Lamentations 2
1प्रभुले आफ्नो रिसको बादललेकसरी सियोनकी छोरीलाई ढाकिदिनुभएको छ!
उहाँले इस्राएलको स्वर्गीय गौरवलाई
तल पृथ्वीमा खसालिदिनुभएको छ;
उहाँले आफ्नो रिसको दिनमा
आफ्नो पाउदानलाई सम्झनुभएन।
2प्रभुले याकोबका सबै वासस्थानहरूलाई
दया नदेखाई नष्ट पार्नुभयो;
उहाँले आफ्नो रिसमा यहूदाका छोरीका
बलिया किल्लाहरू ध्वस्त गर्नुभयो।
उहाँले त्यसको राज्य र त्यसका राजकुमारलाई
भुइँको धुलोसँग मिलाएर अपमानित तुल्याउनुभयो।
3उहाँको डरलाग्दो क्रोधमा इस्राएलको
सबै शक्तिलाई उहाँले नष्ट पार्नुभयो।
उहाँले इस्राएलीहरूको शत्रु नजिक आइपुग्दा,
आफ्नो सहयोगी हात पछिल्तिर सार्नुभयो।
उहाँ याकोबमाथि दन्केको आगोझैँ दन्कनुभयो,
जसले वरिपरिका सबै कुरा भस्म पार्यो।
4उहाँले शत्रुले जस्तै आफ्नो धनुमा ताँदो चढाउनुभएको छ;
निशाना लगाउन उहाँको दाहिने हात तयार छ।
उहाँले आफ्ना नजरमा प्रिय ठानेकाहरूलाई
शत्रुलाई झैँ संहार गर्नुभयो;
उहाँले सियोनकी छोरीको पालमा
आफ्नो रिस आगोजस्तै बर्साउनुभएको छ।
5प्रभु शत्रुजस्तै बन्नुभएको छ;
उहाँले इस्राएललाई निल्नुभएको छ।
उहाँले यरूशलेमका सबै महलहरू नष्ट गर्नुभएको छ;
अनि त्यसका किल्लाहरू भत्काइदिनुभएको छ।
यहूदाका छोरीको निम्ति उहाँले शोक
र विलाप बढाइदिनुभएको छ।
6उहाँले आफ्नो यरूशलेमको बासस्थानलाई बगैँचाको छाप्रोलाई झैँ भत्काइदिनुभएको छ;
अनि उहाँले आफ्नो सभाको स्थानलाई नष्ट पारिदिनुभएको छ।
याहवेहले सियोनबाट तोकिएका
चाडहरू र शब्बाथहरूको सम्झना मेटिदिनुभएको छ;
उहाँले आफ्नो डरलाग्दो क्रोधमा राजा र पुजारी
दुवैलाई तिरस्कार गर्नुभएको छ।
7प्रभुले आफ्नो वेदीलाई इन्कार गर्नुभएको छ,
र आफ्नो पवित्रस्थानलाई त्याग्नुभएको छ।
उहाँले त्यसका महलका पर्खालहरू
शत्रुका हातमा दिनुभएको छ;
तिनीहरूले तोकिएको चाडको दिनमा झैँ
याहवेहको भवनमा उत्सवको उच्च आवाज उठाएका छन्।
8याहवेहले सियोनको छोरीका वरिपरिको
पर्खाल भत्काउने अठोट गर्नुभयो।
उहाँले एउटा नाप्ने फित्ताले नाप लिनुभयो
र त्यसलाई नष्ट गर्न आफ्नो हातलाई रोक्नुभएन।
उहाँले किल्लाहरू र पर्खालहरूलाई विलाप गर्न लगाउनुभयो;
अनि ती पर्खालहरू एकैसाथ ढले।
9त्यसका मूलढोकाहरू जमिनमा भासिए;
त्यसका गजबारहरू भत्काएर नष्ट पारिए।
त्यसका राजा र राजकुमारहरू गैरयहूदीहरूका बीचमा निर्वासित भएका छन्।
अब व्यवस्था रहँदैन,
न त तिनीहरूका अगमवक्ताहरूले
याहवेहबाट कुनै दर्शन नै पाउँछन्।
10सियोनका छोरीका धर्मगुरुहरू
चुपचाप भुइँमा बसेका छन्;
तिनीहरूले आफ्ना शिरमा धुलो छरेका छन्,
र भाङ्ग्राका वस्त्र पहिरिएका छन्।
यरूशलेमका कुमारीहरूले
आफ्नो शिर भुइँतिर झुकाएका छन्।
11मेरा आँखा रुँदा-रुँदा टट्टाइसकेका छन्,
मेरो प्राण मभित्र व्याकुल छ;
मेरो हृदय छिया-छिया भएको छ;
किनकि मेरा मानिसहरू नष्ट भएका छन्;
अनि बालबालिकाहरू र दुधे बच्चाहरू
सहरका गल्लीहरूमा बेहोश भएका छन्।
12जब तिनीहरू गल्लीहरूमा
घाइते ढलेझैँ ढल्छन्,
जब तिनीहरूको प्राण
आफ्ना आमाका काखमा शिथिल हुन्छन्,
तब आफ्ना आमाहरूलाई यसो भन्छन्,
“खोइ, भोजन र दाखमद्य कहाँ छन्?”
