‏ 2 Chronicles 27

यहूदाका राजा योताम

1योताम राजा हुँदा पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। तिनकी आमाको नाम यरूशा थियो, जो सादोककी छोरी थिइन्। 2तिनले आफ्ना पिता उज्जियाहले गरेझैँ याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे; तर तिनी याहवेहको भवनभित्र पसेनन्। तरै पनि मानिसहरू आफ्ना दुष्‍ट चालमा लागिरहे। 3योतामले याहवेहको भवनको माथिल्‍लो मूलढोका मर्मत गरे, र ओपेलको डाँडामा भएको पर्खालमा धेरै कामहरू गरे। 4तिनले यहूदाका डाँडाहरूमा सहरहरू र जङ्गलहरू भएका ठाउँहरूमा किल्‍लाहरू र धरहराहरू बनाए।

5योतामले अम्मोनीहरूका राजासित युद्ध गरे र तिनलाई जिते। त्यस वर्ष अम्मोनीहरूले एक सय टालेन्ट
अर्थात्, लगभग 3.4 मेट्रिक टन
चाँदी, दश हजार कोर
अर्थात्, लगभग 1,600 मेट्रिक टन
गहुँ र दश हजार कोर
अर्थात्, लगभग 1,350 मेट्रिक टन
जौ तिरे। अम्मोनीहरूले तिनीकहाँ दोस्रो र तेस्रो वर्षमा पनि त्यही मात्रामा ल्याए।

6याहवेह आफ्ना परमेश्‍वरको सामु अटल भई हिँडेको हुनाले योताम सामर्थी भए।

7योतामको शासनकालका अरू घटनाहरू, तिनले लडेका युद्धहरू र गरेका अरू कामहरू, इस्राएल र यहूदाका राजाहरूको पुस्तकमा लेखिएका छन्। 8राजा हुँदा तिनी पच्‍चीस वर्षका थिए; तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। 9योताम आफ्ना पुर्खाहरूसित सुते, र दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा आहाज राजा भए।

Copyright information for NpiNCV