Psalms 149
1याहवेहको प्रशंसा गर! aयाहवेहको निम्ति एउटा नयाँ गीत गाओ,
उहाँको प्रशंसा उहाँका विश्वासयोग्य जनहरूका सभामा छ।
2इस्राएल आफ्ना सृष्टिकर्तामा आनन्दित होओस्;
सियोनका मानिसहरू तिनीहरूका राजामा रमाऊन्!
3तिनीहरूले नाच्दै उहाँको नामको प्रशंसा गरून्;
र उहाँको निम्ति खैँजडी र वीणाको सङ्गीत बजाऊन्!
4किनकि याहवेह आफ्ना प्रजासित प्रसन्न हुनुहुन्छ;
उहाँले नम्रहरूलाई विजयको मुकुट पहिर्याइदिनुहुन्छ।
5उहाँका विश्वासयोग्य जनहरूले यस्तो सम्मानमा आनन्द मनाऊन्;
र तिनीहरूले आनन्दको निम्ति आ-आफ्ना ओछ्यानमा गाऊन्!
6परमेश्वरका प्रशंसाहरू तिनीहरूका मुखमा होऊन्,
र तिनीहरूका हातमा दुईधारे तरवार होस्,
7ताकि राष्ट्रहरूका विरुद्धमा तिनीहरूले बदला लिनका निम्ति,
र जाति-जातिहरूलाई दण्ड दिन;
8तिनीहरूका राजालाई साङ्लाहरूले,
र तिनीहरूका भारदारलाई फलामका साङ्लाहरूले बाँध्न;
9तिनीहरूका विरुद्ध लेखिएका मृत्युदण्ड दिन सकून्—
यही नै उहाँका सबै विश्वासयोग्य जनहरूको महिमा हो।
याहवेहको प्रशंसा गर!
Copyright information for
NpiNCV