Judges 18
दानवंशीहरू लेशमा बसोबास गर्न थालेका
1ती दिनहरूमा इस्राएलमा कुनै राजा थिएनन्। अनि ती दिनहरूमा दानवंशीहरूले बसोबास गर्नलाई आफ्नै ठाउँ खोजिरहेका थिए। किनकि तिनीहरू इस्राएलका कुलहरूको बीचमा आफ्नै उत्तराधिकारमा आइपुगेका थिएनन्। 2यसकारण दानवंशीहरूले सोरा र एश्तोलबाट त्यो ठाउँ जासुसी गर्न र भेद लिनका लागि पाँच जना योद्धाहरूलाई पठाए। यी मानिसहरूले तिनीहरूका सबै वंशको प्रतिनिधित्व गर्दथे। तिनीहरूले यिनीहरूलाई यसो भनेका थिए, “जाओ, गएर देशको भेद लेओ।” यसकारण ती मानिसहरू एफ्राइमको पहाडी मुलुकमा आइपुगे, र मीकाको घरमा आएर रात बिताए। 3जब तिनीहरू मीकाको घरको छेउनिर पुगे, तब तिनीहरूले त्यस जवान लेवीको सोर चिने। यसकारण तिनीहरू त्यतैतिर पुगेर तिनलाई सोधे, “तिमीलाई यहाँ कसले ल्यायो? तिमी यो ठाउँमा के गर्दैछौ? तिमी यहाँ किन छौ?” 4तिनले आफूलाई मीकाले के गरेका थिए, त्यो तिनीहरूलाई भनिदिए, र भने, “तिनले मलाई ज्यालामा लिएका छन्। म तिनको पुजारी भएको छु।” 5तब उनीहरूले तिनलाई भने, “कृपया हाम्रो यात्रा सफल हुन्छ कि हुँदैन? परमेश्वरसित सोधिदेऊ।” 6ती पुजारीले तिनीहरूलाई जवाफ दिए, “शान्तिसित जाओ। तिमीहरूको यात्रालाई याहवेहले समर्थन गर्नुभएको छ।” 7यसकारण ती पाँच जना मानिसहरू त्यस ठाउँलाई छोडेर लेशमा आए, र त्यहाँका मानिसहरूलाई सुरक्षामा रहेका सीदोनीहरूझैँ शान्त र सुरक्षित देखे। तिनीहरूको देशमा केही अभाव नभएको कारण तिनीहरूले उन्नति गरेका थिए। तिनीहरू सीदोनीहरूभन्दा टाढा पनि थिए, र अरू कसैसित तिनीहरूको केही सम्बन्ध पनि थिएन। 8तिनीहरू सोरा र एश्तोलमा फर्किआएपछि तिनीहरूका दाजुभाइहरूले “तिमीहरूले के-के भेट्यौ?” भनी तिनीहरूलाई सोधे। 9तिनीहरूले जवाफ दिए, “जाऔँ, हामी तिनीहरूमाथि कब्जा गरौँ! हामीले त्यो देश देख्यौँ। त्यो अति नै राम्रो रहेछ। तपाईंहरू किन चुपचाप बसिरहनुहुन्छ? त्यहाँ गएर त्यसलाई कब्जा गर्न बियाँलो नगर्नुहोस्! 10जब तपाईंहरू त्यहाँ पुग्नुहुनेछ, तब निस्फिक्रीसाथ बसेका मानिसहरू र फराकिलो ठाउँ देख्नुहुनेछ। किनकि परमेश्वरले त्यो तपाईंहरूको हातमा दिनुभएको छ, अर्थात् यस्तो देश, जसमा कुनै पनि कुराको अभाव छैन।” 11तब दानको वंशबाट छ सय मानिसहरू लडाइँका निम्ति हतियार भिरेर सोरा र एश्तोलबाट निस्के। 12बाटोमा तिनीहरूले यहूदाको किर्यत-यारीममा छाउनी हाले। यसैकारण किर्यत-यारीमको पश्चिमतिरको ठाउँलाई आजको दिनसम्म महनेन-दान ▼▼महनेन-दान अथवा दानको छाउनी
