‏ Psalms 137

1बेबिलोनका नदीहरूको किनारमा बसेर,
हामी सियोनलाई सम्झँदै रोयौँ।
2त्यहाँका लहरे पीपलहरूमा
हामीले आफ्ना वीणाहरू झुण्ड्यायौँ,
3किनकि हामीलाई बन्दी बनाएर लानेहरूले त्यहाँ हामीलाई गीत गाउन लगाए;
हामीलाई यातना दिनेहरूले हर्षका गीतको माग गरे।
तिनीहरूले भने, “हाम्रा निम्ति सियोनका गीतहरूमध्ये एउटा गीत गाओ!”

4बिरानो देशमा हुँदा कसरी हामी
याहवेहको गीत गाउन सक्छौँ?
5हे यरूशलेम, यदि मैले तँलाई बिर्सेको भए,
मेरो दाहिने हातले आफ्नो सिप भूलोस्।
6यदि मैले तँलाई नसम्झेको भए,
यदि मैले यरूशलेमलाई
आफ्नो सर्वोच्‍च आनन्द नमानेको भए,
मेरो जिब्रो मुखको तालुमा टाँसिजाओस्!

7हे याहवेह, यरूशलेमको पतन भएको दिन,
एदोमीहरूले के गरे, सम्झनुहोस्।
तिनीहरूले चीत्कार गरे,
“त्यसलाई भत्काओ, जगदेखि नै त्यसलाई भत्काओ!”
8सर्वनाश हुन लागेकी, हे बेबिलोनकी छोरी,
तैँले हामीमाथि जे गरिस्, त्यसको लागि
तँमाथि प्रतिशोध लिने मानिस धन्य हुनेछ।
9त्यो धन्य हुनेछ, जसले तेरा स-साना बच्‍चाहरूलाई खोस्छ
र तिनीहरूलाई चट्टानमा पछार्दछ।
Copyright information for NpiNCV