2 Chronicles 16
आसाका अन्तिम वर्षहरू
1आसाको शासनकालको छत्तीसौँ वर्षमा इस्राएलका राजा बाशा यहूदाको विरुद्धमा उठे। तिनले कसैलाई पनि यहूदाका राजा आसाको प्रान्तबाट बाहिर जान र भित्र पस्न नदिनलाई रामाको चारैतिर पर्खाल बनाए। 2तब आसाले याहवेहको मन्दिरका भण्डारहरूमा भएका र तिनका आफ्नै महलमा भएका चाँदी र सुन निकालेर दमस्कसमा अरामका राजा बेन-हददकहाँ पठाए। 3तिनले भने, “मेरा पिता र तपाईंका पिताको बीचमा झैँ, म र तपाईंको बीचमा पनि एउटा सन्धि होस्। हेर्नुहोस्, मैले तपाईंकहाँ चाँदी र सुन पठाइरहेको छु। अब तपाईं र इस्राएलका राजा बाशाको बीचको सन्धि तोड्नुहोस्; ताकि तिनी मदेखि हटेर जाऊन्।” 4तब बेन-हददले आसा राजासित सहमत भएर आफ्ना दलहरूका सेनापतिहरूलाई इस्राएलका सहरहरूको विरुद्धमा पठाए। तिनीहरूले इयोन, दान, हाबिल-मैम र नप्तालीका सबै भण्डार सहरहरू जिते। 5यो सुनेर बाशाले रामालाई निर्माण गर्न छोडिदिए, र आफ्नो काम बन्द गरिदिए। 6राजा आसाले यहूदाका सबै मानिसहरू ल्याए; अनि तिनीहरूले रामाबाट बाशाले प्रयोग गरिरहेका ढुङ्गा र काठहरू बोकेर लगे। ती थोकहरूबाट तिनले गेबा र मिस्पा निर्माण गरे। 7त्यस बेला दर्शी हनानी यहूदाका राजा आसाकहाँ आए, र तिनले उनलाई भने: “तपाईंले याहवेह, तपाईंका परमेश्वरमाथि होइन; तर अरामका राजामाथि भरोसा गर्नुभएको कारण आरामका राजाका सेना तपाईंको हातबाट उम्क्यो। 8के कूशी ▼▼अर्थात्, नील नदीको माथिल्लो क्षेत्रको भू-भाग
र लिबियालीहरू धेरै संख्यामा रथहरू र घोडचढीहरू भएका शक्तिशाली फौज थिएनन् र? तरै पनि तपाईंले याहवेहमाथि भरोसा राख्नुभएको हुनाले उहाँले तिनीहरूलाई तपाईंका हातमा सुम्पिदिनुभयो। 9किनकि जसको हृदय उहाँप्रति पूर्ण रूपमा समर्पित छ, तिनीहरूलाई बलियो पार्नको लागि याहवेहको दृष्टि पृथ्वीभरि रहिरहेको हुन्छ। तपाईंले मूर्ख काम गर्नुभयो; यसैले अब उसो तपाईंले युद्ध गरिरहनुपर्नेछ।” 10यसकारण आसा दर्शीसित यतिसम्म रिसाए, कि तिनले उनलाई झ्यालखानामा हालिदिए। त्यस बेला तिनले केही मानिसहरूमाथि धेरै अत्याचार पनि गरे। 11आसाको शासनकालका सुरुदेखि अन्तिमसम्मका घटनाहरू यहूदा र इस्राएलका राजाहरूका पुस्तकहरूमा लेखिएका छन्। 12तिनको शासनको उनन्चालीसौँ वर्षमा आसाको खुट्टामा एउटा रोगले आक्रमण गर्यो। तिनको रोग गम्भीर भए तापनि आफ्नो बिरामी अवस्थामा तिनले याहवेहबाट सहायता नमागेर वैद्यहरू मात्र खोजे। 13तब आफ्नो शासनकालको एकचालीसौँ वर्षमा आसा मरे, र आफ्ना पुर्खाहरूसित सुते। 14मानिसहरूले तिनलाई चिहानमा गाडे, जो तिनले दावीदको सहरमा आफ्नो निम्ति बनाएका थिए। तिनीहरूले सबै किसिमका मसला र मिसाएका सुगन्धित मसलामाथि तिनलाई राखे; अनि तिनीहरूले तिनको सम्मानमा मृत्युको शोक प्रकट गर्दै एउटा ठूलो आगो बाले।
Copyright information for
NpiNCV