Joshua 15
यहूदाको भाग
1यहूदा कुलको भाग तिनीहरूको वंशअनुसार एदोमको इलाकासम्म थियो। सुदूर दक्षिणमा जीनको उजाडस्थानसम्म फैलिएको थियो। 2तिनीहरूको दक्षिणी सिमाना मृत सागरको अन्तिम भागमा भएको खाडीदेखि सुरु भएर, 3अक्रब्बीमको घाटी पार गर्दै जीनतिर लागेर कादेश-बर्नेको दक्षिणसम्म पुगेको थियो। त्यसपछि त्यो हेस्रोनलाई छिचोलेर अद्दारसम्म पुगेको थियो; र कर्काको चारैतिर घुमेको थियो। 4त्यसपछि त्यो अज्मोनतिर लागेर इजिप्टको बेँसीमा जोडिएर महासागरमा अन्त्य भएको थियो। यो तिनीहरूको दक्षिणी सिमाना हो।5पूर्वीय सिमाना मृत सागरदेखि यर्दनको मुखैसम्म पर्थ्यो।
उत्तरी सिमाना यर्दनको खाडीबाट सुरु हुन्थ्यो, 6जुन बेथ-होग्लासम्म पुगेर अगि बढ्दै बेथ-अराबामा गएर रूबेनको छोरो बोहनको ढुङ्गासम्म पुग्थ्यो। 7त्यसपछि आकोरको बेँसीबाट दबीरसम्म पुगेर दक्षिणतिर अदुम्मीमको घाटीतिर फर्केर उत्तरतिर गिलगालको सिमानासम्म पुगेको थियो। त्यो एन-शेमेशको पानीतिर बढेर एन-रोगेलबाट निस्केको थियो। 8त्यसपछि त्यो यबूसी सहर (अर्थात्, यरूशलेम) को भिरालो ठाउँको दक्षिणमा भएको बेन-हिन्नोमको बेँसीमा पुगेको थियो। त्यहाँबाट त्यो सिमाना रपाईको बेँसीको अन्त्य उत्तरपट्टि हिन्नोम बेँसीको पहाडसम्म पुगेको थियो। 9पहाडको टुप्पोबाट सिमाना अगि बढ्दै नेप्तोहको पानीको मूलतिर लागेर एप्रोन पर्वतको सहरहरूमा निस्केर बालातिर (अर्थात्, किर्यत-यारीम) तल झरेको थियो। 10त्यसपछि त्यो सिमाना बालाबाट पश्चिमतिर घुमेर सेइर पर्वतहुँदै, यारिम पर्वत (अर्थात्, कशालोन) को उत्तरतिर ओरालो गएर तिम्नासम्म पुगेको थियो। 11त्यो एक्रोनको उत्तरतिरको ओरालो गएर शिक्करोनतिर पुगेर बाला डाँडाबाट हुँदै यब्नेल पुगेको थियो। त्यो सिमाना महासागरमा समाप्त भएको थियो। 12पश्चिमी सिमाना महासागरको किनार थियो।
यहूदाका मानिसहरू तिनीहरूका वंशअनुसार चारैतिरका सिमानाहरू यिनै हुन्। 13याहवेहले यहोशूलाई दिनुभएको आज्ञाअनुसार तिनले यपून्नेको छोरो कालेबलाई यहूदामा एक भाग दिए, किर्यत-अर्बा अर्थात् हेब्रोनलाई दिए। (अर्बाचाहिँ अनाकका पुर्खा थिए।) 14हेब्रोनबाट कालेबले तीन जना अनाकीहरू अर्थात् अनाकका छोराहरू, शेशै, अहीमन र तल्मैलाई धपाइदिए। 15त्यहाँबाट तिनले दबीरमा (पहिले किर्यत-सेपेर भनिन्थ्यो) बस्ने मानिसहरूको विरुद्धमा युद्ध गरे। 16अनि कालेबले भने, “म मेरी छोरी अक्साको विवाह किर्यत-सेपेरमाथि आक्रमण गरेर जित्ने मानिससँग गरिदिनेछु।” 17कालेबको भाइ कनजका छोरा ओत्निएलले त्यसलाई जित्यो। अनि कालेबले आफ्नी छोरी अक्सालाई ओत्निएलसँग विवाह गरिदिए। 18एक दिन तिनी ओत्निएलकहाँ जाँदा तिनले ▼
▼अथवा ओत्नियलले
