‏ Psalms 118

1याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ;
उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

2इस्राएलले भनोस्:
“उहाँको अचुक प्रेम सदाकाल रहिरहन्छ।”
3हारूनको घरानाले भनोस्:
“उहाँको अचुक प्रेम सदाकाल रहिरहन्छ।”
4याहवेहको भय मान्‍नेहरूले भनून्:
“उहाँको अचुक प्रेम सदाकाल रहिरहन्छ।”

5मेरो कष्‍टमा मैले याहवेहलाई पुकार गरेँ,
उहाँले मलाई जवाफ दिनुभयो, र मलाई विशाल ठाउँमा ल्याउनुभयो।
6याहवेह मेरो साथमा हुनुहुन्छ, म डराउनेछैनँ।
मरणशील मानिसले मलाई के गर्न सक्छ र?
7याहवेह मेरो साथमा हुनुहुन्छ; उहाँ मेरा सहायक हुनुहुन्छ।
म मेरा शत्रुहरूमाथि विजयको दृष्‍टिले हेर्छु।

8मानिसमाथि भरोसा गर्नुभन्दा त
याहवेहमाथि शरण लिनु उत्तम हो।
9राजकुमारहरूमा भरोसा गर्नुभन्दा त
याहवेहमाथि शरण लिनु उत्तम हो।
10सम्पूर्ण राष्ट्रहरूले मलाई घेरेका थिए,
तर याहवेहका नाममा मैले तिनीहरूलाई नष्‍ट पारेँ।
11तिनीहरूले मलाई घेरेका थिए, हो तिनीहरूले घेरेका थिए,
तर याहवेहका नाममा मैले तिनीहरूलाई नष्‍ट पारेँ।
12तिनीहरूले मलाई मौरीहरूले झैँ घेरेका थिए;
तर तिनीहरू काँडाहरूमा लागेका आगोझैँ निभिहाले;
याहवेहका नाममा मैले तिनीहरूलाई नष्‍ट पारेँ।
13मेरा शत्रुले मलाई घचेटे, र म लड्नै लागेको थिएँ;
तर याहवेहले मलाई सहायता गर्नुभयो।
14याहवेह मेरो बल र मेरो रक्षा हुनुहुन्छ,
उहाँ मेरो मुक्ति हुनुभएको छ।

15धर्मीहरूका पालहरूमा
हर्ष र विजयको सोर गुञ्जिन्छ:
“याहवेहका दाहिने बाहुलीबाट पराक्रमका काम भएका छन्!
16याहवेहका दाहिने बाहुली उच्‍च पारिएको छ;
याहवेहका दाहिने बाहुलीबाट पराक्रमका काम भएका छन्।”
17म मर्नेछैनँ, तर जीवित रहनेछु,
र याहवेहले के गर्नुभएको छ, त्यो घोषणा गर्नेछु।
18याहवेहले मलाई कठोर दण्ड दिनुभएको छ;
तर उहाँले मलाई मर्न दिनुभएको छैन।
19मेरा निम्ति धार्मिकताका ढोकाहरू खोलिदिनुहोस्;
म तीभित्र पस्‍नेछु र याहवेहलाई धन्यवाद दिनेछु।
20याहवेहको ढोका यही हो,
जसबाट धर्मी जनहरू प्रवेश गर्नेछन्।
21म तपाईंलाई धन्यवाद दिनेछु; किनकि तपाईंले मलाई जवाफ दिनुभयो,
तपाईं मेरो मुक्ति हुनुभएको छ।

22जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे,
त्यही नै कुनाको मुख्य ढुङ्गा बन्यो;
23यो याहवेहले गर्नुभएको हो;
अनि यो हाम्रो दृष्‍टिमा आश्‍चर्यमय छ।
24आजको दिन याहवेहले सृजनुभएको हो;
यसमा हामी आनन्द मनाऔँ र रमाऔँ।

25हे याहवेह, हामीलाई बचाउनुहोस्;
हे याहवेह, हामीलाई सफलता दिनुहोस्!

26याहवेहको नाममा आउने धन्यको हो,
हामी याहवेहको भवनबाट तिमीहरूलाई आशीर्वाद दिन्छौँ।
27याहवेह नै परमेश्‍वर हुनुहुन्छ;
र उहाँले आफ्नो ज्योति हामीमाथि चम्काउनुभएको छ।
हातमा स्याउला लिएर शोभायात्रामा सहभागी होओ,
अथवा चाडको बलिदानलाई डोरीले बाँध्नु

हर्षकासाथ डोरीहरूले वेदीका सिङहरूमा बाँध!

28तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ, र म तपाईंलाई धन्यवाद चढाउनेछु;
तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ, र म तपाईंलाई उच्‍च पार्नेछु।

29याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ;
उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
Copyright information for NpiNCV