‏ Philippians 1

1ख्रीष्‍ट येशूका सेवकहरू पावल र तिमोथीबाट,

ख्रीष्‍ट येशूमा भएका फिलिप्पीका पवित्र जनहरू साथै मण्डलीका अध्यक्षहरू र मण्डलीका सेवकहरू सबैलाई:

2हाम्रा परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति!

धन्यवाद ज्ञापन र प्रार्थना

3जब तिमीहरूलाई म याद गर्छु, म मेरा परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउँछु। 4मेरो हरेक प्रार्थनामा तिमीहरू सबैका निम्ति म सधैँ आनन्दसाथ प्रार्थना गर्दछु। 5किनकि सुसमाचारको काममा सुरुदेखि अहिलेसम्म नै तिमीहरूको सहभागिता रहेको छ। 6यो कुरामा दृढ भरोसा छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभएको छ, उहाँले नै ख्रीष्‍ट येशूको पुनरागमनसम्म त्यो काम पूरा गर्नुहुनेछ।

7तिमीहरू सबैका विषयमा यस्तो महसुस गर्नु मेरो लागि उचित छ; किनकि मैले मेरो हृदयमा तिमीहरूलाई राखेको छु; त्यसैले चाहे म कैदमा रहँदा होस् वा सुसमाचारको समर्थन र प्रतिरक्षा गर्दा होस्, यसमा मसँगै तिमीहरू सबै परमेश्‍वरको अनुग्रहमा सहभागी भएका छौ। 8परमेश्‍वर साक्षी हुनुहुन्छ, कि ख्रीष्‍ट येशूको प्रेमले तिमीहरू सबैको कति धेरै म तिर्सना गर्दछु।

9मेरो प्रार्थना यही छ: ज्ञान र अन्तर्दृष्‍टिको गहिराइमा तिमीहरूको प्रेम झन्-झन् प्रशस्त हुँदै जाओस्। 10यस उद्देश्यले कि तिमीहरूले जे उत्तम छ, त्यो छुट्याउन सक; ताकि ख्रीष्‍टको पुनरागमनमा तिमीहरू शुद्ध र दोषरहित रहन सक। 11अनि परमेश्‍वरको महिमा र प्रशंसाको निम्ति येशू ख्रीष्‍टद्वारा आउने धार्मिकताका फलले तिमीहरू भरिपूर्ण हुन सक।

पावलको कैदद्वारा सुसमाचारको विस्तार

12दाजुभाइ-दिदीबहिनीहरू हो, अहिले ममाथि आइलागेका कुराहरूले वास्तवमा सुसमाचारलाई विस्तार गर्ने काम गरेको छ भनी तिमीहरूले जान भन्‍ने म चाहन्छु। 13परिणाम स्वरूप सारा दरबारका पहरेदारहरू र बाँकी सबै मानिसहरूकहाँ म ख्रीष्‍टको निम्ति कैदमा रहेको हुँ भनी छर्लङ्ग भएको छ। 14अनि मेरो कैदको कारणले गर्दा प्रभुमा धेरै विश्‍वासीहरू साहसी भएका छन्, र निडरतासाथ सुसमाचार प्रचार गर्न धेरै उत्साहित भएका छन्।

15यो सत्य हो, कतिले डाह र प्रतिस्पर्धाका कारण ख्रीष्‍टलाई प्रचार गर्दछन्, तर अरूहरूले चाहिँ स्वच्छ मनसायले गर्दछन्। 16
धेरैजसो बाइबलहरूमा 1:17।
म सुसमाचारको सुरक्षाका निम्ति कैदमा परेको छु भनी जानेर स्वच्छ मनसायले प्रचार गर्नेहरूले यो काम प्रेमका लागि गर्दछन्।
17
धेरैजसो बाइबलहरूमा 1:16।
डाह र प्रतिस्पर्धाले प्रचार गर्नेहरूले स्वार्थी उद्देश्यले बेइमानीका साथ ख्रीष्‍टको प्रचार गरे; ताकि म कैदमा रहेको बेला तिनीहरूले मलाई अझ धेरै समस्या खडा गर्न सकून्।
18तर के भयो त? महत्त्वपूर्ण कुरा यही नै हो, चाहे खराब मनसायले होस् वा सत्यतामा होस्, जुनसुकै तरिकाले भए तापनि ख्रीष्‍ट नै प्रचारिनुहुन्छ। यसैकारणले म आनन्दित हुन्छु।

