‏ Psalms 54

सङ्गीत निर्देशकको निम्ति, तारवाद्यमा आधारित, दावीदको मस्किल
शीर्षक: सम्भवतः एक साहित्यिक वा साङ्गीतिक शब्द।
—जब जीपीहरू शाऊलकहाँ गएर भनेका थिए, “के दावीद हामीहरूका माझमा लुकेका छैनन् र?”

1हे परमेश्‍वर, तपाईंको नामद्वारा मलाई बचाउनुहोस्;
तपाईंको शक्तिद्वारा मलाई निर्दोष साबित गर्नुहोस्!
2हे परमेश्‍वर, मेरो प्रार्थना सुन्‍नुहोस्;
मेरा मुखका शब्दहरू सुनिदिनुहोस्!

3मलाई परदेशीहरूले आक्रमण गर्छन्;
मलाई निर्दयी मानिसहरूले मार्न खोज्छन्—
ती मानिसहरूले परमेश्‍वरको श्रद्धा गर्दैनन्। सेला

4हेर, परमेश्‍वर मेरा सहायक हुनुहुन्छ;
प्रभुले नै मलाई सहारा दिनुहुन्छ।

5मेरा विरोधीहरूका खराबी तिनीहरूमाथि नै फर्किऊन्;
तपाईंको विश्‍वसनीयतामा तिनीहरूलाई सर्वनाश गर्नुहोस्!

6म तपाईंलाई स्वेच्छाबलि चढाउनेछु;
हे याहवेह, तपाईंको नामको प्रशंसा म गर्नेछु; किनकि त्यो असल कुरा हो।
7तपाईंले मलाई मेरा सबै सङ्कष्‍टहरूबाट छुटाउनुभएको छ;
र मेरा आँखाहरूले मेरा वैरीहरूमाथि मेरो विजयी देख्दछु।
Copyright information for NpiNCV