‏ Psalms 52

सङ्गीत निर्देशकको निम्ति, दावीदको मस्किल
शीर्षक: सम्भवतः एक साहित्यिक वा साङ्गीतिक शब्द।
—जब एदोमी दोएग शाऊल राजाकहाँ गएर दावीदको बारेमा भनेका थिए: “दावीद अहीमेलेकको घरमा गएका छन्।”

1हे वीर मानिस, तँ किन आफ्ना दुष्‍ट काममा गर्व गर्छस्?
किन सारा दिन घमण्ड गर्छस्,
तँ, जो परमेश्‍वरको दृष्‍टिमा घृणित छस्?
2तँ छली कुरा गर्छस्,
तेरा जिब्रोले विनाश पार्ने युक्ति रच्दछ;
यो धारिलो छुरीजस्तै छ।
3तँ असल कुराभन्दा खराब कुरा मन पराउँछस्;
सत्य कुरा बोल्नुभन्दा बरु झूटो कुरा गर्न रुचाउँछस्।
4ए छली जिब्रो!
तँलाई हरेक हानिकारक शब्दहरू मन पर्छ।

5निश्‍चय नै परमेश्‍वरले तँलाई अनन्तको विनाशमा फाल्नुहुनेछ:
उहाँले तँलाई तानेर तेरो वासस्थानबाट निकाल्नुहुनेछ;
उहाँले तँलाई जीवितहरूका देशबाट जरैसमेत उखेल्नुहुनेछ।
6धर्मी जनहरू त्यो देखेर भय मान्‍नेछन्।
तिनीहरूले यसो भनी तेरो हाँसो उडाउनेछन्,
7“यो त्यही मानिस हो,
जसले परमेश्‍वरलाई आफ्नो शरणस्थान बनाएन,
तर त्यसले आफ्नो धेरै धनसम्पत्तिमा भरोसा राख्यो,
र अरूलाई विनाश गर्दै आफूचाहिँ बलियो भयो!”

8तर मचाहिँ परमेश्‍वरको भवनमा बढेको
हरियो जैतुनको रूखजस्तो छु;
म परमेश्‍वरको अचुक प्रेममा
सदासर्वदा भरोसा गर्दछु।
9तपाईंले गर्नुभएका कार्यहरूका कारण भक्तजनहरूको उपस्थितिमा
सधैँ म तपाईंको प्रशंसा गर्नेछु,
र तपाईंको नाममा म आशा राख्नेछु;
किनकि तपाईंको नाम असल छ।
Copyright information for NpiNCV