‏ Psalms 14

सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।

1मूर्खले
भजनसंग्रहअनुसार नैतिकताको कमी भएको व्यक्तिलाई मूर्ख भनिन्छ।
आफ्नो मनमा भन्छ,
“परमेश्‍वर छँदैछैन।”
तिनीहरू भ्रष्‍ट छन्, तिनीहरूले नीच काम गर्दछन्;
असल काम गर्ने कोही पनि छैन।

2याहवेहले स्वर्गबाट
सबै मानिस जातिलाई हेर्नुहुन्छ,
यो जान्‍नलाई कि कोही त समझदार होला,
जसले परमेश्‍वरको खोजी गर्दछ।
3तिनीहरू सबै भड्किगएका छन्, सबै जना भ्रष्‍ट भएका छन् ;
असल गर्ने कोही छैन;
एक जना पनि छैन।

4के यी सबै दुष्‍ट काम गर्नेहरूले केही पनि जान्दैनन्?

रोटी खाएझैँ तिनीहरूले मेरा मानिसहरूलाई खान्छन्;
तिनीहरूले याहवेहलाई कहिल्यै पुकार्दैनन्।
5तर त्यहाँ तिनीहरू डरले काम्छन्;
किनकि धर्मीहरूको समूहमा परमेश्‍वर उपस्थित हुनुहुन्छ।
6तिमी दुष्‍ट काम गर्नेहरूले गरिबका योजनाहरूलाई विफल पार्छौ;
तर याहवेह नै तिनीहरूका शरणस्थान हुनुहुन्छ।

7अहो, इस्राएलको मुक्ति सियोनबाट आएको भए त कति असल हुनेथियो!
जब याहवेहले आफ्नो मानिसहरूको सुदिन फर्काइदिनुहुन्छ,
तब याकोब रमाओस्, र इस्राएल आनन्दित होस्।
Copyright information for NpiNCV