‏ Proverbs 10

सोलोमनका हितोपदेश

1सोलोमनका हितोपदेश:

बुद्धिमान् छोराछोरीले आफ्ना बुबालाई खुशी तुल्याउँछन्,
तर मूर्ख छोराछोरीले आफ्नी आमालाई पिरोल्छन्।

2अन्यायसँग कमाएको धन केही मूल्यको हुँदैन,
तर धार्मिकताले मृत्युबाट छुटाउँछ।

3याहवेहले धर्मीहरूलाई भोकै राख्नुहुन्‍न;
तर उहाँले दुष्‍टको लालसालाई विफल पार्नुहुन्छ।

4अल्छी हातहरूले मानिसलाई गरिब बनाउँछन्,
तर परिश्रमी हातहरूले सम्पत्ति आर्जन गर्छन्।

5ग्रीष्म ऋतुमा अन्‍नको प्रबन्ध गर्ने छोराछोरी बुद्धिमान् हुन्;
तर कटनीको समयमा सुत्ने छोराछोरी शर्म लाग्दा हुन्।

6धर्मीको शिरमाथि आशिष्‌हरूका मुकुट रहन्छन्,
तर दुष्‍ट मानिसको मुखमा हिंसा लुकेको हुन्छ।

7धर्मीको नाम आशिष्‌मा
हेर्नुहोस् उत्प 48:20
प्रयोग गरिन्छ,
तर दुष्‍टको नामचाहिँ कुहिएर जानेछ।

8हृदयमा बुद्धिमान् हुनेहरूले आज्ञाहरू ग्रहण गर्छन्,
तर बकबके मूर्खको विनाश हुन्छ।

9इमानदार मानिस निर्धक्‍क भई जिउँछ;
तर टेढो मार्गमा हिँड्ने पक्राउ पर्नेछ।

10कपटपूर्ण आँखा झिम्काउनेले शोक ल्याउँछ;
अनि बकबक गर्ने मूर्ख सर्वनाशमा पुग्छ।

11धर्मीको मुख जीवनको फोहोरा हो,
तर दुष्‍टको मुखमा हिंसा लुकेको हुन्छ।

12घृणाले फाटो उब्जाउँछ;
तर प्रेमले सबै अपराधहरू ढाक्दछ।

13समझदार व्यक्तिका ओठमा बुद्धिका कुरा पाइन्छ;
तर विवेकहीनहरूका पिठिउँमा त छडी पर्छ।

14बुद्धिमान् मानिसहरूले ज्ञान सञ्चय गर्छन्;
तर मूर्खको मुखले विनाश निम्त्याउँछ।

15धनीको धन नै तिनीहरूका किल्‍ला भएको सहर हो,
तर दरिद्रता गरिबहरूको विनाश हो।

16धर्मीको ज्याला तिनीहरूको जीवन हो,
तर दुष्‍टको कमाइ पाप र मृत्यु हो।

17अनुशासन पालन गर्ने जीवनको बाटोमा जान्छ,
तर जसले सुधारलाई बेवास्ता गर्छ, त्यसले अरूलाई पथभ्रष्‍ट पार्छ।

18जसले आफूमा घृणा लुकाएर राख्छ, उसको जिब्रो छली हुन्छ
र जसले निन्दा फैलाउँछ, त्यो मूर्ख हो।

19जब बढ्ता बोलिन्छ, पापले बढी स्थान पाउँछ;
तर बुद्धिमान्‌ले आफ्नो जिब्रोमा लगाम लगाउँछ।

20धर्मीको जिब्रो निखुर चाँदी हो;
तर दुष्‍टको हृदय भने केही मूल्यको हुँदैन।

21धर्मीको ओठले धेरैलाई उत्साह दिन्छ,
तर मूर्खहरू विवेकको अभावले मर्छन्।

22याहवेहको आशिष्‌ले धनसम्पत्ति ल्याउँछ;
अनि उहाँले यसमा दुःख थप्नुहुन्‍न।

23मूर्खहरू दुष्‍ट चालमा आनन्दित हुन्छन्,
तर समझशक्ति भएको मानिस बुद्धिमा प्रसन्‍न हुन्छ।

24तिनीहरूलाई त्रसित बनाउने कुरा नै दुष्‍टमाथि आइपर्नेछ;
धर्मीले जे इच्छा गर्छ, त्यो पूरा गरिनेछ।

25आँधीबेहरी आएपछि दुष्‍टहरू सोहोरिएर गइहाल्छन्;
तर धर्मीचाहिँ अन्त्यसम्मै स्थिर रहन्छन्।

26दाँतलाई सिर्का र आँखालाई धुवाँजस्तै,
अल्छे पनि त्यसलाई पठाउनेको निम्ति त्यस्तै हुन्।

27याहवेहप्रति गरिएको श्रद्धाले जीवनको आयु लामो पार्छ;
तर दुष्‍टका आयुचाहिँ घटाइन्छ,
28धर्मीका आशा आनन्दमय हुन्छ;
तर दुष्‍टहरूको आशा पूरा हुनेछैन।

29याहवेहको मार्ग धर्मीहरूको निम्ति शरणस्थान हो;
तर दुष्‍ट काम गर्नेहरूको निम्ति त्यो विनाश हो।

30धर्मी कहिल्यै उखेलिनेछैन;
तर दुष्‍ट पृथ्वीमा स्थिर रहनेछैन।

31धर्मीको मुखबाट बुद्धिका कुरा निस्किन्छ,
तर भड्काउने जिब्रो काटिनेछ।

धर्मीका ओठले उचित कुरा जान्दछन्;
तर दुष्‍टको मुखले टेढामेढा कुराहरू मात्र जान्दछ।
32

Copyright information for NpiNCV