हो, म निरन्तर आनन्दित हुनेछु।
19किनकि तिमीहरूका प्रार्थना र येशू ख्रीष्‍टको आत्माले दिनुहुने सहायताद्वारा ममाथि आइलागेका कुराहरू मेरै छुटकाराको निम्ति हुनेछ भनी म जान्दछु। 20म उत्कट इच्छा र आशा गर्दछु, म कदापि शर्ममा पर्नेछैनँ; तर मसँग प्रशस्त साहस हुनेछ, ताकि चाहे जीवनद्वारा होस् वा मृत्युद्वारा, सदाझैँ मेरो शरीरमा ख्रीष्‍ट उच्‍च पारिनुहुनेछ। 21किनकि मेरो निम्ति जिउनु ख्रीष्‍ट हो र मर्नुचाहिँ लाभ हो। 22यदि म शरीरमा नै जिइरहनुपर्ने हो भने यसको अर्थ मेरो निम्ति फलदायी परिश्रम हुनेछ। तापनि मैले के रोज्ने त? सो म जान्दिनँ! 23म दुवैबाट दबाबमा परेको छु: बिदा भएर ख्रीष्‍टको साथमा हुने इच्छा गर्दछु; किनकि यो धेरै नै असल छ। 24तर म शरीरमा नै रहिरहनुचाहिँ तिमीहरूका निम्ति अझ बढी आवश्यक छ। 25म निश्‍चित भएको छु; यसकारण तिमीहरू सबैको उन्‍नति र विश्‍वासको आनन्दका निम्ति म सबैसँग जीवित रहिरहनेछु भनी म जान्दछु; 26यसकारण म फेरि तिमीहरूकहाँ आउँदा मेरो कारण तिमीहरूलाई ख्रीष्‍ट येशूमा गर्व गर्ने प्रशस्त कारण होस्।

सुसमाचारको योग्य जीवन

27जेसुकै आइपरे तापनि तिमीहरूका चालचलन ख्रीष्‍टको सुसमाचारको योग्य होस्। तब चाहे म आएर तिमीहरूलाई देखूँ, अथवा अनुपस्थित रहेर तिमीहरूका बारेमा सुनूँ, म यही कुरा थाहा पाउन चाहन्छु, कि तिमीहरू एउटै आत्मामा दृढ भई खडा छौ, र सुसमाचारको विश्‍वासको निम्ति एउटै मनका भई मिलेर परिश्रम गर्दछौ। 28तिमीहरू विरोधीहरूसँग कुनै किसिमले डराउनु हुँदैन। यो तिनीहरूका निम्ति एउटा चिन्ह हो, कि तिनीहरू नाश हुनेछन्, तर तिमीहरूको चाहिँ उद्धार हुनेछ—यो परमेश्‍वरबाटको चिन्ह हो। 29किनकि ख्रीष्‍टको निम्ति तिमीहरूलाई यो दिइएको छ, कि उहाँमाथि विश्‍वास गर्ने मात्र होइन, तर उहाँको निम्ति कष्‍ट पनि भोग्नुपर्छ। 30किनकि तिमीहरू पनि त्यही सङ्घर्षमा छौ, जुन सङ्घर्ष तिमीहरूले ममा देख्यौ र त्यो अझै पनि ममा छँदैछ भनी अहिले सुनेका छौ।

Copyright information for NpiNCV