‏ Psalms 101

दावीदको भजन।

1म तपाईंको अचुक प्रेम र न्यायको गीत गाउनेछु;
हे याहवेह, म तपाईंको प्रशंसा गाउनेछु।
2म निर्दोष जीवन बिताउनलाई होसियार रहनेछु,
तपाईं मकहाँ कहिले आउनुहुनेछ?

म निर्दोष हृदय लिएर
आफ्नो घरको कामकाज गर्नेछु।
3म आफ्नो आँखाहरू अगि
कुनै पनि अनुचित कुराहरू राख्नेछैनँ।

पथभ्रष्‍ट भएकाहरूका कामलाई म घृणा गर्छु;
यसमा मेरो कुनै सरोकार हुनेछैन।
4कुटिल हृदय भएकाहरू मबाट टाढा रहनेछन्;
दुष्‍टसँग मेरो कुनै सरोकार रहनेछैन।

5जसले गुप्‍तमा आफ्ना छिमेकीको निन्दा गर्दछ,
म त्यसलाई नाश गर्नेछु;
अहङ्कारी दृष्‍टि भएका र घमण्डी हृदय भएकालाई,
म सहनेछैनँ।

6देशका विश्‍वासयोग्य जनहरूमाथि म मेरो नजर राख्नेछु;
ताकि तिनीहरू मसित बास गरून्;
त्यो, जसको चालचलन निर्दोष छ,
उसले नै मेरो सेवा गर्नेछ।

7छली काम गर्ने कसैले पनि
मेरो घरमा बास पाउनेछैन;
झूटो बोल्ने कोही पनि
मेरो उपस्थितिमा खडा हुनेछैन।

8हरेक बिहान म
देशका दुष्‍ट काम गर्नेहरू सबैलाई नाश पार्नेछु;
याहवेहको सहरबाट
म हरेक दुष्कर्मीलाई नष्‍ट पार्नेछु।
Copyright information for NpiNCV