‏ Isaiah 50

इस्राएलको पाप र सेवकको आज्ञाकारिता

1याहवेह यसो भन्‍नुहुन्छ:

“मैले तेरी आमासितै पठाइदिएको
त्यसको त्यागपत्र कहाँ छ?
अथवा तँलाई मैले
कुन ऋणदाताकहाँ बेचेँ?
तेरा पापहरूको कारण तँ बेचिएको थिइस्;
तेरा अर्धमहरूको कारण तेरी आमा पठाइएकी थिइन्।
2म आउँदा किन कोही थिएन?
मैले बोलाउँदा किन जवाफ दिने कोही मानिस थिएन?
के मेरो हात तँलाई छुटाउन नसक्ने गरी साह्रै छोटो थियो?
के तँलाई बचाउने शक्ति मसित छैन र?
मेरो एउटा हप्कीले म समुद्र सुकाउन सक्छु,
म नदीलाई मरुभूमि बनाउन सक्छु;
पानीको कमीले गर्दा माछाहरू कुहिन्छन्
र तिर्खाले मर्छन्।
3म आकाशलाई अन्धकारले ढाक्छु,
र भाङ्ग्रालाई त्यसको ओढ्ने बनाउँछु।”

4थाकेकाहरूलाई उत्साह दिने शब्द जान्‍नका निम्ति
प्रभु याहवेहले मलाई सिकाउने जिब्रो दिनुभएको छ।
उहाँले मलाई बिहानैपिच्छे बिउँझाउनुहुन्छ,
मेरो कानलाई सिक्नेलाई झैँ बिउँझाउनुहुन्छ।
5प्रभु याहवेहले मेरा कानहरू खोलिदिनुभएको छ,
म बागी भएको छैनँ;
म पछि हटेको छैनँ।
6मलाई पिट्नेहरूतिर मैले आफ्नो पिठिउँ नाङ्गो देखाइदिएँ,
मेरो दाह्री लुछ्नेहरूलाई मैले आफ्नो गाला फर्काइदिएँ;
गिल्‍ला र थुकाइदेखि
मैले आफ्नो अनुहार लुकाइनँ।
7प्रभु याहवेहले मलाई सहायता दिनुभएकोले
म अपमानित हुनेछैनँ।
यसकारण मैले आफ्नो अनुहारलाई चकमके ढुङ्गाझैँ स्थिर पारेको छु,
र म शर्ममा पर्नेछैनँ भनी जान्दछु।
8मलाई निर्दोष ठहराउनुहुने मेरो छेउमा हुनुहुन्छ।
यसकारण कसले मेरो विरुद्धमा अभियोग लगाउन सक्छ र?
हामी एक-आपसको सामना गरौँ!
मलाई दोष लगाउने को हो?
त्यसले मेरो सामना गरोस्!
9मलाई सहायता गर्नुहुने प्रभु याहवेह नै हुनुहुन्छ।
कसले मलाई दोषी ठहराउँछ?
तिनीहरू सबै लुगाझैँ थोत्रा भएर जानेछन्;
तिनीहरूलाई किराहरूले खाइदिनेछन्।

10तिमीहरूमा कसले याहवेहको डर मान्छ
र उहाँको सेवकका कुराहरू कसले पालन गर्छ?
अन्धकारमा हिँड्ने,
जससित ज्योति छैन,
याहवेहको नाममा विश्‍वास राखोस्,
र उसको परमेश्‍वरमाथि भरोसा राखोस्।
11तर अब तिमीहरू जसले आगो बाल्छौ,
र आफ्नो निम्ति जलिरहेको राँको प्रबन्ध गर्छौ,
जाओ र आफ्नो आगोका उज्यालोमा
तिमीहरूले बालेको राँकोको उज्यालोमा हिँड।
तिमीहरूले मेरो हातबाट यही पाउनेछौ;
तिमीहरू यातनामा रहिरहनेछौ।
Copyright information for NpiNCV