13हे यरूशलेमकी छोरी,
तँलाई म के भनूँ?
म तँलाई केसँग तुलना गरूँ?
हे सियोनकी कुमारी छोरी,
म तँलाई केसँग तुलना गरूँ?
ताकि म तँलाई सान्त्वना दिन सकूँ?
तेरो विनाशको चोट सागरझैँ गहिरो छ।
तँलाई कसले निको पार्न सक्ला?
14तिमीहरूका अगमवक्ताहरूका दर्शनहरू
झूटा र व्यर्थका थिए;
तँलाई कैदमा जानबाट जोगाउनलाई
तिनीहरूले तेरो पाप प्रकट गरिदिएनन्।
बरु तिनीहरूले तेरा लागि
झूटो र भ्रामक ईश्वरवाणी गरे।
15तेरो बाटो छेउभएर जाने मानिसहरू
सबैले तँलाई खिसी गर्दै ताली बजाउँछन्;
यरूशलेमकी छोरीको विरुद्ध खिसी गर्दै
टाउको हल्लाउँछन्:
“के यो त्यही सहर हो,
जसलाई अति सुन्दर
र सारा पृथ्वीको आनन्द भनेर चिनिन्थ्यो?”
16तेरा सबै शत्रुहरू आफ्ना मुख
खोलेर तेरो विरुद्धमा बोल्छन्;
तिनीहरूले खिसी गर्छन्; आफ्ना दाह्रा किट्छन्,
र भन्छन्, “हामीले त्यसलाई निलिसक्यौँ।
हामीले प्रतीक्षा गरेको दिन यही हो;
हामी यो दिन हेर्नलाई नै बाँचेका थियौँ।”
17याहवेहले जे योजना गर्नुभएको थियो;
उहाँले त्यही आफ्नो वचन पूरा गर्नुभएको छ,
जुन वचन उहाँले धेरै समयअगि घोषणा गर्नुभएको थियो।
उहाँले तँलाई दयाविना ध्वस्त गर्नुभएको छ;
उहाँले तेरा शत्रुहरूलाई तँमाथि रमाउन दिनुभएको छ,
र उहाँले तेरा शत्रुहरूका सिङ ▼
▼सिङ यहाँ शक्ति भन्ने जनाउँछ।
उच्च पारिदिनुभएको छ।18मानिसका हृदयले
प्रभुलाई चर्को सोरले पुकार्दछन्।
हे सियोनकी छोरीको पर्खाल,
तेरो आँसु नदीझैँ
दिनरात बगोस्;
तैँले आफूलाई अलिकति पनि विश्राम नदे!
अनि आफ्ना आँखाहरूलाई पनि आराम नदे।
19जब रातको पहिलो पहर सुरु हुन्छ,
तब रातभरि उठेर करा;
तेरो हृदय पानीझैँ
प्रभुको उपस्थितिमा पोख्।
तेरा बालबालिकाको जीवनको निम्ति
आफ्ना हातहरू उहाँतिर उठा,
ती बालकहरू, जो हरेक गल्लीका मोडमा
भोकले मूर्च्छा परेका छन्।
20“हे याहवेह हेर्नुहोस् र विचार गर्नुहोस्:
तपाईंले कोसँग यस्तो व्यवहार गर्नुभएको छ?
के स्त्रीहरूले आफ्ना सन्तानहरूलाई,
आफूले स्याहारेका आफ्नै गर्भका फलहरूलाई खाऊन्?
के प्रभुका पवित्रस्थानका पुजारीहरू
र अगमवक्ताहरू दुवै मारिऊन्?
21“बुढापाका र जवानहरू सडकको धुलोमा
एकसाथ लडिरहेका छन्;
मेरा जवान केटा र केटीहरू
शत्रुका तरवारले मारिएका छन्।
तपाईंको क्रोधको दिनमा तपाईंले तिनीहरूलाई मार्नुभएको छ;
तपाईंले तिनीहरूलाई नटिठ्याई मार्नुभएको छ।
“तपाईंले चाडको दिनमा मानिसहरूलाई बोलाएझैँ,
तपाईंले चारैतिरबाट मेरो विरुद्धमा त्रास निम्त्याउनुभयो।
याहवेहको क्रोधको दिनमा
कोही पनि भाग्न वा बाँच्न सकेनन्;
जसलाई मैले हुर्काएँ र स्याहारेँ;
तिनीहरूलाई मेरा शत्रुहरूले सर्वनाश गरेका छन्।”
22
Copyright information for
NpiNCV