‏ Judges 12

यिप्‍ता र एफ्राइम

1एफ्राइमका मानिसहरूले आफ्नो सैन्यदललाई बोलाए र सापोन पार गरे। तिनीहरूले यिप्‍तालाई भने, “अम्मोनीहरूसित लडाइँ गर्न जाँदा हामीलाई नबोलाई तपाईं किन जानुभयो? हामी तपाईंलाई तपाईंको घरसहित जलाइदिनेछौँ।”

2यिप्‍ताले जवाफ दिए, “म र मेरा मानिसहरू अम्मोनीहरूसितको ठूलो सङ्घर्षमा व्यस्त थियौँ, र मैले तिमीहरूलाई बोलाए तापनि तिमीहरूले मलाई तिनीहरूका हातबाट बचाएनौ। 3जब मैले तिमीहरूबाट केही सहायता नपाउने रहेछु भनी देखेँ, तब आफ्नो प्राण हत्केलामा लिएर म तिनीहरूसित लडाइँ गर्न पारि गएँ। अनि याहवेहले मलाई तिनीहरूमाथि विजय दिनुभयो। अब किन तिमीहरू आज मसित लडाइँ गर्न आइरहेका छौ?”

4त्यसपछि यिप्‍ताले गिलादका मानिसहरूलाई भेला गरे। अनि एफ्राइमको विरुद्धमा लडाइँ गरे। गिलादीहरूले तिनीहरूलाई पराजित गरिदिए; किनकि एफ्राइमीहरूले भनेका थिए, “तिमी गिलादीहरू त एफ्राइम र मनश्शेका शरणार्थी हौ।” 5गिलादीहरूले एफ्राइमतिर जाने यर्दनको किल्‍ला कब्जा गरे। अनि जहिले पनि एफ्राइमका बाँचेका कसैले “मलाई पारि जान देओ” भन्दा गिलादका मानिसहरूले त्यसलाई सोध्थे, “के तिमी एफ्राइमी हौ?” यदि त्यसले “होइन” भन्यो भने, 6तिनीहरूले भन्थे, “ठिक छ, ‘शिब्बोलेत’ भन।” यदि त्यसले त्यो शब्द ठिकसित उच्‍चारण गर्न नसकेर “सिब्बोलेत” भन्यो भने तिनीहरूले त्यसलाई पक्रेर यर्दनको किल्‍लामा मारिदिन्थे। त्यस बेला एफ्राइमका बयालीस हजार मानिसहरू मारिए।

7यिप्‍ताले इस्राएलमाथि छ वर्षसम्म नेतृत्व
परम्परागत रूपमा न्याय; 8‑14 पदहरूमा पनि
गरे। त्यसपछि गिलादी यिप्‍ता मरे, र तिनी गिलादको एउटा सहरमा गाडिए।

इब्सान, एलोन र अब्दोन

8तिनीपछि बेथलेहेमका इब्सानले इस्राएलीहरूलाई नेतृत्व गरे। 9तिनका तीस जना छोरा र तीस जना छोरी थिए। तिनले आफ्नी छोरीहरूका विवाह आफ्नो वंशभन्दा बाहिर गरिदिए। अनि आफ्ना छोराहरूका पत्नीहरू आफ्नो वंशभन्दा बाहिरका तीस जना जवान स्त्रीहरू ल्याए। इब्सानले इस्राएललाई सात वर्षसम्म नेतृत्व गरे। 10त्यसपछि इब्सान मरे, र तिनी बेथलेहेममा गाडिए।

11तिनीपछि जबूलूनी एलोनले इस्राएलमाथि दश वर्षसम्म नेतृत्व गरे। 12त्यसपछि एलोन मरे, र जबूलून देशमा भएको अय्यालोनमा गाडिए।

13तिनीपछि पिरातोनी हिल्‍लेलका छोरा अब्दोन इस्राएलको नेतृत्व गरे। 14तिनका चालीस जना छोरा र तीस जना नाति थिए, जो सत्तरी वटा गधाहरूमाथि सवार हुन्थे। तिनले इस्राएललाई आठ वर्षसम्म नेतृत्व गरे। 15त्यसपछि हिल्‍लेलका छोरा अब्दोन मरे, र अमालेकीहरूको पहाडी देशमा एफ्राइमको पिरातोनमा गाडिए।

Copyright information for NpiNCV