‏ Hosea 2

1“आफ्ना दाजुभाइहरूलाई ‘अम्मी’
अथवा मेरा मानिसहरू
र दिदीबहिनीहरूलाई ‘रूहामा’
अथवा मेरा प्रिय
भन्।

इस्राएलको दण्ड र पुनर्स्थापना

2“आफ्नी आमालाई हप्काओ, त्यसलाई हप्काओ;
किनकि त्यो मेरी पत्नी होइनँ,
र म पनि त्यसको पति होइनँ।
त्यसले आफ्नो अनुहारबाट व्यभिचारको रूप
र आफ्नो स्तनको बीचबाट विश्‍वासघातलाई हटाओस्।
3नत्रता म त्यसलाई वस्त्रहीन पार्नेछु,
र त्यसलाई जन्मेको दिनमा जस्तै नाङ्गै पार्नेछु;
म त्यसलाई मरुभूमिजस्तै बनाइदिनेछु;
त्यसलाई सुक्खा भूमिमा परिणत गरिदिनेछु,
र त्यसलाई तिर्खाले मार्नेछु।
4म त्यसका कुनै छोराछोरीहरूलाई दया देखाउनेछैनँ;
किनकि तिनीहरू व्यभिचारबाट जन्मिएका सन्तान हुन्।
5तिनीहरूकी आमाले विश्‍वासघात गरेकी छे,
र तिनीहरूलाई कलङ्कित अवस्थामा गर्भधारण गरेकी छे।
त्यसले भनी, ‘म मेरा प्रेमीहरूको पछि जानेछु,
जसले मलाई मेरो भोजन, पानी,
ऊन, सुती कपडा, तेल र दाखरस दिन्छन्।’
6यसकारण म त्यसको बाटो काँडाघारीले बन्द गरिदिनेछु;
त्यसले कुनै पनि बाटो नपाओस् भनेर म त्यसलाई पर्खालले बन्द गरिदिनेछु।
7त्यो आफ्ना प्रेमीहरूलाई पछ्याउँदै जानेछे,
तर त्यसले तिनीहरूलाई भेट्टाउन सक्दिन;
त्यसले प्रेमीहरूलाई खोज्नेछे, तर तिनीहरूलाई भेट्टाउनेछैन।
तब त्यसले भन्‍नेछे,
“म पहिलेझैँ मेरो पतिकहाँ फर्केर जानेछु;
किनकि अहिलेभन्दा त पहिलाको अवस्था नै राम्रो थियो।”
8त्यसले बुझेकै छैन,
त्यसलाई अन्‍न, नयाँ दाखरस र जैतुन तेल दिने म नै हुँ;
मैले त्यसलाई प्रशस्त सुन र चाँदी दिएँ,
तर त्यसले त्यो बाल-देवताको निम्ति प्रयोग गरी।

9“यसकारण जब मेरो अन्‍न पाक्छ,
र मेरो नयाँ दाखरस तयार हुन्छ, तब म लैजानेछु।
त्यसको नग्नता ढाक्नलाई तयार गरिएको
मेरो ऊन र मेरो सुती कपडा म खोसेर लैजानेछु।
10यसकारण अब म त्यसका प्रेमीहरूका आँखाको सामु
त्यसलाई नाङ्गो पारिदिनेछु;
कसैले त्यसलाई मेरो हातबाट छुटाउन सक्नेछैन।
11म त्यसका सबै उत्सवहरू:
त्यसका वार्षिक चाडहरू, त्यसका औँसीहरू,
त्यसका शब्बाथहरू; अनि त्यसका सबै तोकिएका चाडहरूको अन्त गर्नेछु।
12म त्यसका दाखहरू र नेभाराका बोटहरू नष्‍ट गरिदिनेछु,
जुन त्यसले आफ्ना प्रेमीहरूको सेवा गरेर मैले ज्याला पाएकी हुँ भनेकी छे;
म तिनीहरूलाई बाक्लो झाडी बनाइदिनेछु,
र जङ्गली जनावरहरूले ती खानेछन्।
13बाल-देवताहरूका निम्ति धूप बालेका हुनाले
म त्यसलाई दण्ड दिनेछु;
त्यसले आफूलाई गरगहनाहरूले सिँगारी,
र आफ्ना प्रेमीहरूको पछि लागी,
तर त्यसले मलाई बिर्सी, याहवेह घोषणा गर्नुहुन्छ।

14“यसकारण अब म त्यसलाई लोभ्याउन लागेको छु;
म त्यसलाई उजाडस्थानमा डोर्‍याउनेछु,
र त्यससँग मायालु कुरा गर्नेछु।
15त्यहाँ म त्यसलाई त्यसका दाखबारीहरू फर्काइदिनेछु,
र आकोरको
जसको अर्थ हो, दुःख
बेँसीलाई एउटा आशाको ढोका बनाइदिनेछु।
त्यहाँ त्यसले आफ्नो जवानीको दिनमा झैँ,
इजिप्टबाट निस्किआएको दिनमा झैँ गाउनेछे।”

16याहवेह घोषणा गर्नुहुन्छ,
“त्यस दिन तैँले मलाई ‘मेरो मालिक’;
भन्‍न छोडेर ‘मेरा पति’ भन्‍नेछस्।
17म त्यसको मुखबाट बाल-देवताहरूका नाम हटाइदिनेछु;
तिनीहरूका नामको उच्‍चारण फेरि कहिल्यै पनि हुनेछैन।
18त्यस दिन म तिनीहरूका निम्ति जङ्गलका जनावरहरू,
आकाशका चराचुरुङ्गीहरू
र जमिनमा हलचल गर्ने पशुप्राणीहरूसँग करार बाँध्नेछु।
म देशबाट धनु, तरवार
र युद्ध हटाइदिनेछु,
ताकि सबै जना सुरक्षित भएर विश्राम लिन सकून्।
19म तँलाई सदाका निम्ति पत्नी तुल्याउनेछु;
म तँलाई धार्मिकतामा र न्यायमा,
प्रेममा र दयामा दुलही बनाउनेछु।
20म तँलाई विश्‍वासयोग्यतामा दुलही बनाउनेछु;
अनि तैँले याहवेहलाई चिन्‍नेछस्।”

21याहवेह घोषणा गर्नुहुन्छ,
“त्यस दिन म जवाफ दिनेछु,
म आकाशलाई जवाफ दिनेछु,
र आकाशले पृथ्वीलाई जवाफ दिनेछ;
22अनि पृथ्वीले अन्‍नलाई;
नयाँ दाखरस र जैतुन तेललाई जवाफ दिनेछ,
र तिनीहरूले यिजरेललाई
जसको अर्थ हो, परमेश्‍वरको बिरुवा
जवाफ दिनेछन्।
23म त्यसलाई आफ्नै निम्ति त्यस देशमा रोप्नेछु;
मैले जसलाई ‘मेरो प्रिय होइनँ’ भनेको थिएँ, त्यसलाई प्रेम देखाउनेछु।
मैले जसलाई ‘मेरो जाति होइनँ,’ भनेको थिएँ,
त्यसलाई ‘तिमीहरू मेरा जाति हौ,’ भन्‍नेछु;
अनि तिनीहरूले भन्‍नेछन्, ‘तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ।’ ”
Copyright information for NpiNCV