‏ Psalms 7

बेन्यामीनी कूशको बारेमा दावीदले याहवेहको सामु गाएको शिग्गायोन।
शीर्षक: सम्भवतः एक साहित्यिक वा साङ्गीतिक शब्द

1हे याहवेह, मेरो परमेश्‍वर, म तपाईंमा नै शरण पर्दछु;
मेरो खेदो गर्नेहरूबाट मलाई बचाउनुहोस् र छुटकारा दिनुहोस्,
2नत्रता तिनीहरूले मलाई सिंहले झैँ फहराउनेछन्;
मेरो उद्धार गर्ने कोही नहुँदा तिनीहरूले मलाई टुक्रा-टुक्रा पार्नेछन्।

3हे याहवेह, मेरा परमेश्‍वर, यदि मैले यो गरेको छु र
यदि मेरा हातबाट केही अधर्म भएको छ भने;
4यदि मसँग मिल्ने मित्रहरूलाई मैले खराबी गरेको छु भने;
वा कारणविना मेरा शत्रुहरूलाई केही लुटेको छु भने;
5यदि मैले यसो गरेको भए, मेरो शत्रुहरूले मलाई खेदून् र पक्रून्;
तिनीहरूले मेरो प्राणलाई धुलोमा कुल्चिऊन्,
र मेरो इज्जत धुलोमा पारून्। सेला

6हे याहवेह, तपाईंको क्रोधमा उठ्नुहोस्;
मेरा शत्रुहरूको क्रोधको विरुद्धमा खडा हुनुहोस्,
हे मेरा परमेश्‍वर, उठ्नुहोस् र आफ्नो न्याय आदेश गर्नुहोस्।
7जाति-जातिहरू तपाईंको वरिपरि भेला होऊन्;
उच्‍च सिंहासनमा विराजमान भई तिनीहरूमाथि शासन गर्नुहोस्;
8याहवेहले जाति-जातिहरूको न्याय गरून्।
हे याहवेह, सर्वोच्‍च परमेश्‍वर मेरो धार्मिकताअनुसार,
र मेरो इमानदारीताअनुसार निर्दोष प्रमाणित गर्नुहोस्।
9हे धार्मिक परमेश्‍वर,
जसले हृदय र मन जाँच्नुहुन्छ,
दुष्‍टहरूको उपद्रवको अन्त्य गर्नुहोस्,
अनि धर्मीहरूको सुरक्षा गर्नुहोस्।

10सर्वोच्‍च परमेश्‍वर मेरो ढाल हुनुहुन्छ,
जसले सोझो हृदय भएकाहरूलाई बचाउनुहुन्छ।
11परमेश्‍वर धार्मिक न्यायकर्ता हुनुहुन्छ,
यस्तो परमेश्‍वर, जसले प्रतिदिन आफ्नो क्रोध प्रकट गर्नुहुन्छ।
12यदि मानिसले पश्‍चात्ताप गरेन भने,
उहाँले आफ्नो तरवारमा शान लगाउनुहुनेछ;
उहाँले आफ्नो धनुमा ताँदो चढाउनुहुनेछ र निसाना लगाउनुहुनेछ।
13उहाँले आफ्ना प्राणघातक हातहतियार तयार पार्नुभएको छ;
उहाँले आफ्ना अग्निकाँडहरू तयार पार्नुभएको छ।

14जसले अधर्मको गर्भधारण गर्दछ,
त्यसले सङ्कष्‍ट बोक्दछ र छललाई जन्म दिन्छ।
15जसले खनेर खाडल बनाउँछ र अरूलाई गिराउन चाहन्छ,
त्यसले खनेको खाडलमा आफैँ जाकिन्छन्।
16त्यसले रचेका उपद्रवले आफैँलाई नै बेर्नेछ;
र त्यसको अत्याचार त्यसकै टाउकोमा खनिन्छ।

17उहाँका धार्मिकताको कारण म याहवेहलाई धन्यवाद चढाउनेछु
र सर्वोच्‍च याहवेहको नामको स्तुति गाउनेछु।
Copyright information for NpiNCV