‏ Exodus 6

1तब याहवेहले मोशालाई भन्‍नुभयो, “अब म फारोलाई के गर्नेछु, सो तैँले देख्नेछस्: मेरा शक्तिशाली हातको कारण त्यसले तिनीहरूलाई जान दिनेछ; मेरा शक्तिशाली हातको कारण त्यसले तिनीहरूलाई आफ्नो देशबाट धपाइदिनेछ।”

2परमेश्‍वरले मोशालाई यसो पनि भन्‍नुभयो, “म नै याहवेह हुँ। 3म अब्राहाम, इसहाक र याकोबकहाँ सर्वशक्तिमान् परमेश्‍वरको
मूल भाषामा एल सेदाइ
रूपमा देखा परेँ, तर याहवेह मेरो नामले त मैले आफैँलाई तिनीहरूसित परिचित गराइनँ।
4मैले तिनीहरू प्रवासी भई बसेको कनान देश तिनीहरूलाई दिनेछु भनी मेरो करार पनि तिनीहरूसित स्थापित गरेँ। 5यसबाहेक मैले इजिप्टियनहरूले दास बनाइराखेका इस्राएलीहरूका सुस्केरा सुनेको छु, र मैले आफ्नो करार सम्झेको छु।

6“यसकारण इस्राएलीहरूलाई भन्: ‘म नै याहवेह हुँ, र म तिमीहरूलाई इजिप्टियनहरूका बोझबाट निकालेर ल्याउनेछु। म तिमीहरूलाई तिनीहरूका दासत्वबाट मुक्त गर्नेछु; अनि म तिमीहरूलाई फैलिएको हात
अक्षरशः पाखुरा
र न्यायको पराक्रमी कामले छुटकारा दिनेछु।
7म तिमीहरूलाई मेरा आफ्नै मानिसहरूझैँ लिनेछु, र म तिमीहरूका परमेश्‍वर हुनेछु। तब म नै तिमीहरूका याहवेह परमेश्‍वर हुँ, जसले तिमीहरूलाई इजिप्टियनहरूका दासत्वको जुवामुनिबाट बाहिर निकालेर ल्याउनुभयो भन्‍ने कुरा तिमीहरूले जान्‍नेछौ; 8अनि म तिमीहरूलाई त्यस देशमा ल्याउनेछु, जुन देश मैले अब्राहाम, इसहाक र याकोबलाई दिनेछु भनी हात उचालेर शपथ खाएको थिएँ; म त्यो तिमीहरूलाई सम्पत्तिको रूपमा दिनेछु; म नै याहवेह हुँ।’ ”

9तब मोशाले इस्राएलीहरूलाई यो कुरा बताइदिए; तर तिनीहरूका निराशा र दासत्वको क्रूरताका कारण तिनीहरूले मोशाको कुरा सुनेनन्।

10तब याहवेहले मोशालाई भन्‍नुभयो, 11“जा, र इजिप्टको राजा फारोलाई इस्राएलीहरूलाई त्यसको देशबाट बाहिर जान देऊ भनी भन्।”

12तर मोशाले याहवेहलाई भने, “यदि इस्राएलीहरूले नै मेरा कुरा सुन्दैनन् भने फारोले झन् मेरो कुरा कसरी सुन्लान्? किनकि म भकभकाउँदै बोल्छु।
मूल भाषामा ओठको खतना नभएको।

मोशा र हारूनको परिवारको वंशावली

13फेरि याहवेह इस्राएलीहरू र इजिप्टका राजा फारोका विषयमा मोशा र हारूनसँग बोल्नुभयो; अनि उहाँले तिनीहरूलाई इस्राएलीहरूलाई इजिप्टबाट बाहिर लैजान आज्ञा दिनुभयो।

14तिनीहरूका परिवारहरूका मुख्य-मुख्य मानिसहरू यिनीहरू नै हुन्:

इस्राएलका जेठा छोरा रूबेनका छोराहरू:
हानोक र पल्‍लू, हेस्रोन र कर्मी।
रूबेनका वंशहरू यिनै हुन्।

15शिमियोनका छोराहरू:
यमूएल, यामीन, ओहद, याकीन, सोहोर र एउटी कनानी स्त्रीको छोरा, शाऊल।
शिमियोनका वंशहरू यिनै हुन्।

16तिनीहरूका वंशावलीअनुसार लेवीका छोराहरूका नाम यिनै हुन्:
गेर्शोन, कहात र मरारी।
(लेवी 137 वर्षसम्म बाँचे।)
17वंशअनुसार गेर्शोनका छोराहरू यिनै हुन्:
लिब्नी र शिमी।
18कहातका छोराहरू:
अम्राम, यिसहार, हेब्रोन र उज्जीएल।
(कोहात 133 वर्षसम्म बाँचे।)
19मरारीका छोराहरू:
महली र मूशी।
तिनीहरूका वंशावलीअनुसार लेवीका परिवारहरू यिनै थिए।

20अम्रामले आफ्ना बुबाकी बहिनी योकेबेदलाई विवाह गरे; जसले तिनको निम्ति हारून र मोशालाई जन्माइन्।
(अम्राम 133 वर्षसम्म बाँचे।)
21यिसहारका छोराहरू:
कोरह, नेपेग र जिक्री।
22उज्जीएलका छोराहरू:
मिशाएल, एलसाफान र सिथ्री।
23हारूनले अम्मीनादाबकी छोरी र नहशोनकी बहिनी एलिशेबालाई विवाह गरे; अनि तिनले उनको निम्ति नादाब, अबीहू, एलाजार र ईतामारलाई जन्माइन्।

24कोरहका छोराहरू:
अस्सीर, एल्काना र अबिआसाप।
यिनीहरू नै कोरहका वंशहरू हुन्।

25हारूनका छोरा एलाजारले पतीएलकी छोरीहरूमध्ये एक जनालाई विवाह गरे; र तिनले उनको लागि पीनहासलाई जन्माइन्।

लेवीहरूका परिवारका मुख्य-मुख्य मानिसहरू तिनीहरूका वंश-वंशअनुसार यिनै हुन्।

26यी तिनै हारून र मोशा थिए, जसलाई याहवेहले भन्‍नुभयो, “इस्राएलीहरूलाई इजिप्टबाट दल-दल बनाएर बाहिर ल्याउनू।” 27इजिप्टका राजा फारोसित इस्राएलीहरूलाई इजिप्टबाट बाहिर ल्याउने विषयमा कुरा गर्नेहरू यी दुई मोशा र हारून नै थिए।

हारून मोशाका वक्ता

28जब याहवेहले इजिप्टमा मोशासित बोल्नुभयो, 29अनि उहाँले मोशालाई भन्‍नुभयो, “म नै याहवेह हुँ। मैले तँलाई जे-जे कुरा भन्दछु, ती सबै इजिप्टका राजा फारोलाई भन।”

30तर मोशाले याहवेहलाई भने, “म बोल्नमा ढिलो छु; फारोले मेरा कुरा किन सुन्थे होला र?”

Copyright information for NpiNCV