‏ Psalms 40

सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।

1मैले धीरजसाथ याहवेहको प्रतीक्षा गरेँ;
उहाँ मतिर फर्कनुभयो र मेरो पुकार सुन्‍नुभयो।
2उहाँले मलाई खाडलबाट,
दलदले हिलोबाट तानेर निकाल्नुभयो;
उहाँले मेरा खुट्टाहरू चट्टानमाथि बसाल्नुभयो;
र मलाई उभिन स्थिर स्थान दिनुभयो।
3उहाँले मेरो मुखमा एउटा नयाँ गीत हालिदिनुभयो;
हाम्रा परमेश्‍वरका प्रशंसाको एउटा गीत।
धेरै जनाले यो देख्नेछन्, र याहवेहको भय मान्‍नेछन्,
र उहाँमाथि भरोसा राख्नेछन्।

4धन्य हो त्यो मानिस,
जसले याहवेहमा आफ्नो भरोसा राख्दछ,
जसले घमण्डीहरूमा भरोसा राख्दैनन्,
जो झूटो देवहरूपट्टि
अथवा असत्य
लाग्दैनन्।
5हे याहवेह, मेरा परमेश्‍वर,
तपाईंले गर्नुभएका अद्‌भुत कार्यहरू धेरै छन्;
तपाईंले हाम्रो निम्ति गर्नुभएका योजनाहरू धेरै छन्।
तपाईंको तुलना कसैसँग गर्न सकिँदैन;
मैले तपाईंका कामहरूका बारेमा वर्णन गर्नुपर्‍यो भने,
ती घोषणा गर्न असंख्य हुनेछन्।

6तपाईंले बलिदान र भेटी चाहनुभएन,
तर मेरा कानहरू तपाईंले खोलिदिनुभएको छ,
तपाईंले होमबलि र पाप शुद्धीकरण बलि चाहनुभएन।
7तब मैले भनेँ, “हेर्नुहोस्, म आएको छु,
धर्मशास्त्रमा मेरो विषयमा यस्तै लेखिएको छ।
8म तपाईंको इच्छा पूरा गर्न चाहन्छु, हे मेरा परमेश्‍वर;
तपाईंको व्यवस्था मेरो हृदयभित्र छ।”

9म ठूलो महासभामा तपाईंको धार्मिकताको घोषणा गर्छु;
म मेरा ओठहरू बन्द गर्नेछैनँ;
हे याहवेह, तपाईंले यो जान्‍नुहुन्छ।
10तपाईंको धार्मिकता म मेरो हृदयमा लुकाउँदिनँ;
तपाईंको विश्‍वासयोग्यता र तपाईंको मुक्तिको विषयमा म बोल्छु।
तपाईंको अचुक प्रेम र तपाईंको सत्यता
म ठूलो महासभामा लुकाउँदिनँ।

11हे याहवेह, तपाईंको कृपा मदेखि नरोक्नुहोस्;
तपाईंको अचुक प्रेम र तपाईंको विश्‍वासयोग्यताले मलाई निरन्तर रक्षा गरून्।
12किनकि असंख्य कष्‍टहरूले मलाई चारैतिर घेरेका छन्;
मेरा अपराधहरू यतिसम्म थुप्रिएका छन्, कि म देख्न पनि सक्दिनँ।
ती मेरा शिरका केशभन्दा बढी छन्;
यसैले मेरो हृदय हताश भएको छ।
13हे याहवेह, मलाई बचाउन प्रसन्‍न हुनुहोस्;
हे याहवेह, मलाई मदत गर्न चाँडै आउनुहोस्!

14मेरो प्राण लिन खोज्नेहरू
सबै जना शर्ममा र अन्योलमा परून्;
मेरो विनाश चाहनेहरू सबै
पिठिउँ फर्काएर भागून् र अपमानित होऊन्!
15मलाई “खुच्‍चिङ! खुच्‍चिङ!” भन्‍नेहरू
सबै लाजले गर्दा व्याकुल होऊन्।
16तर तपाईंलाई खोज्नेहरू सबै,
तपाईंमा रमाऊन् र आनन्दित होऊन्;
तपाईंको मुक्तिको चाहना गर्नेहरू सबैले सधैँ यसो भनून्,
“याहवेह महान् हुनुहुन्छ!”

17तर म त गरिबी र अभावमा छु;
प्रभुले मेरो बारेमा विचार गरिदिनुहोस्।
तपाईं मेरा सहायक र मलाई छुटाउने हुनुहुन्छ;
हे मेरा परमेश्‍वर, ढिलो नगर्नुहोस्।
Copyright information for NpiNCV