‏ Psalms 20

सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।

1याहवेहले तपाईंको सङ्कष्‍टको दिनमा तपाईंलाई उत्तर देऊन्;
याकोबका परमेश्‍वरका नामले तपाईंलाई सुरक्षा गरून्।
2उहाँको वासस्थानबाट तपाईंलाई मदत पठाऊन्,
र सियोनबाट तपाईंलाई सहारा देऊन्।
3उहाँले तपाईंका सारा बलिदानहरू स्मरण गरून्,
र तपाईंका होमबलिहरू ग्रहण गरून्। सेला
4उहाँले तपाईंको मनको इच्छा पूरा गरून्,
र तपाईंका सबै योजनाहरू सफल गरून्।
5तपाईंको विजयमा हामी आनन्दले कराउनेछौँ,
र हाम्रा परमेश्‍वरका नाममा हामी आफ्ना झण्डाहरू उच्‍च पार्नेछौँ।

याहवेहले तपाईंका सबै बिन्ती पूरा गरिदेऊन्।

6अब मलाई थाहा भयो:
याहवेहले आफ्ना अभिषिक्त जनलाई विजय दिनुहुन्छ।
उहाँले आफ्नो दाहिने बाहुलीको उद्धारको शक्तिद्वारा
आफ्नो पवित्र स्वर्गबाट अभिषिक्त जनलाई जवाफ दिनुहुन्छ।
7कोही रथहरूमा र कोही घोडाहरूमाथि भरोसा गर्दछन्,
तर हामीचाहिँ याहवेह हाम्रा परमेश्‍वरको नाममा भरोसा गर्दछौँ।
8तिनीहरू निहुरेर भुइँमा घुँडा टेक्नेछन्,
तर हामीहरूचाहिँ खडा हुनेछौँ र सीधा उभिनेछौँ।
9हे याहवेह, राजालाई विजय गराउनुहोस्!
हामीले पुकार गर्दा हामीलाई जवाफ दिनुहोस्!
Copyright information for NpiNCV