‏ 2 Kings 7

1एलीशाले भने, “याहवेहको वचन सुन्‍नुहोस्! याहवेह यसो भन्‍नुहुन्छ: भोलि यही बेला सामरियाको मूलढोकामा एक सिया
लगभग 5.5 किलो; 1618 पदमा पनि
मसिनो पिठो एक शेकेलमा
लगभग 12 ग्राम
र दुई सिया
लगभग 11 किलो
जौ एक शेकेलमा बिक्री हुनेछ।”

2जुन अधिकारीको पाखुरामा राजाले अडेस लिन्थे, तिनले परमेश्‍वरको जनलाई भने, “हेर्नुहोस्, यदि याहवेहले स्वर्गका झ्यालहरू नै खोलिदिनुभयो भने तापनि यो हुन सक्दैन।”

एलीशाले जवाफ दिए, “तिमीले त्यो आफ्नै आँखाले देख्नेछौ, तर त्यसबाट तिमीले केही पनि खान पाउनेछैनौ!”

घेराबन्दी हटाइएको

3सहरको मूलढोकामा चार जना कुष्‍ठरोग लागेका मानिसहरू थिए। तिनीहरूले आपसमा भने, “हामी किन यहाँ मृत्युको पर्खाइमा बस्‍ने? 4यदि हामीले ‘हामी सहरभित्र जाऔँ’ भन्यौँ भने त्यहाँ अनिकाल लागेको छ र हामी मर्नेछौँ। अनि हामी यहीँ बसिरह्‍यौँ भने तापनि हामी मर्नेछौँ। यसकारण अब हामी अरामीहरूको छाउनीमा गएर आत्मसमर्पण गरौँ। यदि तिनीहरूले हामीलाई जीवित छोडिदिए भने हामी बाँचौँला। यदि तिनीहरूले हामीलाई मारे भने जसरी पनि हामीले मर्नु नै छ।”

5तब तिनीहरू साँझमा उठेर अरामीहरूका छाउनीमा गए। तिनीहरू छाउनीको छेउमा पुग्दा, त्यहाँ एउटै मानिस पनि थिएन। 6किनकि प्रभुले अरामीहरूलाई रथहरू, घोडाहरू र ठूलो फौजको आवाज सुन्‍न लगाउनुभएको थियो। त्यसैले तिनीहरूले आपसमा भने, “हेर, हामीलाई आक्रमण गर्न भनी इस्राएलका राजाले हित्तीहरू र इजिप्टका राजाहरूलाई भाडामा लिएका छन्!” 7यसकारण तिनीहरू साँझमा आफ्ना पालहरू, घोडाहरू र गधाहरू छोडेर भागे। तिनीहरूले छाउनीलाई जस्ताको त्यस्तै छोडेर ज्यान बचाउन भागे।

8कुष्‍ठरोग लागेका ती मानिसहरू छाउनीका किनारमा पुगे, र तिनीहरू एउटा पालभित्र पसे। तिनीहरूले खानपिन गरे। अनि चाँदी, सुन र लुगाहरू लिएर गए; र ती सामानहरू लुकाए। तिनीहरू फर्केर अर्को पालभित्र पसे, र त्यहाँबाट पनि केही सामानहरू लिए; तब तिनीहरूले ती चीजहरू लुकाए।

9तब तिनीहरूले एक-अर्कालाई भने, “हामीले यो ठिक काम गरिरहेका छैनौँ। आजको दिन शुभ समाचारको दिन हो। तर हामी यत्तिकै चुप लागिरहेका छौँ। यदि हामीले उज्यालो होउन्जेल पर्खिरह्‍यौँ भने हामीमाथि दण्ड आइपर्नेछ। यसकारण हामी झट्टै जाऔँ, र यस समाचारलाई राजमहलमा बताइदिऔँ।”

