‏ 2 Chronicles 14

1अबीयाह आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे; र दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा आसा राजा भए। तिनको समयमा दश वर्षसम्म देश शान्त रह्‍यो।

यहूदाका राजा आसा

2आसाले याहवेह तिनका परमेश्‍वरको दृष्‍टिमा जे असल र ठिक थियो, त्यही गरे। 3तिनले विदेशी वेदीहरू र अग्ला देवस्थानहरू हटाइदिए; अनि चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिए, र अशेराका खम्बाहरू
अर्थात्, काठमा बनाइएका अशेरा देवीका आकृतिहरू।
काटेर ढालिदिए।
4तिनले यहूदालाई याहवेह तिनीहरूका पुर्खाका परमेश्‍वरलाई खोजी गर्ने, उहाँका व्यवस्था र आज्ञाहरू पालन गर्ने आज्ञा दिए। 5तिनले यहूदाको प्रत्येक सहरबाट अग्ला देवस्थानहरू र धूपका वेदीहरू हटाइदिए। तिनको अधीनमा राज्यमा शान्त भइरह्‍यो। 6देशमा शान्ति भएको कारण तिनले यहूदामा किल्‍ला भएका सहरहरू सुरक्षित पारे। ती दिनहरूमा कसैले पनि तिनीसित युद्ध गरेन; किनकि याहवेहले तिनलाई शत्रुहरूबाट विश्राम दिनुभयो।

7तिनले यहूदाका मानिसहरूलाई भने, “हामी यी सहरहरू निर्माण गरौँ। साथै यिनको चारैतिर पर्खालहरू लगाएर यिनमा धरहराहरू, मूलढोकाहरू र बारहरू बनाऔँ। यो देश अझ हाम्रै हो; किनकि हामीले याहवेह हाम्रा परमेश्‍वरलाई खोजेका छौँ। हामीले उहाँलाई खोज्यौँ र उहाँले हामीलाई चारैतिर विश्राम दिनुभएको छ।” यसकारण तिनीहरूले निर्माण गरे, र सफलता प्राप्‍त गरे।

8आसासित ठूला-ठूला ढालहरू र भालाहरूले सुसज्जित भएका यहूदाबाट तीन लाख मानिसहरू थिए। साना ढालहरू र धनुले सुसज्जित भएका बेन्यामीनबाट दुई लाख असी हजार मानिसहरू थिए। यी सबै साहसी लडाकु मानिसहरू थिए।

9कूशी जेरह तिनीहरूको विरुद्धमा एउटा विशाल फौज र तीन सय रथहरू लिएर निस्के, र मारेशासम्म आइपुगे। 10आसा तिनलाई भेट्न निस्के; अनि तिनीहरूले मारेशाको छेउमा सपताको बेँसीमा युद्धको मोर्चा बाँधे।

11तब आसाले याहवेह तिनका परमेश्‍वरलाई पुकारेर भने, “शक्तिशालीको विरुद्धमा दुर्बललाई सहायता दिनुहुने हे याहवेह, तपाईंझैँ अरू कोही छैन। हे याहवेह, हाम्रा परमेश्‍वर, हामीलाई सहायता गर्नुहोस्; किनकि हामी तपाईंमाथि नै भरोसा गर्छौँ। तपाईंकै नाममा हामी यस विशाल फौजको विरुद्धमा आएका छौँ। हे याहवेह, तपाईं हाम्रा परमेश्‍वर हुनुहुन्छ; मानिसहरूलाई तपाईंमाथि प्रबल हुन नदिनुहोस्।”

12याहवेहले कूशीहरूलाई आसा र यहूदाका सामु प्रहार गर्नुभयो र कूशीहरू भागे। 13आसा र तिनको फौजले तिनीहरूलाई गरारसम्म खेदे। कूशीहरू यति धेरै मारिए, कि युद्धको निम्ति तिनीहरू एउटै पनि जीवित रहेनन्। याहवेह र तिनका फौजहरूको सामु तिनीहरू चकनाचुर भए। यहूदाका मानिसहरूले ठूलो मात्रामा लुटका मालहरू लिएर गए। 14तिनीहरूले गरारका चारैतिरका सहरहरूलाई नाश गरे; किनकि याहवेहको आतङ्क तिनीहरूमाथि छाएको थियो। त्यहाँ धेरै मालसामानहरू भएकाले तिनीहरूले ती सबै गाउँहरू लुटे। 15तिनीहरूले गोठालाहरूमाथि पनि आक्रमण गरे; अनि भेडाहरू, बाख्राहरू र ऊँटहरूका बथानहरू लिएर गए। तब तिनीहरू यरूशलेममा फर्के।

Copyright information for NpiNCV