‏ Psalms 122

दावीदको आरोहणको गीत।

1जब तिनीहरूले मलाई, “याहवेहका भवनमा हामी जाऔँ” भने,
तब म तिनीहरूसँगै आनन्दित भएँ।
2हे यरूशलेम, तेरा मूलढोकाहरूभित्र
हाम्रा खुट्टाहरू उभिएका छन्।

3यरूशलेम एउटा सहरजस्तै,
एकै ठाउँमा टम्‍म गरी मिलाएर बसालिएको छ।
4इस्राएललाई दिइएको कानुनअनुसार
याहवेहका कुलहरू
याहवेहको नामको प्रशंसा गर्न
त्यहाँ जान्छन्।
5किनकि त्यहाँ न्यायका सिंहासनहरू स्थापित छन्;
त्यहाँ दावीदका वंशका सिंहासनहरू छन्।

6यरूशलेमको शान्तिको निम्ति प्रार्थना गर:
“तँलाई प्रेम गर्नेहरू सुरक्षित रहून्।
7तेरा पर्खालहरूभित्र शान्ति रहोस्;
र तेरा दरबारहरूभित्र सुरक्षा रहोस्!”
8मेरा परिवार र मेरा मित्रहरूका खातिर
म, “तिमीहरूमा शान्ति रहोस्!” भन्‍नेछु।
9याहवेह हाम्रा परमेश्‍वरको भवनको खातिर,
म तेरो भलो चिताउनेछु।
Copyright information for NpiNCV