Psalms 115
1हाम्रो होइन, हे याहवेह, हाम्रो होइन,तर तपाईंको अचुक प्रेम र विश्वसनीयताको कारण,
तपाईंकै नामको महिमा होस्!
2राष्ट्रहरूले किन यसो भन्छन्,
“तिनीहरूका परमेश्वर कहाँ छन्?”
3हाम्रा परमेश्वर स्वर्गमा हुनुहुन्छ;
उहाँले जे चाहनुहुन्छ, त्यही गर्नुहुन्छ।
4तर तिनीहरूका मूर्तिहरू सुन र चाँदी हुन्,
जसलाई मानिसहरूका हातहरूले बनाएका हुन्।
5तिनीहरूका मुख त छन्, तर बोल्न सक्दैनन्;
आँखा त छन्, तर देख्न सक्दैनन्;
6तिनीहरूका कान त छन्, तर सुन्न सक्दैनन्;
नाक त छन्, तर सुँघ्न सक्दैनन्;
7हात त छन्, तर स्पर्श गर्न सक्दैनन्;
खुट्टा त छन्, तर हिँड्न सक्दैनन्;
न त तिनीहरू आफ्ना गलाबाट कुनै आवाज नै निकाल्न सक्दछन्।
8मूर्तिहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्तै हुनेछन्;
तिनीहरूमाथि भरोसा गर्नेहरू सबै पनि त्यस्तै हुनेछन्।
9हे सारा इस्राएलीहरू हो, याहवेहमा भरोसा गर—
उहाँ नै तिनीहरूका सहायक र ढाल हुनुहुन्छ।
10हे हारूनका घराना हो, याहवेहमा भरोसा गर—
उहाँ नै तिनीहरूका सहायक र ढाल हुनुहुन्छ।
11याहवेहसँग डराउनेहरू हो, उहाँमा भरोसा गर—
उहाँ नै तिनीहरूका सहायक र ढाल हुनुहुन्छ।
12याहवेहले हामीलाई सम्झनुहुन्छ, र हामीलाई आशिष् दिनुहुनेछ;
उहाँले आफ्ना प्रजा इस्राएललाई आशिष् दिनुहुनेछ;
उहाँले हारूनको घरानालाई आशिष् दिनुहुनेछ।
13उहाँको डर मान्ने साना र ठूला सबैलाई
याहवेहले आशिष् दिनुहुनेछ।
14याहवेहले तिमीहरूलाई वृद्धि गरून्,
तिमीहरू र तिमीहरूका सन्तानहरूलाई।
15याहवेहले तिमीहरूलाई आशिष् देऊन्,
जो आकाश र पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ।
16स्वर्ग याहवेहकै हो,
तर पृथ्वीचाहिँ उहाँले मानिस जातिलाई दिनुभएको छ।
17मृतकहरूले याहवेहको प्रशंसा गर्दैनन्;
चिर निन्द्रामा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्;
18तर हामी त अहिले र सदासर्वदा नै
याहवेहको स्तुति गर्दछौँ।
याहवेहको प्रशंसा गर! ▼
▼मूल भाषामा हल्लेलूयाह
Copyright information for
NpiNCV