‏ Psalms 1

प्रथम खण्ड

भजनसंग्रह 1–41

1धन्य हुन् तिनीहरू,
जो दुष्‍टहरूको सल्‍लाहमा हिँड्दैनन्,
जो पापीहरूको मार्गमा खडा हुँदैनन्,
जो गिल्‍ला गर्नेहरूको सङ्गतमा बस्दैनन्।
2तर तिनीहरू याहवेहको व्यवस्थामा नै प्रसन्‍न रहन्छन्,
र दिनरात उहाँकै व्यवस्थामा नै मनन गर्छन्।
3तिनीहरू नदीको किनारमा रोपेको रूखजस्तै हुन्छन्,
जसले आफ्नो ऋतुमा फल दिन्छ;
र जसको पात कहिल्यै ओइलाउँदैन;
तिनीहरूले जे काम गर्छन्, त्यसमा सफल हुन्छन्।

4दुष्‍टहरू त्यस्ता हुँदैनन्;
तर तिनीहरूचाहिँ बतासले उडाइलैजाने
भुसजस्तै हुन्छन्।
5यसकारण दुष्‍टहरू न्यायमा खडा रहनेछैनन्,
न त धर्मीहरूको सभामा पापीहरूले स्थान पाउनेछन्।

6किनकि याहवेहले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्छ;
तर दुष्‍टहरूको मार्गले विनाशमा पुर्‍याउँछ।
Copyright information for NpiNCV