Psalms 140
दावीदको भजन।
1हे याहवेह, दुष्ट मानिसहरूदेखि मलाई छुटाउनुहोस्;हिंस्रक मानिसहरूदेखि मलाई रक्षा गरिदिनुहोस्;
2जसले आफ्ना हृदयमा दुष्ट योजना बनाउँछन्,
र दिनहुँ युद्ध मच्चाउँछन्।
3तिनीहरूले आफ्ना जिब्राहरू सर्पको जत्तिकै विषालु बनाउँछन्;
तिनीहरूका ओठमा गोमन सर्पको विष छ। सेला
4हे याहवेह, दुष्टहरूका हातबाट मलाई सुरक्षित राख्नुहोस्;
हिंस्रक मानिसबाट मलाई रक्षा गर्नुहोस्;
जसले मेरा खुट्टाहरूमा ठेस लाग्ने योजना बनाउँछन्।
5अहङ्कारी मानिसहरूले मेरो निम्ति पासो थापेका छन्;
तिनीहरूले आफ्ना जाल बिछाएका छन्;
र मेरो निम्ति बाटोमा धराप थापेका छन्। सेला
6म याहवेहलाई भन्दछु, “तपाईं मेरा परमेश्वर हुनुहुन्छ।”
हे याहवेह, मेरो दयाको पुकार सुन्नुहोस्!
7हे याहवेह प्रभु, मेरा शक्तिशाली उद्धारक,
लडाइँका दिनमा तपाईंले मेरो शिर सुरक्षित राख्नुहुन्छ।
8हे याहवेह, दुष्टहरूका इच्छा पूरा हुन नदिनुहोस्;
तिनीहरूका योजनाहरू सफल हुन नदिनुहोस्। सेला
9जसले मलाई चारैतिरबाट घमण्डले शिर उठाउँदै घेरेका छन्;
तिनीहरूका ओठको दुष्टता तिनीहरूमाथि नै आइपरोस्!
10झरझराउँदो भुङ्ग्रो तिनीहरूमाथि ओइरियोस्;
तिनीहरूलाई आगोमा नै फ्याँकियोस्;
र कहिल्यै उठ्न नसक्ने गरी हिलाम्मे खाडलमा जाकिऊन्!
11निन्दा गर्नेहरू भूमिमा स्थापित नहोऊन्,
हिंस्रक मानिसलाई विनाशले शिकार बनाओस्!
12म जान्दछु, याहवेहले सताइएहरूका पक्षमा न्याय दिनुहुन्छ;
र खाँचोमा परेकाहरूलाई न्यायको समर्थन गर्नुहुन्छ।
13निश्चय नै धर्मीहरूले तपाईंको नामको प्रशंसा गर्नेछन्;
अनि सत्यनिष्ठ मानिसहरू तपाईंको उपस्थितिमा बास गर्नेछन्।
Copyright information for
NpiNCV