Ezekiel 15
यरूशलेम काम नलाग्ने दाखको बोट
1याहवेहको वचन मकहाँ आयो: 2“हे मानिसको छोरा, दाखको बोटको दाउरा जङ्गलमा भएका रूखहरूका हाँगाभन्दा कसरी असल हुन्छ? 3के कुनै उपयोगी चीज बनाउनका निम्ति दाखको बोटबाट कहिल्यै काठ निकालिन्छ र? के मानिसहरूले दाखको बोटबाट केही झुण्ड्याउनका निम्ति किला बनाउँछन् र? 4अनि त्यसलाई दाउराको रूपमा आगोभित्र फ्याँकेपछि त्यसका दुवैतिर टुप्पो र फेद आगोले जलेर बीचको भागसमेत कोइला बन्छ भने के त्यो कुनै कामको निम्ति उपयोगी हुन्छ? 5यदि त्यो सिङ्गो हुँदा कुनै पनि कामको निम्ति उपयोगी हुँदैन भने, जब त्यसलाई आगोले जलाएर कोइला बनिएपछि त्यो कुनै उपयोगी कुरा बनिनलाई झन् कति कम उपयोगी हुन्छ होला? 6“यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: जङ्गलका रूखहरूको बीचमा मैले दाखको हाँगालाई आगोको निम्ति दाउरा हुनलाई दिएको छु, त्यसरी नै म यरूशलेममा बसोबास गर्ने मानिसहरूसँग पनि त्यसै गर्नेछु। 7म मेरो अनुहार तिनीहरूको विरुद्धमा फर्काउनेछु। तिनीहरू आगोबाट बाहिर निस्केर आए तापनि आगोले तिनीहरूलाई भस्म गर्नेछ। अनि जब मैले मेरो मुख तिनीहरूको विरुद्धमा फर्काउँछु, तब म नै याहवेह हुँ भनी तिमीहरूले जान्नेछौ। 8तिनीहरू अविश्वासयोग्य भएको कारण म देशलाई उजाड पारिदिनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।”
Copyright information for
NpiNCV