‏ Psalms 56

सङ्गीत निर्देशकको निम्ति, टाढाको बाजको रूखको ढुकुरको लयमा आधारित, दावीदको मिक्ताम; जब पलिश्तीहरूले उनलाई गातमा पक्रेका थिए।

1हे परमेश्‍वर, ममाथि दया देखाउनुहोस्;
किनकि मेरा शत्रुहरूले मेरो खेदो गर्छन्;
तिनीहरूले मलाई दिनभरि नै आक्रमण गरिरहन्छन्।
2मेरा विरोधीहरूले दिनभरि नै मलाई खेदो गर्छन्;
आफ्ना घमण्डमा धेरै जनाले मलाई आक्रमण गर्दछन्।

3जब म डराउँछु, तब तपाईंमा भरोसा राख्दछु।
4परमेश्‍वरमा, जसको वचनको प्रतिज्ञाको म प्रशंसा गर्दछु—
म उहाँमा भरोसा राख्छु र डराउँदिनँ,
मरणशील मानिसले मलाई के गर्न सक्छ र?

5तिनीहरूले दिनभरि नै मेरा कुराहरूको उल्टो अर्थ लगाउँछन्;
तिनीहरूका सबै योजनाहरू मेरो हानिको लागि हुन्छन्।
6मलाई मार्ने आशामा
तिनीहरू षड्यन्त्र रच्छन्, लुकी बस्छन्;
तिनीहरूले मेरा कदमहरू नियाल्छन्।
7तिनीहरूका दुष्‍टताको कारण तिनीहरूलाई उम्कन नदिनुहोस्;
हे परमेश्‍वर, तपाईंको रिसमा राष्ट्रहरूलाई ढालिदिनुहोस्!

8तपाईंले मेरो विलापको लेखा राख्नुहोस्;
मेरा आँसुको हिसाब बोतलमा राख्नुहोस्—
तपाईंको पुस्तकमा के ती सबै लेखिएका छैनन् र?
9जब म सहायताको निम्ति पुकार्छु,
तब मेरा शत्रुहरू मबाट पछि हटेर जानेछन्।
यस कुराबाट परमेश्‍वर मेरो पक्षमा हुनुहुन्छ भन्‍ने कुरा म जान्दछु।

10परमेश्‍वरमा, जसको प्रतिज्ञाको म प्रशंसा गर्दछु,
याहवेहमा, जसको प्रतिज्ञाको म प्रशंसा गर्दछु—
11परमेश्‍वरमा म भरोसा राख्दछु; र म डराउँदिनँ।
मलाई मरणशील मानिसले के गर्न सक्छ र?

12हे मेरा परमेश्‍वर, मैले तपाईंसँग भाकलहरू गरेको छु;
मेरो धन्यवादको बलि म तपाईंलाई चढाउनेछु;
13किनकि तपाईंले मलाई मृत्युबाट बचाउनुभएको छ;
र मेरा पाउलाई ठेस लाग्नदेखि बचाइदिनुभएको छ,
ताकि म परमेश्‍वरको सामु
जीवनको ज्योतिमा हिँड्न सकूँ।
Copyright information for NpiNCV