‏ 2 Thessalonians 1

1पावल, सिलास
सिलास मूल भाषामा सिलभानस भनिन्छ।
र तिमोथीबाट,

हाम्रा परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टमा थेसलोनिकीहरूको मण्डलीलाई:

2परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति!

धन्यवाद ज्ञापन र प्रार्थना

3हे दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूको विश्‍वास लगातार बढ्दै गएको र तिमीहरूको एक-आपसको प्रेम बढ्दै गएको कारण तिमीहरूका लागि हामीले परमेश्‍वरलाई सधैँ धन्यवाद दिनैपर्छ। 4यसकारण तिमीहरूका सबै सतावट र तिमीहरूले सहिरहेका परीक्षाहरूका बीचमा तिमीहरूका धैर्य धारण र विश्‍वासको निम्ति परमेश्‍वरका मण्डलीहरूका माझमा हामी गर्व गर्दछौँ।

5यो सबै परमेश्‍वरको साँचो न्यायको प्रमाण हो जसको परिणाम स्वरूप तिमीहरू परमेश्‍वरको राज्यको योग्य ठहराइनेछौ, जसको निम्ति तिमीहरूले कष्‍ट भोगिरहेका छौ। 6परमेश्‍वर न्यायी हुनुहुन्छ। तिमीहरूलाई दुःख दिनेहरूलाई उहाँले दुःख दिनुहुन्छ। 7अनि तिमी दुःख पाइरहेकाहरूलाई र हामीलाई पनि त्यसबाट छुटकारा दिनुहुनेछ। योचाहिँ तब हुनेछ, जब प्रभु येशू आफ्ना शक्तिशाली स्वर्गदूतहरूसित दन्किरहेको आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ। 8उहाँले परमेश्‍वरलाई नचिन्‍नेहरू र हाम्रा प्रभु येशूको सुसमाचार नमान्‍नेहरूलाई सजाय दिनुहुनेछ। 9तिनीहरूले अनन्तको विनाश सजाय पाउनेछन्; अनि तिनीहरू प्रभुको उपस्थिति र उहाँको शक्तिको महिमाबाट अलग गरिनेछन्। 10यो त्यस दिन हुनेछ, जब उहाँ आफ्ना पवित्र जनहरूका बीचमा महिमित हुन र उहाँमाथि विश्‍वास गरेका सबैलाई चकित पार्न आउनुहुनेछ। यसमा तिमीहरू पनि सामेल छौ; किनकि तिमीहरूले हाम्रा गवाहीलाई विश्‍वास गर्‍यो।

11यसलाई मनमा राखेर हामी निरन्तर तिमीहरूको लागि प्रार्थना गर्दर्छौँ, कि हाम्रा परमेश्‍वरले तिमीहरूलाई उहाँको बोलावटको योग्य बनाऊन्; अनि आफ्नो शक्तिद्वारा तिमीहरूका असल कामको हरेक चाहनालाई र विश्‍वासद्वारा गरिएका हरेक कामलाई पूरा गरून्। 12हामी प्रार्थना गर्दर्छौँ, ताकि हाम्रा परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रहअनुसार तिमीहरूमा हाम्रा प्रभु येशूको नाम महिमित होस्, र उहाँमा तिमीहरूको महिमा होस्।

Copyright information for NpiNCV