Deuteronomy 1
परिचय
1मोशाले यर्दनको पूर्वको उजाडस्थानमा अर्थात् अराबामा सूपको सामु—पारान एकापट्टि र अर्कोपट्टि तोफेल, लाबान, हसेरोत र दीसाहाबको बीचमा सबै इस्राएलीहरूलाई भनेका वचनहरू यिनै हुन्। 2(सेइर ▼▼सेइरलाई एदोम पनि भनिन्छ।
पर्वतको बाटोबाट होरेब ▼▼होरेब सीनै पर्वतको अर्को नाम हो।
पर्वतहुँदै कादेश-बर्नेसम्म जानलाई एघार दिन लाग्छ)। 3चालीसौँ वर्षको एघारौँ महिनाको पहिलो दिन ▼▼मूल भाषामा चालीसौँ वर्षको एघारौँ महिनाको पहिलो दिन यो दिन प्राचीन हिब्रू चन्द्र पात्रोमा जनवरी वा फेब्रुवरीमा पर्छ।
याहवेहले इस्राएलीहरूको बारेमा मोशालाई आज्ञा दिनुभएका सबै कुरा तिनले तिनीहरूलाई घोषणा गरे। 4योचाहिँ मोशाले हेश्बोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोन र अस्तारोतमा राज्य गर्ने बाशानको राजा ओगलाई एद्रईमा जितेपछिको कुरा हो। 5यर्दन नदीको पूर्वपट्टि मोआबको प्रान्तमा मोशाले यही व्यवस्था व्याख्या गर्दै भने: 6होरेब पर्वतमा याहवेह हाम्रा परमेश्वरले हामीलाई भन्नुभयो, “तिमीहरू यस पर्वतमा बसेको धेरै समय भइसक्यो। 7अब तिमीहरूको छाउनी तोडेर एमोरीहरूको पहाडी मुलुकतिर अगि बढ। अराबाका सबै छिमेकी प्रान्तहरूमा, पर्वतहरूमा, पश्चिमका तराईहरूमा, दक्षिणमा र किनारका ठाउँहरूहुँदै, कनानीहरूको देश र लेबनान र महानदी यूफ्रेटिससम्म जाओ। 8हेर, मैले यो देश तिमीहरूलाई दिएको छु। मैले तिमीहरूका पुर्खाहरू अब्राहाम, इसहाक, याकोब र तिनीहरूका सन्ततिलाई दिन्छु भनी प्रतिज्ञा गरेको देशमा तिमीहरू गएर अधिकार गर।” अगुवाहरूको नियुक्ति
9मोशाले भने, “त्यस समय मैले तिमीहरूलाई भनेको थिएँ, म एकलै तिमीहरूको बोझ उठाउन सक्दिनँ। 10याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूको संख्यामा वृद्धि गरिदिनुभएको छ। आज तिमीहरू आकाशका ताराहरूझैँ अनगन्ती भएका छौ। 11तिमीहरूका पितापुर्खाहरूका परमेश्वर याहवेहले प्रतिज्ञा गर्नुभएअनुसार उहाँले तिमीहरूलाई हजार गुणा वृद्धि गरिदेऊन्, र आशिष् देऊन्। 12तर म आफैँले मात्र तिमीहरूका समस्याहरू, तिमीहरूका बोझहरू र तिमीहरूका झगडाहरू कसरी झेल्न सक्छु र? 13तिमीहरूका कुलहरूबाट केही बुद्धिमान्, समझदार र अनुभवी मानिसहरूलाई रोज। अनि म तिनीहरूलाई तिमीहरूमाथि अगुवा नियुक्त गर्नेछु।” 14तिमीहरूले मलाई जवाफ दियौ, “तपाईंले दिनुभएको प्रस्ताव असल छ।” 15यसकारण मैले तिमीहरूका कुलहरूबाट मुख्य व्यक्ति, बुद्धिमान् र अनुभवी मानिसहरूलाई लिएर तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचासमाथि र दश-दशमाथि प्रशासकको रूपमा तिमीहरूमाथि अधिकार गर्नलाई नियुक्त गरेँ। 