भनिन्छ। 13त्यहाँबाट तिनीहरू एफ्राइमको पहाडी मुलुकमा गए, र मीकाको घरमा आए। 14तब लेश देशको भेद लिने ती पाँच जना मानिसहरूले आफ्ना दाजुभाइहरूलाई भने, “के यी घरहरूमध्ये एउटामा एपोद, अरू घर-देवताहरू, एउटा खोपिएको आकृति र एउटा ढालेर बनाएको मूर्ति छन् भनेर तिमीहरूलाई थाहा छ? अब के गर्नुपर्ने हो, त्यो तिमीहरू जान्दछौ।” 15यसकारण तिनीहरू त्यहाँ गए, र मीकाको ठाउँमा भएको त्यस जवान लेवीको घरमा गएर तिनलाई अभिवादन गरे। 16छ सय दानवंशीहरूचाहिँ युद्धका निम्ति हतियार भिरेर मूलढोकाको प्रवेशद्वारमा उभिए। 17त्यस देशको भेद लिने ती पाँच जना मानिसहरू घरभित्र पसे, र खोपिएको आकृति, एपोद, अरू घर-देवताहरू लिए। अनि ती पुजारीहरू र छ सय हतियार भिरेका मानिसहरू मूलढोकाको प्रवेशद्वारमा उभिरहे। 18जब ती मानिसहरूले मीकाको घरमा गएर खोपिएको आकृति, एपोद, अरू घर-देवताहरू र ढालेर बनाएको मूर्ति लिए, तब ती पुजारीले तिनीहरूलाई भने, “तपाईंहरू के गर्दै हुनुहुन्छ?” 19तब तिनीहरूले तिनलाई जवाफ दिए, “चुप लाग्नुहोस्! एक शब्द पनि नबोल्नुहोस्! हामीसित आएर हाम्रा बुबा र पुजारी हुनुहोस्! के एउटा मानिसको घरमा सेवा गर्नुभन्दा इस्राएलमा कुल र वंशकहाँ पुजारीको रूपमा सेवा गर्नु तपाईंलाई असल होइन र?” 20तब ती पुजारी खुशी भए। तिनी एपोद, घर-देवताहरू र खोपिएको आकृति लिएर ती मानिसहरूसित गइहाले। 21तिनीहरूका साना छोराछोरीहरू, तिनीहरूका गाईबस्तु र सरसामानहरू आफ्ना अगि लगाएर तिनीहरू फर्केर गइहाले। 22तिनीहरू मीकाको घरदेखि केही टाढा पुगेपछि मीकाका छिमेकीहरू एकसाथ भेला भए; अनि तिनीहरूले उनीहरूलाई खेदेर भेट्टाए। 23तिनीहरूले उनीहरूलाई कराएर बोलाउँदा ती दानवंशीहरूले मीकालाई भने, “तिमीहरूलाई के भयो, र तिमीहरूले आफ्ना मानिसहरूलाई किन लडाइँका लागि बोलायौ?” 24तिनले जवाफ दिए, “तपाईंले मैले बनाएका देवी-देवताहरू र मेरा पुजारीलाई लैजानुभयो। अब मसित अरू के रह्यो र? तपाईंहरूले ‘तिमीहरूलाई के भयो?’ भनेर कसरी सोध्न सक्नुहुन्छ?” 25दानवंशीहरूले जवाफ दिए, “हामीसित तर्क नगर। नत्रता केही रिसाहा मानिसहरूले तिमीमाथि आक्रमण गर्लान्, र तिमी र तिम्रो परिवारले आफ्ना प्राण गुमाउनुपर्ला!” 26यसकारण दानवंशीहरू आफ्नो बाटो लागे, र तिनीहरू आफूभन्दा धेरै बलिया देखेर मीका फर्केर घरतिर लागे। 27तब तिनीहरूले मीकाले बनाएका चीजहरू अनि तिनको पुजारीलाई लिएर शान्तिप्रिय र निस्फिक्री मानिसहरूका विरुद्धमा लेशमा गए। तिनीहरूले उनीहरूमाथि तरवारले आक्रमण गरे, र तिनीहरूको त्यो सहर आगोले जलाइदिए। 28तिनीहरूलाई छुटाउने कोही थिएनन्। किनकि तिनीहरू सीदोनदेखि धेरै टाढा बस्थे। अनि अरू कसैसित पनि तिनीहरूको सम्बन्ध थिएन। त्यो सहर बेथ-रेहोबको छेउमा भएको बेँसीमा थियो। दानवंशीहरूले त्यस सहरलाई पुनर्निर्माण गरे, र त्यहीँ बसोबास गर्न लागे। 29त्यस सहरलाई लेश भनिए तापनि तिनीहरूका पुर्खा दानको नाममा दान भनी राखे। 30त्यहाँ दानवंशीहरूले ती मूर्तिहरू खडा गरे; अनि मोशाका ▼▼केही प्राचीन पा.लि.हरूमा मनाश्शे
छोरा, गेर्शोमका छोरा जोनाथन र तिनका छोराहरूचाहिँ देश कैदमा नलगिएसम्म दानको कुलका पुजारीहरू भएर बसे। 31परमेश्वरको घर शीलोमा भइरहेसम्म तिनीहरूले मीकाले बनाएका मूर्तिहरू प्रयोग गरिरहे।
Copyright information for
NpiNCV