‏ Deuteronomy 29

करारको नवीकरण

1याहवेहले इस्राएलीहरूसँग होरेबमा बाँध्नुभएको करारबाहेक उहाँले मोआबमा मोशालाई इस्राएलीहरूसँग बाँध्नुभएको करारका शर्तहरू यिनै हुन्।

2मोशाले सारा इस्राएलीहरूलाई भेला गराएर तिनीहरूलाई भने:

याहवेहले इजिप्टमा फारो र तिनका भारदारहरूसँग, र तिनका सारा देशसँग गर्नुभएका सबै कुरा तिमीहरूका आँखाले देखेका छन्।
3तिमीहरूले आफ्नै आँखाले ती डरलाग्दा सङ्कष्‍टहरू, अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू देखेका छौ। 4तर आजको दिनसम्म याहवेहले तिमीहरूलाई बुझ्ने मन, देख्ने आँखा र सुन्‍ने कान दिनुभएको छैन। 5याहवेहले भन्‍नुहुन्छ, “मैले तिमीहरूलाई उजाडस्थानमा चालीस वर्षसम्म डोर्‍याएको समयमा तिमीहरूले लगाएका लुगा र तिमीहरूका जुत्ता फाटेनन्। 6तिमीहरूले रोटी खाएनौ र मद्य पिएनौ, वा अरू मादक पदार्थ पिएनौ। तिमीहरूले म नै याहवेह तिमीहरूका परमेश्‍वर हुँ भनी बुझ्न सक भनेर नै मैले यसो गरेँ।”

7जब तिमीहरू यस ठाउँमा आइपुग्यौ, तब हेश्बोनका राजा सीहोन र बाशानका राजा ओग हामीसँग लडाइँ गर्न आए; तर हामीले तिनीहरूलाई परास्त गर्‍यौँ। 8हामीले तिनीहरूको देशलाई कब्जा गर्‍यौँ, र त्यस देशलाई उत्तराधिकारको रूपमा रूबेनीहरू, गादीहरू अनि मनश्शेको आधा कुललाई दियौँ।

9यस करारका शर्तहरूलाई होसियारीसाथ पालन गर, र तिमीहरूले गरेका हरेक काममा सफल हुनेछौ। 10आज तिमीहरू सबै, अर्थात् तिमीहरूका अधिकृतहरू र मुख्य व्यक्तिहरू, तिमीहरूका धर्मगुरुहरू र प्रधानहरू सबै याहवेह तिमीहरूका परमेश्‍वरको अगि खडा छौ। 11अनि तिमीहरूका छोराछोरीहरू र तिमीहरूका पत्नीहरू, र तिमीहरूका निम्ति दाउरा काट्ने र पानी बोक्ने तिमीहरूका छाउनीमा बस्‍ने विदेशीहरू पनि साथमा छन्। 12तिमीहरू यहाँ याहवेह आफ्ना परमेश्‍वरसँग त्यो करारमा प्रवेश गर्नलाई खडा छौ, जुन आज उहाँले शपथद्वारा छाप लगाउँदै तिमीहरूसँग बाँध्दैहुनुहुन्छ। 13उहाँले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ, र तिमीहरूका पितापुर्खाहरू अब्राहाम, इसहाक र याकोबसँग शपथ खानुभएझैँ, तिमीहरू उहाँका मानिसहरू र उहाँ तिमीहरूका परमेश्‍वर हुनुहुन्छ भनी पक्‍का हुन सकोस्। 14मैले शपथ खाएर यो करार तिमीहरूसँग मात्र बाँधिरहेको छैनँ; 15जो आज यहाँ याहवेह आफ्ना परमेश्‍वरको उपस्थितिमा उभिरहेका छौ, तर आज यहाँ उपस्थिति नहुनेहरूसँग पनि बाँधिरहेको छु।

