Hebrews 10
ख्रीष्टको एक पल्टको बलिदान सधैँको लागि
1व्यवस्था केवल आउने असल कुराहरूको छाया मात्र हो; यो आफैँमा वास्तविकता होइन। यसैकारण यसले एकै किसिमको बलिदान अन्त्य नहुने गरी हरेक वर्ष दोहोर्याइएकोले आराधनाको नजिक आउनेहरूलाई सिद्ध तुल्याउन सक्दैन। 2यदि सक्ने भए के ती चढाइन रोकिने थिएनन् र? किनकि आराधना गर्नेहरू सधैँको निम्ति शुद्ध भइसक्नेथिए, र फेरि कहिल्यै तिनीहरूका पापहरूको लागि दोषी ठहरिने थिएनन्। 3तर ती बलिदानहरू पापका वार्षिक सम्झना मात्र हुन्; 4किनकि बोका र साँढेहरूको रगतले पाप हटाउन असम्भव छ। 5यसकारण संसारमा आउनुहुँदा ख्रीष्टले भन्नुभयो: “बलिदान र भेटी तपाईंले चाहनुभएन,तर तपाईंले मेरो निम्ति एउटा शरीर चढाउनको लागि तयार पारिदिनुभयो।
6होमबलिहरू र पाप शुद्धीकरणको बलिहरूमा
तपाईं प्रसन्न हुनुभएन।
7तब मैले भनेँ, ‘म यहाँ छु, यो कुरा पवित्र शास्त्रमा लेखिएको छ।
हे परमेश्वर, म तपाईंको इच्छा पूरा गर्न आएको छु।’ ” ▼
8पहिला उहाँले भन्नुभयो, “बलिदान र भेटी, होमबलि र पाप शुद्धीकरणको बलिहरू तपाईंले चाहनुभएन; न त तपाईं तिनीहरूदेखि प्रसन्न हुनुभयो”, यद्यपि ती व्यवस्थाले चढाउन भन्दछ। 9तब उहाँले भन्नुभयो, “म यहाँ छु, म तपाईंकै इच्छा पूरा गर्न आएको छु।” पहिलोलाई खारेज गर्न उहाँले दोस्रोलाई स्थापित गर्नुभयो। 10अनि उहाँको इच्छाद्वारा येशू ख्रीष्टको शरीरको एक पल्टको बलिदानद्वारा हामी सधैँको लागि पापबाट पवित्र पारिएका छौँ। 11पुरानो करारमा हरेक पुजारीले दिनहुँ उभिएर आफ्नो धार्मिक कर्तव्यहरू गर्छन्; घरी-घरी तिनले एकै किसिमका बलिदानहरू चढाउँछन्, जसले कहिल्यै पाप हटाउन सक्दैन। 12तर जब यी प्रधान पुजारीले सधैँको लागि पाप क्षमाको लागि एउटै बलिदान चढाउनुभयो, तब उहाँ परमेश्वरको दाहिने हातपट्टि विराजमान हुनुभयो; 13त्यस बेलादेखि नै आफ्ना शत्रुहरूलाई आफ्ना पाउदान बनिऊन् भनेर उहाँ पर्खनुहुन्छ; 14किनकि जो पवित्र तुल्याइँदैछन्, उहाँले तिनीहरूलाई एउटै बलिदानले सदाको निम्ति सिद्ध पार्नुभएको छ। 15यस विषयमा पवित्र आत्माले पनि साक्षी दिनुहुन्छ; उहाँ भन्नुहुन्छ: 16“त्यसपछि म तिनीहरूसित यो करार बाँध्नेछु,
प्रभु भन्नुहुन्छ,
म आफ्नो व्यवस्था तिनीहरूका हृदयमा राखिदिनेछु,
र म ती तिनीहरूका मनमा लेखिदिनेछु।” ▼
17तब उहाँ फेरि भन्नुहुन्छ: “म तिनीहरूका पाप र कुकर्महरू
फेरि सम्झनेछैनँ।” ▼
18अनि जब यी क्षमा हुन्छन्, तब पाप क्षमाको लागि कुनै बलिदान आवश्यक पर्दैन।
विश्वासमा दृढ रहने आह्वान
19यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, हामीलाई येशूको रगतद्वारा महा-पवित्रस्थानभित्र पस्ने आत्मविश्वास प्राप्त भएको छ; 20येशूले हाम्रो निम्ति एउटा नयाँ र जीवन दिने मार्ग खोलिदिनुभएको छ, अर्थात् त्यस पर्दाद्वारा, जो उहाँको शरीर हो। 21परमेश्वरको परिवारमा हामीसँग एक जना प्रधान पुजारी हुनुभएकोले, 22हामी विश्वासको निश्चयताले भरिएको निष्कपट हृदयहरू लिएर परमेश्वरको नजिक जाऔँ। किनकि हाम्रो दोषी विवेकलाई शुद्ध पार्नका निम्ति येशूको रगतले छर्किएको छ र हाम्रो शरीरलाई शुद्ध पानीले धोइएको छ। 23प्रतिज्ञा गर्नुहुने परमेश्वर विश्वासयोग्य हुनुभएको हुनाले हामीले अपनाएको आशालाई दृढतासाथ पक्रिराखौँ। 24अनि एउटाले अर्कोलाई प्रेम र असल कामको निम्ति उत्साहित गराउने कुरामा विचार गरौँ। 25कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ सङ्गतिमा एकसाथ भेला हुन नछोडौँ; तर प्रभुको पुनरागमन नजिक आइरहेकोले हामी एउटाले अर्कोलाई साहस दिइरहौँ। 26यदि हामीले स्पष्टसँग सत्य बुझेर पनि जानाजानी पाप गरिरहन्छौँ भने त पापहरूको लागि कुनै बलिदान बाँकी रहनेछैन, 27तर परमेश्वरका शत्रुहरूलाई भस्म पार्ने आगो र डरलाग्दो न्यायको प्रतीक्षा मात्र रहनेछ। 28मोशाको व्यवस्था इन्कार गर्ने जोसुकै पनि दया नपाई दुई वा तीन साक्षीको गवाहीद्वारा मरे। 29त्यसो भए झन् परमेश्वरको पुत्रलाई खुट्टामुनि कुल्चने, आफूलाई पवित्र तुल्याएको करारको रगतलाई अपवित्र वस्तु ठान्ने र अनुग्रहको आत्मालाई अपमानित गर्नेको सजाय झन् कति कठोर होला? 30तर यसो भन्नुहुने परमेश्वरलाई हामी चिन्छौँ, “बदला लिने काम मेरो हो; म बदला लिनेछु,” ▼ अनि फेरि “प्रभुले आफ्ना जातिको न्याय गर्नुहुनेछ।” ▼ 31जिउँदो परमेश्वरको हातमा पर्नु डरलाग्दो कुरा हो। 32पहिलेका ती दिनहरूलाई सम्झ, जब तिमीहरूले स्पष्टसँग सत्य बुझेपछि कसरी कष्टहरू बीचको सङ्घर्षमा स्थिर रहेका थियौ। 33कुनै बेला तिमीहरूलाई कति पल्ट अपमान गरिएको र सताइएको थियो भने अरू बेलाचाहिँ तिमीहरू त्यस्ता व्यवहार गरिएकाहरूको साथमा काँधमा काँध मिलाएर उभिएका थियौ। 34तिमीहरूले कैदमा हुनेहरूसँग सहानुभूति देखाएका थियौ, र आफ्ना सम्पत्ति खुशीसाथ लुटिन दिएका थियौ; किनकि तिमीहरूसित अझ उत्तम र स्थायी सम्पत्ति छन् भनी तिमीहरूले जानेका थियौ। 35यसकारण आफ्नो आत्मविश्वास नत्याग, जसमा ठूलो प्रतिफल छ। 36तिमीहरूले स्थिर भइरहनु खाँचो छ; किनकि तिमीहरूले परमेश्वरको इच्छा पूरा गरिसकेपछि उहाँले प्रतिज्ञा गर्नुभएको कुरा प्राप्त गर्नेछौ। 37किनकि धर्मशास्त्रमा लेखिएको छ, अब केही बेरमा,“उहाँ, जो आउँदैहुनुहुन्छ, आउनुहुनेछ,
विलम्ब गर्नुहुनेछैन।” ▼
38र, “तर मेरो धर्मी जनचाहिँ विश्वासद्वारा नै जिउनेछ।
अनि जो पछि हट्छ,
म ऊसँग प्रसन्न हुनेछैनँ।” ▼
39तर हामीचाहिँ पछि हट्ने र नष्ट हुनेमध्येका होइनौँ, तर विश्वासद्वारा हाम्रो प्राण बचाइएकाहरू मध्येका हौँ।
Copyright information for
NpiNCV