‏ Psalms 6

सङ्गीत निर्देशकको निम्ति तारवाला बाजाहरूमा शिमिनिथ,
शीर्षक: सम्भवतः एक साङ्गीतिक शब्द
दावीदको भजन।

1हे याहवेह, मलाई तपाईंको रिसमा नहप्काउनुहोस्;
न त तपाईंको क्रोधमा मलाई ताडना नै दिनुहोस्।
2हे याहवेह, ममाथि कृपा गर्नुहोस्, किनकि म दुर्बल भएको छु;
हे याहवेह, मलाई निको पार्नुहोस्, किनकि मेरा हाडहरूमा घोर पीडा छ।
3मेरो प्राण गहिरो वेदनामा छ;
कहिलेसम्म, हे याहवेह, कहिलेसम्म?

4हे याहवेह, मतिर फर्कनुहोस्, मेरो उद्धार गर्नुहोस्;
तपाईंको अचुक प्रेमको कारण मलाई बचाउनुहोस्।
5मृतकहरू कसैले तपाईंको नामको स्मरण गर्दैनन्,
चिहानबाट कसले तपाईंको प्रशंसा गर्छ र?

6मेरो पीडाले गर्दा म थाकिसकेको छु।

रातभरि मेरो आँसुको बाढीले ओछ्यान तैरिन्छ।
र मेरो आँसुले सिरानी डुबाउँछ।
7मेरा आँखाहरू शोकले गर्दा कमजोर भएका छन्;
मेरा वैरीहरूका कारणले ती कमजोर भएका छन्।

8हे सबै दुष्‍ट काम गर्नेहरू हो, मबाट टाढा जाओ;
किनकि याहवेहले मेरो रुवाइ सुन्‍नुभएको छ।
9याहवेहले दयाको निम्ति मेरो पुकार सुन्‍नुभएको छ;
याहवेहले मेरो प्रार्थना ग्रहण गर्नुहुन्छ।
10मेरा सबै शत्रुहरू ज्यादै लज्जित हुनेछन् र डराउनेछन्;
तिनीहरू एकै क्षणमा लज्जित भएर पछि हट्नेछन्।
Copyright information for NpiNCV