Proverbs 27
1भोलिको घमण्ड नगर;किनकि त्यो कस्तो दिन हुनेछ, सो तिमी जान्दैनौ।
2तिम्रो प्रशंसा आफ्नै मुखले होइन, तर अरू कसैबाट होस्;
कुनै अपरिचितबाट, तर तिम्रो ओठबाट होइन।
3ढुङ्गा गह्रौँ र बालुवा ओजनदार हुन्छ,
तर मूर्खको क्रोध यी दुवैभन्दा गह्रौँ हुन्छ।
4रिस निर्दयी र क्रोध बाढीझैँ हुन्छ;
तर डाहको अगि को खडा हुन सक्छ र?
5गुप्तको प्रेमभन्दा
खुल्लमखुल्ला हप्की असल हुन्छ।
6मित्रबाट पाएको चोट पत्यार गर्न सकिने हुन्छ;
तर शत्रुले चुम्बनको वर्षा गर्छ।
7अघाएको पेटले मह रुचाउँदैन,
तर भोकाएकाहरूलाई तितो पनि मिठो हुन्छ।
8घरदेखि टाढा बरालिएको मानिस,
आफ्नो गुँडदेखि टाढा भड्किरहेको चरोजस्तै हो।
9अत्तर र धूपले हृदयमा आनन्द ल्याउँछ;
र मित्रको आनन्द त्यसको
आन्तरिक सल्लाहबाट आउँछ।
10आफ्नो मित्र वा आफ्नो परिवारका मित्रलाई नत्याग,
तिमीलाई विपत्ति आइपर्दा आफ्नो दाजुभाइको घरमा नजाऊ;
किनकि टाढा बस्ने आफन्तभन्दा नजिक बस्ने छिमेकी असल हुन्छ।
11हे मेरा छोराछोरी, बुद्धिमान् होऊ, र मेरो हृदयलाई आनन्दित बनाइदेऊ;
तब मलाई हेला गर्नेहरूलाई म जवाफ दिन सक्नेछु।
12विवेकशील व्यक्तिले जोखिमलाई देखेर शरण लिन्छ;
तर सोझाचाहिँ त्यतैतिर जान्छ र परिणाम भोग्छ।
13परदेशीको जमानी बस्नेको लुगा लिइराख;
परदेशीको जमानी बसेको छ भने त्यो लुगा बन्धकको रूपमा लिइराख।
14कुनै मानिसले एकाबिहानै आफ्नो छिमेकीलाई चर्को सोरमा आशिष् दिन्छ भने,
त्यो त त्यसका निम्ति श्राप दिएजस्तो हुनेछ।
15झगडालु पत्नी मुसलधारे पानी परेको दिन
तपतप चुहिरहने छानोजस्तै हो,
16त्यसलाई वशमा राख्नु
बतासलाई वशमा राख्नुजस्तो हो, अथवा हातले तेललाई च्याप्प पक्रनुजस्तै हो।
17फलामले फलामलाई धारिलो बनाएजस्तै,
एउटा मानिसले अर्को मानिसलाई तिखार्छ।
18अञ्जीरको बोट स्याहार्नेले त्यसको फल खानेछ;
र आफ्ना मालिकको रेखदेख गर्ने व्यक्ति सम्मानित हुनेछ।
19पानीमा अनुहार प्रतिविम्बित भएजस्तै,
मानिसको हृदयले व्यक्तित्वलाई प्रतिविम्बित पार्छ।
20मृत्यु र विनाश ▼
▼मूल भाषामा शिओल र अबाडोन
कहिल्यै सन्तुष्ट हुँदैनन्,न त मानिसका आँखा नै सन्तुष्ट हुन्छ।
21चाँदी पगाल्ने भाँडो र सुन खार्ने भट्टी हुन्छ,
तर मानिसलाई चाहिँ त्यसले पाएको प्रशंसाद्वारा जाँचिएको हुन्छ।
22मूर्खलाई ओखलीमा पिँधे तापनि
वा त्यसलाई जाँतोमा राखेर अन्नझैँ पिँधे तापनि
तिमीले त्यसको मूर्खता निकाल्न सक्नेछैनौ।
23तिम्रा भेडाबाख्राहरूको अवस्था राम्ररी थाहा गर,
आफ्ना बगालप्रति सावधानीपूर्वक ध्यान देऊ;
24किनकि धनसम्पत्ति सधैँ रहिरहँदैन;
र मुकुट पुस्ता-पुस्तासम्म सुरक्षित रहँदैन।
25जब पराल हटाइन्छ, र नयाँ पालुवा देखा पर्छ,
अनि डाँडा-पाखाहरूबाट घाँस बटुलिन्छ,
26तब भेडाहरूले तिमीलाई वस्त्रको प्रबन्ध गरिदिन्छन्;
र बाख्राहरूले जमिनको निम्ति पैसाको प्रबन्ध गरिदिन्छन्।
तिमीसित बाख्रीका दूध प्रशस्त हुनेछ, जसबाट तिमी र तिम्रो परिवारलाई खान पुग्नेछ,
र तिम्रा नोकर्नीहरूलाई पोषण हुनेछ।
27
Copyright information for
NpiNCV