‏ Psalms 57

सङ्गीत निर्देशकको निम्ति, “विनाश नगर” लयमा आधारित, शाऊलबाट भागेर ओडारमा बास बस्दा दावीदको मिक्ताम।

1ममाथि कृपा गर्नुहोस्, हे मेरा परमेश्‍वर, ममाथि कृपा गर्नुहोस्;
किनकि म तपाईंमा शरण लिन्छु।
जबसम्म यो विपत्ति हट्दैन,
तबसम्म म तपाईंको पखेटाको छायामुनि शरण लिनेछु।

2म सर्वोच्‍च परमेश्‍वरलाई पुकार्छु,
परमेश्‍वरलाई, जसले मलाई निर्दोष प्रमाणित गर्नुहुन्छ
मूल भाषामा मेरो निम्ति बदला लिनुहुन्छ

3उहाँले स्वर्गबाट सहायता पठाउनुहुन्छ र मलाई बचाउनुहुन्छ;
मलाई खेदो गर्नेहरूलाई उहाँले हप्काउनुहुन्छ, सेला
परमेश्‍वरले आफ्नो अचुक प्रेम र विश्‍वसनीयता पठाउनुहुन्छ।

4म सिंहहरूको बीचमा छु;
हिँस्रक जनावरहरूजस्ता मानिसहरूका बीचमा बस्‍न म बाध्य छु;
जसका दाँतहरू धारिला तरवार र काँड हुन्,
जसका जिब्रा धारिलो तरवारजस्तै छन्।

5हे परमेश्‍वर, स्वर्गभन्दा उच्‍च हुनुहोस्;
सारा पृथ्वीमाथि तपाईंको महिमा रहोस्!

6तिनीहरूले मेरा पाउहरूका निम्ति जाल बिछाएका छन्;
म सङ्कष्‍टले झुकेको छु।
तिनीहरूले मेरो मार्गमा खाडल खनेका छन्,
तर तिनीहरू त्यस खाडलमा आफैँ परेका छन्। सेला

7हे परमेश्‍वर, मेरो हृदय स्थिर छ,
मेरो हृदय स्थिर छ;
म गाउनेछु र धुन बजाउनेछु।
8हे मेरो प्राण, उठ्!
हे सारङ्गी र वीणा जाग्!
म प्रभातलाई जगाउनेछु।

9हे प्रभु, राष्ट्र-राष्ट्रहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु;
जाति-जातिहरूबीच म तपाईंको स्तुति गाउनेछु।
10किनकि तपाईंको प्रेम महान् छ, आकाशझैँ उच्‍च छ;
तपाईंको विश्‍वासयोग्यता आकाशसम्मै पुग्दछ।

11हे परमेश्‍वर, स्वर्गभन्दा उच्‍च हुनुहोस्;
सारा पृथ्वीमाथि तपाईंको महिमा रहोस्!
Copyright information for NpiNCV