आफ्नो पिताबाट एउटा जमिन माग्न भनी उनलाई सुर्याए। अक्सा आफ्नो गधाबाट ओर्लेपछि कालेबले तिनलाई सोधे, “म तिम्रा निम्ति के गर्न सक्छु?” 19तिनले जवाफ दिइन्, “ममाथि एउटा विशेष कृपा गर्नुहोस्। तपाईंले मलाई दक्षिणमा एउटा जमिन दिनुभएको हुनाले मलाई पानीका मूलहरू पनि दिनुहोस्।” तब कालेबले तिनलाई माथिल्ला र तलका पानीका मूलहरू दिए। 20यहूदाको कुलको वंशअनुसार तिनीहरूका उत्तराधिकारको भाग यिनै हुन्: 21एदोमको सिमानातिर यहूदाको कुलको सुदूर दक्षिणतिरका सहरहरू यिनै हुन्:कब्सेल, एदेर, यागूर, 22कीना, दीमोना, अदादा, 23केदेश, हासोर, यित्नान, 24जीप, तेलेम, बालोत, 25हासोर-हादत्ता, किर्योत-हेस्रोन (अर्थात् हासोर), 26अमाम, शेमा, मोलादा, 27हसर-गद्दा, हेश्मोन, बेथ-पेलेत, 28हसर-शूआल, बेर्शेबा, बिज्योत्या, 29बाला, ईम, एसेम, 30एल्तोलद, कसील, होर्मा, 31सिक्लग, मदमन्ना, सन्सन्ना, 32लबाओत, शिल्हीम, ऐन र रिम्मोन—जम्मा उनन्तीस वटा सहरहरू र तिनीहरूका गाउँहरू। 33पश्चिमी फेदीमा:
एश्तोल, सोरा, अश्ना, 34जानोह, एन-गन्नीम, तप्पूह, एनाम, 35यर्मूत, अदुल्लाम, सोको, अजेका, 36शारैम, अदीतैम र गदेरा, (गदेरोतेम), जम्मा चौध वटा सहरहरू र तिनीहरूका गाउँहरू।
37सनान, हदाशा, मिग्दल-गाद, 38दिलान, मिस्पा, योक्तेल, 39लाकीश, बोस्कत, एग्लोन, 40कोब्बन, लहमास, कितलीश, 41गदेरोत, बेथ-दागोन, नामा र मक्केदाका—सोह्र वटा सहरहरू र तिनीहरूका गाउँहरू।
42लिब्ना, एतेर, आशान, 43यिप्ताह, अश्ना, नसीब, 44कीलाह, अक्जीब र मारेशा—जम्मा नौ वटा सहरहरू र तिनीहरूका गाउँहरू।
45एक्रोन र त्यसका चारैतिरका बस्तीहरू र गाउँहरू; 46एक्रोनको पश्चिम र अश्दोदका सबै सहरहरूसँगै तिनीहरूका गाउँहरू। 47अश्दोद र त्यसका चारैतिरका बस्तीहरू र गाउँहरू; गाजा, त्यसका सहरहरू र बस्तीहरूसमेत, इजिप्टको बेँसीसम्म र महासागरको किनारसम्म। 48पहाडी मुलुकमा:
शामीर, यत्तीर, सोको, 49दन्ना, किर्यत-सन्ना (अर्थात् दबीर), 50अनाब, एश्तमोह, अनीम, 51गोशेन, होलोन र गीलोह—एघार वटा सहरहरू र तिनीहरूका गाउँहरू।
52अरब, दुमा, एशान, 53यानीम, बेथ-तप्पूह, अपेका, 54हुम्ता, किर्यत-अर्बा (अर्थात्, हेब्रोन) र सीओर—नौ वटा सहरहरू र तिनीहरूका गाउँहरू।
55माओन, कर्मेल, जीप, युत्ता, 56यिजरेल, योक्दाम, जानोह, 57कैन, गेबा र तिम्ना—दश वटा सहरहरू र तिनीहरूका गाउँहरू।
58हलहूल, बेथ-सूर, गदोर, 59मारात, बेथ-अनोत र एल्तकोन—छ वटा सहरहरू र तिनीहरूका गाउँहरू।
60किर्यत-बाल (अर्थात्, किर्यत-यारीम) र रब्बा—दुई वटा सहरहरू र तिनीहरूका गाउँहरू। 61उजाडस्थानमा:
बेथ-अराबा, मिद्दीन, सेकाका, 62नुनको सहर निब्शान र एन-गदी—छ वटा सहरहरू र तिनीहरूका गाउँहरू।
63यहूदाका मानिसहरूले यरूशलेममा बस्ने यबूसीहरूलाई धपाउन सकेनन्। ती यबूसीहरू आजको दिनसम्म यहूदाका मानिसहरूसँग बस्छन्।
Copyright information for
NpiNCV