10यसकारण तिनीहरू गए, र सहरका पहरेदारहरूलाई बोलाएर भने, “हामी अरामीहरूका छाउनीमा गयौँ र त्यहाँ कोही पनि थिएन। अनि कसैको आवाज पनि सुनिएन। तर बाँधिएका घोडाहरू, गधाहरू र त्यागिएका पालहरू मात्र थिए।” 11पहरेदारहरूले कराएर यो खबर सुनाइदिए, र त्यो खबर राजमहलमा पुग्यो।

12राजा राति नै उठे, र आफ्ना अधिकारीहरूलाई भने, “अरामीहरूले हामीसित के गरेका छन्, म तिमीहरूलाई बताउनेछु। हामी भोकै छौँ भनी तिनीहरूलाई थाहा छ। यसकारण, ‘तिनीहरू निश्‍चय नै बाहिर आउनेछन्। अनि हामी तिनीहरूलाई जिउँदै पक्रेर सहरभित्र पस्‍नेछौँ’ भन्ठानेर तिनीहरू छाउनी त्यागेर गाउँमा लुकिरहेका छन्।”

13एक जना अधिकारीले भने, “केही मानिसहरूले सहरमा बाँकी रहेका पाँच वटा घोडाहरू लिएर जाऊन्। जसरी नि तिनीहरूको दशा यहाँ बाँकी रहेका सबै इस्राएलीहरूको जस्तै हुने नै छ—हो, तिनीहरू विनाशमा परेका इस्राएलीहरूजस्तै हुनेछन्। यसकारण के भएको रहेछ भनी पत्ता लगाउनलाई तिनीहरूलाई पठाऔँ।”

14यसकारण तिनीहरूले घोडाहरूसहित दुई वटा रथहरू छाने। अनि राजाले तिनीहरूलाई अरामी फौजको पछि-पछि पठाइदिए। तिनले सारथीहरूलाई यस्तो आज्ञा दिए, “जाओ, के भएको रहेछ, सो पत्ता लगाओ।” 15उनीहरू यर्दनसम्मै तिनीहरूलाई पछ्याए। अनि तिनीहरूले बाटोभरि अरामीहरूले हतारमा भाग्दा फ्याँकेका लुगाफाटा र सामग्रीहरू भेट्टाए। यसकारण ती दूतहरूले फर्केर गई राजालाई खबर दिए। 16तब मानिसहरू गएर अरामीहरूका छाउनी लुटे। यसरी याहवेहले भन्‍नुभएझैँ एक सिया पिठो एक शेकेलमा र दुई सिया जौ एक शेकेलमा बिक्री भयो।

17राजाले आफू जुन अधिकारीको पाखुरामा अडेस लाग्थे, तिनलाई त्यस मूलढोकाको निगरानीमा खटाए। अनि मूलढोकामा भागदौड हुँदा मानिसहरूले तिनलाई कुल्चीमिल्ची पारेर मारे। अनि राजा तिनको घरमा जाँदा परमेश्‍वरका जन एलिशाले पहिलेबाटै भनेझैँ तिनको मृत्यु भएको थियो। 18परमेश्‍वरका जनले राजालाई भनेझैँ, “भोलि यही बेला सामरियाको मूलढोकामा एक शेकेलमा एक सिया पिठो र दुई सिया जौ एक शेकेलमा बिक्री हुनेछ,” त्यो पूरा भयो।

19त्यस अधिकारीले परमेश्‍वरको जनलाई यसो भनेका थिए, “हेर्नुहोस्, याहवेहले स्वर्गका झ्यालहरू खोलिदिनु भए तापनि के यो हुन सक्छ र?” परमेश्‍वरका जनले जवाफ दिएका थिए, “तिमीले त्यो आफ्नै आँखाले देख्नुहुनेछ; तर तिमीले त्यसबाट केही खान पाउनुहुनेछैन!” 20तिनीमाथि ठिक त्यही कुरा हुनगयो। किनकि मानिसहरूले तिनलाई मूलढोकामा कुल्चिए, र तिनको मृत्यु भयो।

Copyright information for NpiNCV