‏ Psalms 135

1याहवेहको प्रशंसा गर!
मूल भाषामा हल्‍लेलूयाह ; 321 पदमा पनि

याहवेहको नामको प्रशंसा गर;
हे याहवेहका सेवकहरू हो, उहाँको प्रशंसा गर।
2तिमीहरू, जो याहवेहको भवनमा,
हाम्रा परमेश्‍वरको भवनका चोकहरूमा सेवा गर्दछौ।

3याहवेहको प्रशंसा गर! किनकि याहवेह भलो हुनुहुन्छ;
उहाँको नामको गीत गाओ; किनकि त्यो आनन्दमय हुन्छ।
4किनकि याहवेहले याकोबलाई आफ्नो बनाउन,
अनि इस्राएललाई आफ्नो बहुमूल्य सम्पत्ति हुनलाई चुन्‍नुभएको छ।

5म जान्दछु, याहवेह महान् हुनुहुन्छ,
र हाम्रा प्रभु सबै देवहरूभन्दा महान् हुनुहुन्छ।
6आकाशमा र पृथ्वीमा,
समुद्रहरू अनि तिनका गहिराइमा,
याहवेह आफ्नो इच्छाअनुसार गर्नुहुन्छ।
7उहाँले पृथ्वीको छेउबाट बादल उठाउनुहुन्छ;
उहाँले वर्षासित बिजुली पठाउनुहुन्छ;
र उहाँले आफ्ना भण्डारहरूबाट बतास निकाल्नुहुन्छ।

8उहाँले इजिप्टका मानिस र पशु,
दुवैका पहिले जन्मेकाहरूलाई मार्नुभयो।
9हे इजिप्ट, उहाँले तेरो बीचमा, आफ्ना अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू,
फारो र उनका सारा भारदारहरूका विरुद्धमा पठाउनुभयो।
10उहाँले धेरै राष्ट्रहरूलाई नाश गर्नुभयो;
र धेरै शक्तिशाली राजाहरूलाई मार्नुभयो—
11एमोरीहरूका राजा सीहोन,
बाशानका राजा ओग,
र कनानका सबै राजाहरूलाई नष्‍ट गर्नुभयो—
12अनि तिनीहरूका भूमि पैतृक सम्पत्तिको रूपमा,
आफ्ना प्रजा इस्राएललाई उत्तराधिकारको रूपमा दिनुभयो।

13हे याहवेह, तपाईंको नाम सदासर्वदा रहिरहन्छ;
हे याहवेह, तपाईंको ख्याति पुस्तौँ-पुस्तासम्म रहिरहन्छ।
14किनकि याहवेहले आफ्ना मानिसहरूलाई निर्दोष प्रमाणित गर्नुहुनेछ,
र आफ्ना सेवकहरूमाथि करुणा देखाउनुहुनेछ।

15जाति-जातिहरूका मूर्तिहरू सुन र चाँदी हुन्,
ती सबै मानिसहरूका हस्तकला मात्र हुन्।
16तिनीहरूका मुख त छन्, तर बोल्न सक्दैनन्;
आँखा त छन्, तर देख्न सक्दैनन्।
17तिनीहरूका कान छन्, तर सुन्‍न सक्दैनन्;
न तिनीहरूको मुखमा सास नै छ।
18मूर्तिहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्तै हुनेछन्;
तिनीहरूमाथि भरोसा गर्नेहरू सबै पनि त्यस्तै हुनेछन्।

19हे सबै इस्राएलका घराना हो, याहवेहलाई प्रशंसा गर;
हे हारूनका घराना हो, याहवेहलाई प्रशंसा गर;
20हे लेवीका घराना हो, याहवेहलाई प्रशंसा गर;
हे उहाँको डर मान्‍नेहरू हो, याहवेहलाई प्रशंसा गर।
21सियोनबाट याहवेहलाई प्रशंसा होस्!
यरूशलेममा बास गर्नुहुनेको प्रशंसा होस्!

याहवेहको प्रशंसा गर!
Copyright information for NpiNCV