16अनि त्यस बेला मैले तिमीहरूका न्यायकर्ताहरूलाई यसो भनेर जिम्मा दिएको थिएँ, “तिमीहरूका मानिसहरूका बीचका झगडा सुन। चाहे त्यो मुद्दा इस्राएलीहरूका बीचमा होस् अथवा तिनीहरूमध्ये एक जना इस्राएली र अर्कोचाहिँ तिमीहरूसँग बसोबास गर्ने विदेशीको बीचमा होस्। न्याय उचित रूपले गर। 17न्याय गर्दा पक्षपात नगर्नू। ठूला र साना दुवैका कुरा तिमीहरूले समान रूपले सुन्नू। न्याय परमेश्वरबाट भएको हुनाले कुनै मानिससँग नडराउनू। तिमीहरूका निम्ति अति कठिन भएको मुद्दा मकहाँ ल्याउनू। म त्यसको फैसला गर्नेछु।” 18अनि मैले त्यस बेला तिमीहरूले गर्नुपर्ने हरेक कुरा तिमीहरूलाई भनेको थिएँ।जासुसहरू पठाइएका
19त्यसपछि याहवेह हाम्रा परमेश्वरले हामीलाई आज्ञा गर्नुभएझैँ, हामी होरेब पर्वतबाट निस्क्यौँ। अनि तिमीहरूले देखेका डरलाग्दो र ठूलो उजाडस्थानबाट भएर हामी एमोरीहरूको पहाडी देशतिर गयौँ। यसरी हामी कादेश-बर्नेमा पुग्यौँ। 20तब मैले तिमीहरूलाई भनेँ, “तिमीहरू एमोरीहरूको पहाडी देशमा आइपुगेका छौ, जुन देश याहवेह हाम्रा परमेश्वरले हामीलाई दिनुहुनेछ। 21हेर, याहवेह तिमीहरूका परमेश्वरले यो देश तिमीहरूलाई दिनुभएको छ। याहवेह तिमीहरूका पितापुर्खाहरूका परमेश्वरले तिनीहरूलाई भन्नुभएझैँ त्यस देशमा तिमीहरू उक्लेर जाओ, र अधिकार गर। तिमीहरू नडराओ; हतोत्साहित नहोओ।” 22तब तिमीहरू सबै मकहाँ आएर भन्यौ, “हाम्रा निम्ति त्यस देशको जासुस गर्नलाई हामीले जानुपर्ने बाटो र हामी पुग्ने सहरहरूको बारेमा जानकारी ल्याउनलाई हाम्रा अगि जासुसी गर्ने मानिसहरू पठाऔँ।” 23यो कुरो मलाई असल लाग्यो; अनि मैले हरेक कुलबाट एक-एक जना गरी बाह्र जनालाई छानेँ। 24तिनीहरू हिँडे, र पहाडी इलाकातिर पुगे। तब तिनीहरू एश्कोलको बेँसीमा आए, र त्यस ठाउँको जासुस गरे। 25तिनीहरूले साथमा त्यस देशका केही फलफूल हामीहरूकहाँ ल्याए, र तिनीहरूले जानकारी दिए, “याहवेह हाम्रा परमेश्वरले हामीलाई दिनुहुने देश असल रहेछ।”याहवेहको विरुद्ध विद्रोह
26तर तिमीहरूले अगि जाने इच्छा गरेनौ; तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरको आज्ञाको विरुद्ध विद्रोह गर्यौ। 27तिमीहरूले आफ्ना पालहरूमा गनगन गर्दै भन्यौ, “याहवेहले हामीलाई घृणा गर्नुहुन्छ। यसैकारण उहाँले हामीलाई एमोरीहरूका हातद्वारा नष्ट गर्नलाई इजिप्टबाट निकालेर ल्याउनुभयो। 28हामी कहाँ जाऔँ? हाम्रा दाजुभाइहरूले हामीलाई भयभीत बनाएका छन्। तिनीहरू भन्छन्, ‘ती मानिसहरू हामीभन्दा बलिया र अग्ला छन्। त्यहाँका सहरहरू ठूला आकाशसम्म पुग्ने पर्खाल भएका छन्। हामीले त्यहाँ अनाकीहरूलाई पनि देख्यौँ।’ ” 29तब मैले तिमीहरूलाई भनेँ, “तिमीहरू भयभीत नहोओ; र तिनीहरूसँग नडराओ। 30याहवेह तिमीहरूका परमेश्वर तिमीहरूका अगि जानुहुनेछ। अनि तिमीहरूका पक्षमा लड्नुहुनेछ; जसरी इजिप्टमा तिमीहरूका निम्ति तिमीहरूकै आँखाको अगि उजाडस्थानमा लड्नुभएको थियो। 