‏ Hosea 12

1एफ्राइमले बतासले आफ्नो पेट भर्छ;
त्यसले दिनभरि पूर्वीय बतासलाई पछ्याउँछ;
अनि झूट र हिंसा बढाउँछ।
त्यसले अश्शूरसँग सन्धि गर्छ,
र त्यसले इजिप्टमा जैतुनको तेल पठाउँछ।
2याहवेहले यहूदाको विरुद्धमा अभियोग लगाउनुहुन्छ;
उहाँले याकोबलाई उसको व्यवहारअनुसारको दण्ड दिनुहुनेछ,
र उहाँले उसको कामअनुसारको प्रतिफल दिनुहुनेछ।
3उसले आमाको गर्भमा हुँदा नै आफ्ना दाजुको कुर्कुच्‍चा पक्रेको थियो;
मानिस भएर पनि उसले परमेश्‍वरसित कुश्ती खेल्यो।
4उसले स्वर्गदूतसित कुश्ती खेल्यो र उसलाई जित्यो;
ऊ रोयो र दूतसँग निगाहको निम्ति बिन्ती गर्‍यो।
उहाँले उसलाई बेथेलमा भेट्नुभयो,
र उहाँले त्यहाँ उससँग कुरा गर्नुभयो,
5अर्थात् याहवेह सेनाहरूका परमेश्‍वर हुनुहुन्छ,
र याहवेह उहाँको नाम हो!
6तर तँ आफ्ना परमेश्‍वरकहाँ फर्कनुपर्छ;
प्रेम र न्याय कायम राख्,
र सधैँ तेरा परमेश्‍वरको प्रतीक्षा गर्।

7व्यापारीले छलको तराजु प्रयोग गर्छ,
र त्यसले छल गर्न रुचाउँछ।
8एफ्राइमले घमण्डसित भन्छ,
“म अति धनी छु; म धनाढ्य भएको छु।
मेरा सबै धनसम्पत्तिले गर्दा तिनीहरूले
ममा कुनै अधर्म अथवा पाप भेट्टाउनेछैनन्।”

9“म याहवेह तेरा परमेश्‍वर हुँ,
जसले तँलाई इजिप्टबाट ल्याएको हुँ;
तेरा तोकिएका चाडहरूका दिनहरूमा झैँ
म तँलाई फेरि पालहरूमा बस्‍न लगाउनेछु।
10मैले अगमवक्ताहरूसँग कुरा गरेको छु,
तिनीहरूलाई धेरै दर्शनहरू पनि दिएको छु;
अनि तिनीहरूद्वारा दृष्‍टान्तहरू भनेको छु।”

11के गिलाद दुष्‍ट हो?
त्यहाँका मानिसहरू व्यर्थका छन्!
के तिनीहरूले गिलगालमा साँढेहरूको बलि चढाउँछन्?
तिनीहरूका वेदीहरू जोतिएका जमिनमा
थुपारिएका ढुङ्गाका थुप्राहरूजस्ता हुनेछन्।
12याकोब अराम
यो उत्तर-पश्‍चिमी मेसोपोटामिया हो।
देशमा भागेर गयो;
इस्राएलले पत्नी पाउनलाई सेवा गर्‍यो,
र तिनको ज्यालाको निम्ति भेडाहरू चरायो।
13याहवेहले इस्राएललाई इजिप्टबाट निकालेर ल्याउन
एक जना अगमवक्तालाई प्रयोग गर्नुभयो;
उहाँले एक जना अगमवक्ताद्वारा नै त्यसको हेरचाह गर्नुभयो।
14तर एफ्राइमले परमेश्‍वरलाई साह्रै रिस उठाएको छ;
त्यसले बगाएको रक्तपातको दोष याहवेहले त्यसैमाथि छोड्नुहुनेछ;
अनि त्यसले उहाँलाई गरेको अपमानको बदला लिनुहुनेछ।
Copyright information for NpiNCV