Micah 5
बेथलेहेमबाट प्रतिज्ञा गरिएको शासक
1हे सेनाको सहर, आफ्ना सेनाहरूलाई भेला गर्;किनकि हाम्रो विरुद्धमा घेरा हालिएको छ।
तिनीहरूले इस्राएलका शासकको
गालामा डण्डाले हिर्काउनेछन्।
2“तर तँचाहिँ, हे बेथलेहेम एप्राता,
यद्यपि तँ यहूदाको घरानामा सबैभन्दा सानो छस्,
तर तँबाट मेरा निम्ति एक जना निस्केर आउनुहुनेछ,
जसले इस्राएलमाथि शासन गर्नुहुनेछ,
जसको सुरु पुरानो समयदेखि,
प्राचीनकालदेखि नै छ।”
3यसकारण तबसम्म इस्राएल त्यागिनेछ,
जबसम्म प्रसव-वेदनामा परेकी स्त्रीले एउटा पुत्र जन्माउदिन,
र त्यसका बाँकी रहेका दाजुभाइहरू
इस्राएलीहरूसँग मिल्न आउँदैनन्।
4याहवेहको शक्तिमा,
याहवेह आफ्ना परमेश्वरको महिमित नाममा
उहाँ खडा हुनुहुनेछ र आफ्ना भेडाका बगाललाई चराउनुहुनेछ।
अनि तिनीहरू सुरक्षित रहनेछन्;
त्यसपछि उनको महानता पृथ्वीको अन्त्यसम्म पुग्नेछ।
5अनि उहाँ हाम्रा शान्तिका परमेश्वर हुनुहुनेछ,
जब अश्शूरीहरूले हाम्रो देशमाथि आक्रमण गर्छन्,
र हाम्रा किल्लाहरूबाट भएर यात्रा गर्छन्।
हामी तिनीहरूका विरुद्धमा सात जना गोठालाहरू,
र आठ जना अगुवाहरूलाई पनि खडा गर्नेछौँ।
6तिनीहरूले अश्शूर देशलाई तरवारले शासन गर्नेछन्;
निम्रोदको देशलाई नाङ्गो तरवारले शासन गर्नेछन्।
जब अश्शूरीहरू हाम्रो देशलाई आक्रमण गर्न,
र हाम्रा सिमानाहरू मिच्न आउनेछन्,
तब उहाँले हामीलाई तिनीहरूका हातबाट छुटाउनुहुनेछ।
7याकोबका बाँकी रहेकाहरू
धेरै जातिहरूका बीचमा हुनेछन्;
याहवेहबाट आएको शीतजस्तै,
घाँसमाथि परेको झरीजस्तै हुनेछन्;
तिनीहरूले न त कसैलाई पर्खन्छन्,
न त कुनै मानिसमाथि भर पर्छन्।
8याकोबका बाँकी रहेकाहरू राष्ट्रहरूका बीचमा,
धेरै जातिहरूका बीचमा हुनेछन्।
जङ्गली जनावरहरूका बीचमा भएको सिंहजस्तै
भेडाको बथानको बीचमा भएको जवान सिंहजस्तै हुनेछन्;
जसले कुल्चीमिल्ची पार्दै र फहराउँदै हिँड्छन्;
अनि कसैले पनि तिनीहरूबाट बचाउन सक्दैन।
9तिमीहरूका हात तिमीहरूका शत्रुहरूमाथिको विजयमा उठाइनेछ,
र तिमीहरूका सबै शत्रुहरू नष्ट पारिनेछन्।
10याहवेह घोषणा गर्नुहुन्छ, “त्यस दिन, “म तिमीहरूका घोडाहरूलाई सर्वनाश गर्नेछु,
र तिमीहरूका रथहरूलाई नष्ट पार्नेछु।
11म तिमीहरूका देशको सहरहरूलाई सर्वनाश गर्नेछु;
अनि तिमीहरूका सबै बलिया किल्लाहरू भत्काइदिनेछु।
12म तिमीहरूका तन्त्रमन्त्र नष्ट गर्नेछु,
र तिमीहरूले अब उसो तन्त्रमन्त्रहरू गर्नेछैनौ।
13म तिमीहरूका खोपिएका मूर्तिहरू र चोखा ढुङ्गाहरूलाई
तिमीहरूका बीचबाट नष्ट गर्नेछु;
अब उसो तिमीहरूले आफ्ना हातले बनाएका
कुराहरूका सामु शिर झुकाएर दण्डवत् गर्नेछैनौ।
14म तिमीहरूका बीचबाट अशेराका खम्बाहरू उखेलिदिनेछु;
यसरी म तिमीहरूका सहरहरूलाई सर्वनाश गरिदिनेछु।
15मेरो आज्ञा नमानेका राष्ट्रहरूसँग
म मेरो रिस र क्रोधमा बदला लिनेछु।”
Copyright information for
NpiNCV