31अनि तिमीहरू यस ठाउँसम्म नआइपुगुन्जेल याहवेह तिमीहरूका परमेश्वरले आफ्ना छोराछोरीलाई बुबाले बोकेझैँ उहाँले बाटोभरि उजाडस्थानमा तिमीहरूलाई कसरी बोक्नुभयो, त्यो तिमीहरूले देख्यौ।” 32तर अझ पनि याहवेह तिमीहरूका परमेश्वरमाथि तिमीहरूले भरोसा गरेनौ। 33उहाँ तिमीहरूले छाउनी बनाउने ठाउँहरू खोज्न र तिमीहरूले हिँड्नुपर्ने बाटो देखाउन राति आगोमा र दिउँसो बादलमा भई तिमीहरूलाई बाटो देखाउन अगि-अगि जानुभयो। 34जब तिमीहरूको गनगन याहवेहले सुन्नुभयो, तब उहाँ रिसाउनुभयो। अनि उहाँले शपथ लिनुभयो, 35“मैले तिमीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको असल देशलाई यस दुष्ट पुस्ताको एउटै मानिसले पनि देख्नेछैन। 36यपून्नेको छोरा कालेबचाहिँ अपवाद हो। उसले मात्र त्यो देश देख्नेछ। अनि म त्यसलाई र त्यसका सन्तानलाई त्यसले आफ्नो पाइला टेकेको देश दिनेछु। किनकि त्यसले याहवेहलाई आफ्नो सारा हृदयले पछ्याएको छ।” 37तिमीहरूकै कारण याहवेह मसँग पनि रिसाउनुभयो र भन्नुभयो, “तँ पनि त्यो देशमा प्रवेश गर्नेछैनस्। 38तर तेरो सहायक नूनका छोरा यहोशूले त्यहाँ प्रवेश गर्नेछ। त्यसलाई उत्साह दे। किनकि त्यसले त्यस देशमा अधिकार गर्नलाई इस्राएलीहरूलाई डोर्याउनेछ। 39अनि तिमीहरूका छोराछोरीहरू, जसलाई कैदमा लगिनेछ भनी तिमीहरू भन्छौ, जो असल र खराब अहिले छुट्याउन सक्दैनन्, तिनीहरू त्यस देशमा प्रवेश गर्नेछन्। म त्यो देश तिनीहरूलाई दिनेछु र तिनीहरूले त्यस देशमा अधिकार गर्नेछन्। 40तर तिमीहरूचाहिँ फर्केर लाल समुद्रतिर जाने उजाडस्थानको बाटोतिर लाग।” 41तब तिमीहरूले मलाई भन्यौ, “हामीले याहवेहको विरुद्धमा पाप गरेका छौँ। याहवेह हाम्रा परमेश्वरले आज्ञा गर्नुभएझैँ हामी अगि जानेछौँ र लडाइँ गर्नेछौँ।” यसरी तिमीहरू हरेकले त्यस पहाडी मुलुकमा उक्लेर जान सजिलो छ भनेर आफ्ना हातहतियारहरू भिर्यौ। 42तर याहवेहले मलाई भन्नुभयो, “तिनीहरूलाई भन्, ‘तिमीहरू लडाइँ गर्न नजाओ; किनकि म तिमीहरूसँग हुनेछैन। तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुनेछौ।’ ” 43यसैकारण मैले तिमीहरूलाई भनेँ, तर तिमीहरूले सुनेनौ। तिमीहरूले याहवेहको आज्ञाको विरोध गर्यौ र तिमीहरूको घमण्डमा त्यस पहाडी मुलुकको टुप्पोमा युद्ध गर्न तिमीहरू मोर्चा बाँधेर उक्लियौ। 44तब त्यस पहाडी मुलुकमा बस्ने एमोरीहरू तिमीहरूको विरुद्धमा निस्किआए। तिनीहरूले तिमीहरूलाई मौरीहरूका हूलले झैँ खेदे, र तिमीहरूलाई सेइरदेखि होर्मासम्मै खेदेर तिमीहरूलाई जिते। 45तिमीहरू फर्केर आयौ र याहवेहको सामु रोयौ। तर उहाँले तिमीहरूको रुवाइमा ध्यानै दिनुभएन, र तिमीहरूको पुकार सुन्नुभएन। 46यसकारण तिमीहरू कादेशमा धेरै दिन बस्यौ—वास्तवमा तिमीहरूले सबै समय त्यहाँ बितायौ।
Copyright information for
NpiNCV