‏ Ezekiel 29

इजिप्टको विरुद्धमा अगमवाणी

फारोमाथि न्याय

1दसौँ वर्षको दसौँ महिनाको बाह्रौँ दिनमा, याहवेहको यो वचन मकहाँ आयो: 2“हे मानिसको छोरा, तेरो अनुहार इजिप्टको राजा फारोको विरुद्धमा फर्काएर त्यसको विरुद्धमा र समस्त इजिप्टको विरुद्धमा अगमवाणी गर्। 3राजासित कुरा गरेर भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ:

“ ‘हे इजिप्टको राजा फारो, म तेरो विरुद्धमा छु,
तँ एक विशाल जन्तु होस्, जो आफ्ना खोलाहरूका बीचमा ढल्किरहन्छ।
तँ भन्छस्, “नील नदी मेरो हो;
मैले त्यसलाई आफ्नो निम्ति बनाएको हुँ।”
4तर म तेरो चिउँडोमा बल्छी लगाउनेछु,
र तेरा खोलाहरूका माछाहरू तेरा कत्लाहरूमा टाँसिनेछन्।
तेरा कत्लाहरूमा अल्झिएका सबै माछाहरूसितै
म तँलाई तेरा खोलाहरूबाट तानेर बाहिर निकाल्नेछु।
5म तँलाई र तेरा नदीका
सबै माछाहरूलाई मरुभूमिमा छोडिदिनेछु।
तिमीहरू खुला मैदानमा पतन हुनेछौ;
न त बटुलिनेछौ, न त उठाइनेछौ।
म तँलाई पृथ्वीका खुला मैदानका पशुहरू
र आकाशका चराहरूकहाँ भोजनको रूपमा दिनेछु।

6तब इजिप्टमा बस्‍ने सबैले म नै याहवेह हुँ भनी जान्‍नेछन्।

“ ‘तँ इस्राएलका मानिसहरूका निम्ति एउटा निगालोको लहुरोझैँ भएको छस्।
7जब तिनीहरूले तँलाई आफ्ना हातले समाते, तब तँ भाँचिगइस् र तैँले तिनीहरूका काँधहरू चिरिदिइस्; अनि जब तिनीहरू तँमाथि अडेसिँदा तँ भाँचिगइस्, र तिनीहरूका सारा कम्मर मर्काइदिइस्।

8“ ‘यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म तेरो विरुद्धमा एउटा तरवार ल्याउनेछु; अनि तेरा मानिसहरू र तिनीहरूका पशुहरू दुवै मारिदिनेछु। 9इजिप्ट एउटा उजाड मरुभूमि हुनेछ। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।

“ ‘किनकि तैँले भनिस्, “नील नदी मेरो हो; मैले यसलाई बनाएँ;”
10यसकारण म तँ र तेरा नील नदीहरूको विरुद्धमा छु; अनि म इजिप्टलाई मिग्दोलदेखि आश्‍वानसम्म, कूशको
हामको सन्तान वा नील नदीको माथिल्‍लो भाग
सिमानासम्मै सर्वनाश र उजाड मरुभूमि बनाइदिनेछु।
11त्यस इजिप्टबाट भएर कुनै पनि मानिस अथवा पशुको खुट्टा जानेछैन; त्यहाँ चालीस वर्षसम्म कोही पनि बसोबास गर्नेछैन। 12म इजिप्ट देशलाई नष्‍ट भएका देशहरूको बीचमा उजाड पारिदिनेछु; अनि त्यसका सहरहरू सर्वनाश भएका सहरहरूको बीचमा चालीस वर्षसम्म उजाड भएर रहनेछन्। अनि म इजिप्टवासीहरूलाई जाति-जातिहरूको बीचमा तितरबितर पारिदिनेछु, र तिनीहरूलाई विभिन्‍न देशहरूमा छरपस्ट पारिदिनेछु।

13“ ‘तापनि प्रभु याहवेह यसो भन्‍नुहुन्छ: चालीस वर्ष बितिसकेपछि म इजिप्टवासीहरूलाई तिनीहरू छरपस्ट पारिएका राष्ट्रहरूबाट भेला गर्नेछु। 14म तिनीहरूलाई कैदबाट फर्काएर माथिल्‍लो इजिप्टमा
मूल भाषामा पथ्रोस जसको अर्थ दक्षिण हुन्छ।
ल्याउनेछु, जुन तिनीहरूका पितापुर्खाहरूको देश हो। त्यहाँ तिनीहरू एक दुर्बल राज्य हुनेछन्।
15इजिप्ट सबै राज्यहरूमा सबैभन्दा महत्वहीन राज्य हुनेछ, र त्यसले आफूलाई अरू जातिहरूभन्दा माथि कहिल्यै उठाउन सक्नेछैन। म त्यसलाई यति कमजोर वा थोरै बनाउनेछु, कि त्यसले कहिल्यै अरू जातिहरूमाथि शासन गर्न पाउनेछैन। 16इस्राएलका मानिसहरूका निम्ति इजिप्ट कहिल्यै पनि भरोसाको स्रोत हुनेछैन, तर सहायताको निम्ति त्यहाँ फर्कँदा इस्राएलको पापको सम्झना हुनेछ। तब तिनीहरूले म नै प्रभु याहवेह हुँ भनी जान्‍नेछन्।’ ”

नबूकदनेसरको प्रतिफल

17सत्ताइसौँ वर्षको पहिलो महिनाको पहिलो दिनमा, याहवेहको यो वचन मकहाँ आयो: 18“हे मानिसको छोरा, बेबिलोनका राजा नबूकदनेसरले आफ्नो सेनालाई टायरको विरुद्धमा गरिएको कठोर सैनिक अभियानमा लगे; जसमा तिनीहरू सबैको शिर खुइलियो र गह्रौँ भारी बोक्नाले सबैको काँध पिल्सियो। तापनि त्यसले र त्यसको सेनाले टायरको विरुद्धमा चलाएको अभियानबाट कुनै पनि प्रतिफल पाउन सकेनन्। 19यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म इजिप्टलाई बेबिलोनको राजा नबूकदनेसरलाई दिँदैछु; अनि उसले त्यसको धनसम्पत्ति लैजानेछ। त्यसले आफ्नो सेनाको ज्यालाको रूपमा देशलाई सखाप पारेर लुटपाट गर्नेछ। 20मैले नबूकदनेसर र त्यसका सेनाहरूलाई मेरा निम्ति गरेको कडा परिश्रमको कारण प्रतिफलको रूपमा इजिप्ट दिएको छु, प्रभु याहवेह भन्‍नुहुन्छ।

21“त्यस दिन म इस्राएलीहरूका निम्ति एउटा सिङ उम्रन लगाउनेछु, र म तिनीहरूका बीचमा तेरो मुख खोलिदिनेछु। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।”

Copyright information for NpiNCV