Psalms 21
सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।
1हे याहवेह, तपाईंको सामर्थ्यमा राजा रमाउँछन्,तपाईंले दिनुभएको विजयमा उहाँ अति धेरै आनन्दित छन्।
2तपाईंले उनको हृदयका इच्छा पूरा गर्नुभएको छ,
र उनको ओठको बिन्ती इन्कार गर्नुभएको छैन। सेला
3तपाईंले उनलाई उत्तम आशिष् लिएर स्वागत गर्नुभयो।
तपाईंले उनको शिरमा निखुर सुनको मुकुट पहिर्याइदिनुभयो।
4उनले तपाईंबाट जीवन मागे, र तपाईंले उनलाई दिनुभयो
अर्थात्, उनलाई सदाकालको निम्ति लामो आयु दिनुभएको छ।
5तपाईंले दिनुभएका विजयहरूद्वारा उनको आदर र महिमा बढेको छ;
तपाईंले उनलाई वैभव र ऐश्वर्य प्रदान गरिदिनुभएको छ।
6निश्चय नै तपाईंले उनलाई अनन्त आशिष् प्रदान गर्नुभएको छ;
र तपाईंको उपस्थितिको आनन्दले उनलाई हर्षित तुल्याउनुभएको छ;
7किनकि राजाले याहवेहमा भरोसा राख्दछन्;
सर्वोच्च परमेश्वरको अचुक प्रेमको कारण
उनी अटल रहनेछन्।
8तपाईंका बाहुलीले आफ्ना सारा शत्रुहरूलाई हराउनुहुन्छ;
तपाईंको दाहिने बाहुलीले आफ्ना वैरीहरूलाई पक्रनुहुन्छ।
9जब तपाईं प्रकट हुनुहुनेछ,
तपाईंले शत्रुहरूलाई दन्किरहेको आगोको भट्टीमाझैँ जलाउनुहुनेछ।
याहवेहले आफ्नो क्रोधमा तिनीहरूलाई निल्नुहुनेछ,
र उहाँको आगोले तिनीहरूलाई भस्म पारिदिनेछ।
10तपाईंले तिनीहरूका सन्ततिलाई पृथ्वीबाट
र मानव-जातिको बीचबाट तिनीहरूका वंशलाई नष्ट पार्नुहुनेछ।
11तिनीहरूले तपाईंको विरुद्धमा दुष्ट युक्ति रचे,
र दुष्ट योजना तयार गरे तापनि तिनीहरू सफल हुनेछैनन्।
12किनकि जब तपाईं आफ्नो धनुषले तिनीहरूमाथि निशाना ताक्नुहुन्छ,
तपाईंले तिनीहरूलाई पिठिउँ फर्काएर भाग्न बाध्य बनाउनुहुनेछ।
13हे याहवेह, आफ्नो शक्तिमा उच्च हुनुहोस्;
हामी तपाईंको सामर्थ्यको बारेमा गाउने र प्रशंसा गर्नेछौँ।
Copyright information for
NpiNCV