‏ Psalms 39

सङ्गीत निर्देशकको निम्ति, यदूतूनको लागि, दावीदको भजन।

1मैले भनेँ, “म आफ्नो चालचलनमा होसियार रहनेछु,
र मेरो जिब्रोलाई पापबाट रोक्नेछु;
दुष्‍टहरूको उपस्थितिमा,
म आफ्नो मुखमा मोहोलो लगाएर बस्‍नेछु।”
2तर जब मैले पूर्ण मौन धारण गरेँ,
तब असल कुरा पनि बोलिनँ,
तर मेरो पीडा झन् बढेर गयो।
3मेरो हृदय मभित्र जलिरह्‍यो;
मैले मनन गर्दा, आगो दन्कियो;
तब मैले मेरो जिब्रोले बोलेँ:

4“हे याहवेह, मेरो जीवनको अन्त्य देखाउनुहोस्,
र मेरो जीवन अब कति दिन बाँकी छ;
मेरो जीवन कति क्षणभङ्गुर छ भनी मलाई जान्‍न दिनुहोस्!
5तपाईंले मेरो जीवनकाल छोटो बनाउनुभएको छ;
तपाईंको दृष्‍टिमा मेरो जीवनको आयु नगण्य छ।
हरेक मानिसको जीवन एक मुट्ठी सास मात्र हो;
तिनीहरूको पनि जसले आफूलाई सुरक्षित सम्झन्छन्। सेला

6“निश्‍चय नै हरेक मानिस एउटा छायाजस्तै हिँड्‍डुल गर्छ;
व्यर्थमा तिनीहरू धनसम्पत्ति थुपार्न हतार गर्छन्;
तर त्यो अन्त्यमा कसको हुन्छ, सो जान्दैनन्।

7“हे प्रभु, अब म के कुराको निम्ति प्रतीक्षा गरूँ?
मेरो आशा त तपाईंमा नै छ।
8मलाई मेरा सबै अपराधहरूबाट छुटाउनुहोस्;
मलाई मूर्खहरूको अपमानको पात्र नबनाउनुहोस्।
9म मौन थिएँ; मैले मेरो मुख खोलिनँ;
किनकि त्यो गर्ने तपाईं नै हुनुहुन्छ।
10तपाईंको विपत्ति मबाट हटाउनुहोस्;
तपाईंको हातको मुक्‍काबाट म पराजित भएको छु।
11जब तपाईंले मानिसहरूलाई तिनीहरूका पापको निम्ति हप्काउनुहुन्छ र ताडना दिनुहुन्छ;
तब तपाईंले तिनीहरूका धनसम्पत्ति धमिरालेझैँ नष्‍ट पार्नुहुन्छ—
साँच्‍चै, हरेक मानिस एक मुट्ठी सास मात्र हो। सेला

12“हे याहवेह, मेरो प्रार्थना सुन्‍नुहोस्,
मदतको निम्ति मैले गरेको पुकार सुनिदिनुहोस्;
मेरो आँसुलाई त्यसै नटारिदिनुहोस्;
किनकि प्रवासीझैँ म तपाईंमा आश्रित छु,
मेरा सबै पुर्खाहरूजस्ता थिए, त्यस्तै नै एक परदेशी हुँ।
13मेरो अन्त हुनुभन्दा अगि नै
मबाट क्रोधको दृष्‍टि हटाउनुहोस्, ताकि म फेरि हर्षित हुन सकूँ।”
Copyright information for NpiNCV