16हामी इजिप्टमा कसरी बस्यौँ, र यहाँ आइपुग्नको लागि हामीले कसरी देशहरू पार गर्‍यौँ भनी तिमीहरू आफैँले जान्दछौ। 17तिनीहरूका बीचमा तिमीहरूले तिनीहरूका घृणित थोकहरू, काठ, ढुङ्गा, चाँदी र सुनका मूर्तिहरू देख्यौ। 18याहवेह हाम्रा परमेश्‍वरबाट तर्किगएर ती जातिहरूका देवी-देवताहरू पूजा गर्ने हृदय भएको कुनै पनि पुरुष अथवा स्त्रीका कुल वा वंश तिमीहरूको बीचमा छैन भन्‍ने कुरा पक्‍का गर। तिमीहरूको बीचमा तितो विष उमार्ने कुनै पनि जरा नहोस् भनी निश्‍चित गर।

19जब यस्ता व्यक्तिले यस शपथका शब्दहरू सुन्छन्; अनि तिनीहरू आफैँले आशिष् पाउन चाहन्छन् र सोच्दछन्, “म आफ्नै तरिकाले चलिरहे तापनि म सुरक्षित नै रहनेछु,” यसले गर्दा तिनीहरूले भिजेको जमिन अथवा ओबानो जमिनमा विपत्ति ल्याउनेछन्। 20तिनीहरूलाई याहवेहले कहिल्यै क्षमा दिने मन गर्नुहुनेछैन। उहाँको क्रोध र डाहको जलन तिनीहरूको विरुद्धमा दन्कनेछ। यस व्यवस्थाका पुस्तकमा लेखिएका सबै श्रापहरू तिनीहरूमाथि पर्नेछन्। अनि याहवेहले तिनीहरूको नाम आकाशमुनिबाट मेटिदिनुहुनेछ। 21व्यवस्थाको यो पुस्तकमा लेखिएका करारका सबै श्रापअनुसार याहवेहले तिनीहरूलाई इस्राएलका सबै कुलहरूबाट नाशको निम्ति अलग गर्नुहुनेछ।

22तिमीहरूका भावी पुस्ताका छोराछोरीहरू र टाढा देशहरूबाट आउने विदेशीहरूले यस देशमा आइपरेका विपत्तिहरू अनि याहवेहले देशमा पठाउनुभएका रोगहरू देख्नेछन्। 23सारा देशलाई नुन र गन्धकले जलाएर बरबाद गर्नेछ—त्यहाँ केही पनि रोपिनेछैन, उम्रनेछैन र कुनै रूखबिरुवा केही पनि उम्रनेछैन। त्यो देश याहवेहले आफ्नो भयानक क्रोधमा नष्‍ट पार्नुभएको सदोम र गमोरा, अदमा र सबोयीमजस्तै हुनेछ। 24सबै जाति-जातिहरूले सोध्नेछन्: “याहवेहले यस देशलाई किन यस्तो गर्नुभयो? किन यस्तो डरलाग्दो र दन्कने रिस गर्नुभयो?”

25अनि जवाफचाहिँ यस्तो हुनेछ, “किनकि यस जातिले याहवेह तिनीहरूका पितापुर्खाहरूका परमेश्‍वरको करार, उहाँले तिनीहरूलाई इजिप्टबाट ल्याउनुहुँदा तिनीहरूसँग गर्नुभएको करारलाई तोडेका छन्। 26तिनीहरू तर्केर गएका छन्, र अरू देवी-देवताहरू, तिनीहरूले नजानेका र उहाँले तिनीहरूलाई मनाही गर्नुभएका देवी-देवताहरूलाई दण्डवत् गरेका छन्। 27यसकारण यस देशको विरुद्धमा याहवेहको क्रोध दन्कियो। त्यसैले उहाँले यस व्यवस्थाको पुस्तकमा लेखिएका सबै श्रापहरू यस देशमाथि ल्याउनुभयो। 28याहवेहले तिनीहरूलाई भयानक रिस र डरलाग्दो क्रोधमा आफ्नो देशबाट उखेलेर अर्को देशमा फालिदिनुभयो; अनि तिनीहरू अहिलेसम्म छँदैछन्।”

29गुप्‍त कुराहरू याहवेह हाम्रा परमेश्‍वरकै हुन्, तर प्रकट गरिएका कुराहरूचाहिँ हामी र हाम्रा सन्तानहरूका लागि सदाका निम्ति हुन्; ताकि हामीले यस व्यवस्थाका सबै कुराहरू पालन गर्न सकौँ।

Copyright information for NpiNCV