‏ Hebrews 1

परमेश्‍वरको अन्तिम वचन: उहाँको पुत्र

1बितेका समयमा परमेश्‍वर हाम्रा पुर्खाहरूसँग धेरै पटक विभिन्‍न प्रकारले अगमवक्ताहरूद्वारा बोल्नुभयो; 2तर यी अन्तिम दिनहरूमा चाहिँ उहाँ आफ्नो पुत्रद्वारा हामीसँग बोल्नुभएको छ। पुत्रलाई नै उहाँले सबै कुराहरूको उत्तराधिकारी बनाउनुभएको हो, जसद्वारा उहाँले समस्त विश्‍वलाई पनि बनाउनुभयो। 3पुत्रचाहिँ परमेश्‍वरको महिमाको चमक र उहाँ परमेश्‍वरकै स्वभावको दुरुस्त प्रतिरूप हुनुहुन्छ, र उहाँले आफ्नो शक्तिशाली वचनद्वारा सबै थोकहरू सम्हाल्नुहुन्छ। उहाँले पापहरूका लागि शुद्धीकरणको प्रबन्ध मिलाउनुभयो, र उहाँ स्वर्गमा महामहिमको दाहिने हातपट्टि विराजमान हुनुभयो। 4यसकारण उहाँ स्वर्गदूतभन्दा उच्‍च हुनुभएको छ; अनि तिनीहरूभन्दा उहाँले उच्‍च नाम उत्तराधिकारस्वरूप पाउनुभएको छ।

पुत्र स्वर्गदूतभन्दा महान्

5स्वर्गदूतहरूमध्ये कसलाई चाहिँ परमेश्‍वरले कहिल्यै यसो भन्‍नुभयो:

“तिमी मेरा पुत्र हौ,
आज म तिम्रो पिता भएको छु?”

अथवा फेरि,

“म तिनका पिता हुनेछु,
र तिनी मेरा पुत्र हुनेछन्?”

6परमेश्‍वरले आफ्ना प्रथम जन्मेकालाई संसारमा फेरि ल्याउनुहुँदा उहाँ भन्‍नुहुन्छ,

“परमेश्‍वरका सारा स्वर्गदूतहरूले उहाँको आराधना गरून्।”

7स्वर्गदूतहरूका विषयमा उहाँ भन्‍नुहुन्छ,

“उहाँले आफ्ना स्वर्गदूतहरूलाई बतास,
र आफ्ना सेवकहरूलाई आगोको ज्वाला बनाउनुहुन्छ।”

8तर पुत्रको विषयमा उहाँ भन्‍नुहुन्छ,

“हे परमेश्‍वर, तपाईंको सिंहासन सदाको निम्ति रहनेछ;
तपाईंको राज्यको राजदण्ड न्यायको राजदण्ड हुनेछ।
9तपाईंले धार्मिकतालाई प्रेम र दुष्‍टतालाई घृणा गर्नुभयो;
यसकारण परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंलाई तपाईंका सङ्गीहरूभन्दा
उच्‍च पार्नुभएको छ र हर्षको तेलले अभिषेक गर्नुभएको छ।”

10उहाँ यसो पनि भन्‍नुहुन्छ,

“हे प्रभु, सुरुमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो,
र स्वर्ग तपाईंकै हातका काम हुन्।
11तिनीहरू नाश भएर जानेछन्, तर तपाईंचाहिँ रहिरहनुहुन्छ;
तिनीहरू कपडाझैँ सबै फाटेर जानेछन्।
12तपाईंले तिनीहरूलाई वस्त्रलाईझैँ लपेट्नुहुनेछ,
वस्त्रझैँ ती बदली हुनेछन्।
तर तपाईं एकैनास रहनुहुन्छ,
र तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुनेछैन।”

13स्वर्गदूतहरूमध्ये कसलाई चाहिँ परमेश्‍वरले कुनै समयमा यसो भन्‍नुभयो,

“जबसम्म म तिम्रा शत्रुहरूलाई
तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ,
तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस!”

14तसर्थ के सबै स्वर्गदूतहरू मुक्ति पाउनेहरूलाई सेवा गर्न पठाइएका सेवा गर्ने आत्माहरू होइनन् र?

Copyright information for NpiNCV