Job 11
सोपरको संवाद
1त्यसपछि सोपर नमातीले यस्तो जवाफ दिए: 2“के यी सबै कुराहरूका जवाफ छैन र?के धेरै बोल्ने मानिस निर्दोष प्रमाणित हुन सक्छ र?
3के तपाईंका व्यर्थका कुराहरूले अरूलाई चुप गराउँछ र?
के तपाईंले गिल्ला गर्दा कसैले तपाईंलाई नहप्काउनु र?
4तपाईंले परमेश्वरलाई भन्नुहुन्छ, ‘मेरो शिक्षा दोषरहित छ,
र तपाईंको दृष्टिमा म शुद्ध छु।’
5अहो, यदि परमेश्वर बोल्नुहुने भए,
उहाँले आफ्ना ओठ तपाईंको विरुद्धमा खोल्नुहुन्थ्यो,
6अनि तपाईंलाई बुद्धिका रहस्यहरू खोलिदिनुहुन्थ्यो;
किनकि साँचो बुद्धिका दुई पक्ष हुन्छन्।
यो कुरा बुझिराख्नुहोस्; परमेश्वरले तपाईंका केही पापहरू बिर्सिसक्नुभएको छ।
7“के तपाईंले परमेश्वरका रहस्यहरू बुझ्न सक्नुहुन्छ?
के तपाईंले सर्वशक्तिमान्को सीमाको जाँच गर्न सक्नुहुन्छ?
8ती स्वर्गभन्दा अति उच्च छन्; तपाईंले के गर्न सक्नुहुन्छ र?
ती पातालभन्दा धेरै गहिरा छन्; तपाईंले के पो जान्न सक्नुहुन्छ र?
9तिनीहरूका नाप पृथ्वीभन्दा लामा
र समुद्रभन्दा फराकिला छन्।
10“यदि उहाँले तपाईंलाई पक्रेर कैदमा राख्नुभयो भने,
र अदालतमा मुद्दाको लागि बोलाउनुभयो भने कसले उहाँको विरोध गर्न सक्छ र?
11निश्चय नै उहाँले छली मानिसहरूलाई चिन्नुहुन्छ;
र उहाँले दुष्टलाई देख्नुहुँदा, के उहाँले ख्यालै गर्नुहुन्न र?
12जसरी जङ्गली गधाले मानिस जन्माउन सक्दैन,
त्यसरी नै मूर्ख मानिस कहिल्यै बुद्धिमान् हुन सक्दैन।
13“तरै पनि यदि तपाईंको हृदय उहाँलाई समर्पित गर्नुभयो भने,
र तपाईंका हातहरू उहाँतिर पसार्नुभयो भने,
14यदि तपाईंका हातका अधर्मलाई त्यागिदिनुभयो,
र तपाईंको पालमा दुष्टतालाई कुनै ठाउँ दिनुभएन भने,
15तब तपाईंले निःसंकोच आफ्नो अनुहार उठाउनुहुनेछ;
तपाईं दह्रिलो भई खडा हुनुहुनेछ, र डराउनुहुने छैन।
16निश्चय नै तपाईंले आफ्नो दुःखलाई
बगेर गएको पानीजस्तो ठानी बिसर्नुहुनेछ।
17तपाईंको जीवन मध्यदिनको उज्यालोभन्दा चम्किलो हुनेछ;
र अन्धकारचाहिँ बिहानजस्तै हुनेछ।
18अनि आशा भएको कारण सुरक्षित हुनुहुनेछ;
हो, तपाईं ढुक्क हुनुहुनेछ र सुरक्षासाथ निदाउनुहुनेछ।
19तपाईं आनन्दसाथ ढल्किनुहुनेछ, कसैले तपाईंलाई भयभीत पार्नेछैन;
र धेरैले तपाईंको निगाह चाहनेछन्।
20तर दुष्टहरूका आँखा कमजोर हुनेछन्;
र तिनीहरूले उम्कने बाटो पाउनेछैनन्;
अन्तिम सास लिनु नै तिनीहरूको आशा हुनेछ।”
Copyright information for
NpiNCV