यो आवाज गुञ्जिएपछि परमेश्‍वरले यारोबाम र सम्पूर्ण इस्राएललाई अबीयाह र यहूदाको सामु परास्त गर्नुभयो। 16इस्राएलीहरू यहूदाको सामुबाट भागे, तब परमेश्‍वरले तिनीहरूलाई उनीहरूका हातमा सुम्पिदिनुभयो। 17अबीयाह र उनका मानिसहरूले तिनीहरूलाई धेरै नोक्सानी पुर्‍याए, र इस्राएलका पाँच लाख योग्य मानिसहरू मारिए। 18इस्राएलका मानिसहरू त्यस दिन पराजित भए, र यहूदाका मानिसहरू विजयी भए; किनकि तिनीहरूले याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरमाथि भरोसा राखे।

19अबीयाहले यारोबामलाई खेदे; अनि तिनीबाट बेथेल, येशना र एप्रोनका सहरहरू तिनीहरूका चारैतिरका गाउँहरूसमेत लिए। 20अबीयाहको शासनकालभरि यारोबामले आफ्नो शक्ति प्राप्‍त गरेनन्। याहवेहले तिनीमाथि प्रहार गर्नुभयो र तिनी मरे।

21तर अबीयाह सामर्थी हुँदैगए। तिनले चौध पत्नीहरू विवाह गरे। तिनी बाइस छोरा र सोह्र छोरीहरूका पिता भए।

22अबीयाहहको शासनकालका अरू घटनाहरू, तिनले गरेका र भनेका ती कुराहरू अगमवक्ता इद्दोका वृतान्तहरूमा लेखिएका छन्।

Copyright information for NpiNCV