‏ Psalms 26

दावीदको भजन।

1हे याहवेह, मलाई निर्दोष प्रमाणित गर्नुहोस्;
किनकि मैले दोषरहित जीवन जिएको छु;
ढलपल नभइकन
मैले याहवेहमा भरोसा राखेको छु।
2हे याहवेह, मलाई जाँच्नुहोस्; र मेरो पारख गर्नुहोस्।
मेरो हृदय र मन जाँचेर हेर्नुहोस्;
3किनकि तपाईंको अचुक प्रेम सधैँ मेरो सामु छ;
र म तपाईंको विश्‍वासयोग्यतामा हिँडेको छु।

4म छली मानिसहरूसँग बस्दिनँ,
न त पाखण्डीहरूसँग म सङ्गत गर्छु।
5कुकर्मीहरूको झुण्डलाई म घृणा गर्दछु;
म दुष्‍ट काम गर्नेहरूसँग बस्‍न इन्कार गर्दछु।
6हे याहवेह, म आफ्ना हात निर्दोषतामा धुन्छु,
र तपाईंका वेदीको परिक्रमा गर्दछु।
7उच्‍च सोरले म तपाईंको प्रशंसाको घोषणा गर्दछु,
र म तपाईंका सबै अचम्मका कामहरूको वर्णन गर्दछु।

8हे याहवेह, तपाईंको वासस्थान,
र तपाईंको महिमा रहने ठाउँलाई म प्रेम गर्दछु।
9पापीहरूसँग मेरो प्राण,
रक्तपिपासुहरूसँग मेरो जीवन नलिनुहोस्;
10जसका हातहरू दुष्‍ट योजनाहरूले भरिएका छन्,
र जसका दाहिने हात घूसले भरिएका छन्।
11तर म त निर्दोष जीवन जिउँछु;
मेरो उद्धार गर्नुहोस् र ममाथि कृपालु हुनुहोस्।

12मेरा खुट्टाहरू समतल ठाउँमा खडा छन्;
ठूलो महासभामा म याहवेहको प्रशंसा गर्नेछु।
Copyright information for NpiNCV