Psalms 30
मन्दिर समर्पणको निम्ति गीत; दावीदको भजन।
1हे याहवेह, म तपाईंलाई उच्च पार्नेछु;किनकि तपाईंले मलाई गहिराइबाट माथि उचाल्नुभएको छ,
र मेरा शत्रुहरूलाई ममाथि विजय हुन दिनुभएको छैन।
2हे याहवेह, मेरा परमेश्वर, मैले तपाईंलाई सहायताको निम्ति पुकारेँ,
र तपाईंले मलाई निको पार्नुभयो।
3हे याहवेह, तपाईंले मलाई पातालबाट माथि निकालेर ल्याउनुभएको छ;
तपाईंले मलाई चिहानमा जानदेखि बचाउनुभएको छ।
4हे याहवेहका पवित्र जनहरू हो, उहाँको स्तुति गाओ;
उहाँको पवित्र नामको स्तुति गर।
5किनकि उहाँको क्रोध क्षणभरको निम्ति मात्र रहन्छ;
तर उहाँको कृपादृष्टि जीवनभरि नै रहन्छ;
रुवाइ रातभरि मात्र रहन्छ,
तर बिहान आनन्द आइहाल्छ।
6जब मैले आफूलाई सुरक्षित पाएँ, तब मैले भनेँ,
“म कहिल्यै ढलपल हुनेछैनँ।”
7हे याहवेह, जब तपाईंले ममाथि आफ्नो कृपादृष्टि राख्नुभयो,
तब तपाईंले मलाई पहाड ▼
▼अथवा सियोन पर्वत
समान स्थिर पार्नुभयो;तर जब तपाईंले आफ्नो मुहार लुकाउनुभयो,
म निराश भएँ।
8हे याहवेह, तपाईंलाई मैले पुकारेँ;
प्रभुलाई मैले दयाको निम्ति बिन्ती गरेँ;
9“यदि मेरो विनाश भयो भने,
यदि म चिहानमा गएँ भने के लाभ हुन्छ र?
के धुलोले तपाईंको प्रशंसा गर्छ र?
के त्यसले तपाईंको विश्वसनीयताको घोषणा गर्छ र?
10हे याहवेह, मेरो बिन्ती सुन्नुहोस् र ममाथि कृपालु हुनुहोस्;
हे याहवेह, तपाईं मेरो सहायक बन्नुहोस्।”
11तपाईंले मेरो विलापलाई उल्लासमय नाचमा परिवर्तन गर्नुभयो;
तपाईंले मेरो शरीरबाट भाङ्ग्राको वस्त्र हटाइदिनुभयो
र आनन्दको वस्त्र पहिर्याइदिनुभयो,
12ताकि मेरो हृदयले तपाईंको स्तुतिगान गरोस् र चुप नलागोस्।
हे याहवेह, मेरा परमेश्वर, म सदासर्वदा तपाईंलाई प्रशंसा चढाउनेछु।
Copyright information for
NpiNCV