‏ Psalms 3

दावीदको भजन; आफ्नो छोरा अब्शालोमदेखि भाग्दा उनले लेखेको भजन।

1हे याहवेह, मेरा विरोधीहरू कति धेरै छन्!
मेरो विरुद्धमा कति धेरै जना खडा भएका छन्!
2धेरैले मेरो विषयमा यसो भन्दैछन्,
“परमेश्‍वरले त्यसलाई सहायता गर्नहुनेछैन।” सेला
मूल भाषामा यहाँ सेला शब्दको अर्थ अनिश्‍चित छ; सम्भवतः यो शब्दले यहाँ कुनै सङ्गीत सूचकलाई जनाएको हुनुपर्दछ।

3तर हे याहवेह, तपाईं मेरो चारैतिर ढाल हुनुहुन्छ;
तपाईं मेरो गौरव र मेरो शिर उच्‍च पारिदिने हुनुहुन्छ।
मेरो शिर उच्‍च पारिदिने ले मलाई विजय दिने जनाउँछ

4म ठूलो सोरमा याहवेहलाई पुकार गर्दछु,
र उहाँले आफ्नो पवित्र पर्वतबाट मलाई जवाफ दिनुहुन्छ। सेला

5म पल्टन्छु र निदाउँछु;
म फेरि उठ्छु; किनकि याहवेहले नै मलाई सम्हाल्नुहुन्छ।
6मेरो विरुद्धमा मेरा वरिपरि घेरा हाल्ने
दसौँ हजार शत्रुहरूसँग पनि म डराउनेछैनँ।

7हे याहवेह, उठ्नुहोस्;
हे मेरा परमेश्‍वर, मलाई उद्धार गर्नुहोस्!
मेरा सबै शत्रुहरूका गालामा चड्काउनुहोस्;
दुष्‍टहरूका दाँत भाँचिदिनुहोस्।

8याहवेहबाट छुटकारा आउँछ,
तपाईंको आशिष् तपाईंका प्रजामाथि रहोस्। सेला
Copyright information for NpiNCV